menu bar

Wednesday, July 10, 2019

के शून्यताबाट कुनै वस्तुको उदय हुन सक्छ ?



शून्यताबाट कुनै कुरोको उदय हुन सक्छ भनी दाबी गर्नु भनेको जादुभन्दा पनि खराब हो । एउटा जादुगरले टोपीभित्रबाट खरायो निकाल्दा कमसे कम त्यहाँ पहिले नै जादुगर र टोपी त हुन्छन् । शून्यताबाट कहिल्यै स्वतः कुनै वस्तु अस्तित्वमा आएको हामीलाई थाहा छैन । दिन प्रतिदिनको हाम्रो अनुभवले यसलाई पुष्टि गर्दछ ।

कल्पना गर्नुहोस् कि तपाईं एउटा रित्तो कोठाभित्र प्रवेश गर्नुभएको छ । कोठा रित्तो छ भनी तपाईं सुनिश्चित हुनुहुन्छ । त्यसभित्र कोही प्रवेश गर्न नसकोस् भन्ने हेतुले तपाईंले त्यसको प्रवेशद्वारमा बलियो ताल्चा लगाइदिनुभयो । भोलीपल्ट कोठाभित्र प्रवेश गर्न लाग्नुहुँदा तपाईं के अपेक्षा गर्नुहुन्छ ? कोठाको रिक्तता । तपाईंको तार्किक क्षमताले तपाईंलाई निश्चयता दिलाएको छ कि कसैले सोफा, कम्प्युटर, दराज वा टेबुलजस्ता वस्तुहरू नल्याएसम्म ती त्यस कोठाभित्र आफै उत्पन्न हुन सक्दैनन् ।  
शून्यता भनेको के हो ? उचित तवरले बुझ्ने हो भने शून्यता भनेको रिक्त स्थान होइन । शून्यता भनेको कुनै पनि कुरोको अनुपस्थिति हो अर्थात् यो भनेको रिक्त स्थानको पनि अनुपस्थिति हो । शून्यताको आफ्नो भन्ने केही पनि हुँदैन ।

तब यो स्थापित सत्यता हो कि शून्यताबाट कुनै वस्तुको उदय हुन सक्दैन । शून्यतासग वस्तुलाई अस्तित्वमा ल्याउने शक्ति हुँदैन ।

यो विश्व अर्थात् युनिभर्स अनन्त छैन हामीलाई थाहा छ । यो सम्पूर्ण विश्व महाविस्फोटमा अस्तित्वमा आयो भनी आधुनिक वैज्ञानिक खोजहरूले देखाएका छन् । सारा विश्वको आरम्भ हुनुअगि के थियो भनी कल्पना गर्ने कोसिस गर्नुहोस् । तपाईंले पाउने जवाफ यही होः शून्यता । स्मरण रहोस्, शून्यतासँग कुनै वस्तुलाई अस्तित्वमा ल्याउने शक्ति हुँदैन । शून्यताबाट केही आउँछ भने त्यो शून्यता नै हो, कुनै वस्तु होइन । कसैले आफ्नै नियमअनुसार यो सारा विश्व अस्तित्वमा आएको हो भन्ने जिद्दी गर्छ भने उसले यो जानोस् कि विश्वको आरम्भअगि कुनै प्राकृतिक नियम थिएन । सारा प्राकृतिक नियमहरू महाविस्फोटमा अस्तित्वमा आए ।

शून्यताबाट कुनै वस्तु आफै उत्पन्न हुन सक्दैन भन्ने कथनको तात्पर्य के हो त ? यो सम्पूर्ण विश्व यहाँ छ । आधुनिक वैज्ञानिक खोजअनुसार यो विश्व अनन्त छैन, यसको सुरुआत छ । विश्वको सुरुआतअगि शून्यतासिवाय केही थिएन र त्यससित सारा विश्वलाई अस्तित्वमा ल्याउने शक्ति नभएकोले यस विश्वलाई कसैले अस्तित्वमा ल्याएको हुनुपर्छ । अस्तित्वमा ल्याउनुहुने तिनै व्यक्तित्वलाई हामी परमेश्वर भन्छौँ ।       




Leave Your Comments Here.


Tuesday, July 9, 2019

येशू "संसारको प्रायश्चित्त बन्नुभयो"— महात्मा गान्धी

वर्तमान भारतमा ख्रिस्टाब्द १८६९ मा जन्मेका महात्मा गान्धी ब्रिटिस-शासित भारतमा भारतीय स्वाधीन अभियानका प्रमुख अगुवा थिए । आफ्नो नेतृत्वमा तिनले भारतलाई ब्रिटिस साम्राज्यबाट स्वतन्त्र गराउन पहल गरेका थिए । तिनले लागु गरेको हिंसारहित आन्दोलन शक्तिशाली साबित हुन पुग्यो ।

महात्मा गान्धी प्रभु येशू ख्रीष्ट र उहाँको शिक्षा खास गरी डाँडाको उपदेश (मत्ती ५-७) बाट निकै प्रभावित थिए । गान्धीले भने, "मैले बुझेअनुसार येशूको सन्देश डाँडाको उपदेशमा समावेश छ ।" तिनको बुझाइमा येशू महान् शिक्षक हुनुहुन्थ्यो । तिनले व्यक्त गरेका छन्, “येशू पूर्णतः निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो ।”

भारतमा हुँदा अमेरिकी ईश्वरशास्त्री ई. स्टान्ली जोन्स गान्धीका घनिष्ठ मित्र बने । तिनले गान्धी र नेहरू परिवारसित धेरै समय बिताए । गान्धीको हत्यापश्चात् जोन्सले गान्धीको जीवनी लेखे । यो पुस्तकले डा. मार्टिन लुथर किङ्गलाई हिंसारहित आन्दोलनको लागि प्रेरित गरेको थियो । भनिन्छ, भारतमा साम्यवाद फैलनबाट रोक्न जोन्सले ठुलै भूमिका खेलेका थिए ।

 कुनै समय ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने गम्भीर सोच बनाएका गान्धीको लागि ख्रीष्टियानहरूको गतिविधि तगारो बनेको थियो । गान्धीले संसारलाई दिएको एउटा सन्देश थियो- अरूको लागि दुःख भोग्नुपर्छ । तिनको लागि यो सन्देशको स्रोत येशू ख्रीष्ट हुनुहुन्थ्यो । "येशू हाम्रो शान्ति हुनुहुन्छ" लिखित ख्रीष्टको श्यामश्वेत तस्बिरलाई तिनले आफ्नो सानो झुपडीमा झुन्ड्याइराख्थे । क्रुसमा टाँगिनुभएका ख्रीष्टको एउटा तस्बिर छ जसमा ख्रीष्टले कपडाको एउटा मात्र टुक्रा बेर्नुहुन्छ । भारतका गाउँहरूमा लाखौँ गरिब मानिसहरूले यस्तै कपडाको टुक्रा बेर्थे । येशूको यो तस्बिरले गान्धीको हृदयलाई औधी प्रभाव पारेको थियो ।


Leave Your Comments Here.


Thursday, January 12, 2017

मिसनरी सेवामा रेकर्ड बनाए स्कुडरको परिवारले


टेबुलमा एउटा पर्चा थियो । बिरामीलाई हेर्न गएका डाक्टरका आँखा त्यस पर्चामाथि परे । त्यसलाई टिपेर पढ्दै गर्दा परमेश्वरले तिनलाई मिसनरीको बोलावट दिनुभएको छ र बिरामीहरूको सेवाको निम्ति डाक्नुभएको छ भन्ने कुरामा तिनी निश्चिन्त भए । ती डाक्टर थिएँजोन स्कुडर ।   

अमेरिकामा जन्मेका जोन स्कुडर पेसाले डाक्टर थिए । ख्रीष्टाब्द १८१९ मा तिनी मिसनरी बनेर सिल्योन (हाल श्रीलङ्का) गए जहाँ तिनले उन्नाइस वर्ष सेवा गरे । एसियामा प्रथम पश्चिमी मेडिकल मिसन स्थापना गर्ने श्रेय तिनलाई नै जान्छ । तिनले सिल्योनमा विशाल अस्पताल खडा गर्नुका साथै केही स्थानीय स्कुल र मण्डलीहरू पनि स्थापना गरे ।  

१८३६ मा स्कुडर भारत पुगे । भारतमा आउने प्रथम मेडिकल मिसनरी पनि तिनी नै हुन् । पर्चाहरू वितरण गर्नमा तिनी निकै खट्थे । 

ती वर्षहरूमा भारत र श्रीलङ्कामा बस्दा हिन्दु धर्ममा अम्यास गरिएका अन्धविश्वास, क्रुरसाथै अमानवीय विधिहरू देखेर तिनको मन रोएको थियो । सती प्रथाजस्ता अमानवीय अन्धविश्वासहरूको निर्मूलनको लागि तिनले चेतना फैलाउने प्रयत्न गरे ।   

जोन स्कुडरको परिवारमा केही रोचक पक्षहरू पनि छन् । तिनी र तिनकी पत्नी ह्यारिटबाट जन्मेका सन्तानहरूमध्ये ६ जना जीवित छोरा र दुई छोरी सबै नै दक्षिण भारतमा मेडिकल मिसनरी बने । चौथो पुस्तासम्ममा जोन स्कुडरका परिवारमा जन्मेका बयालिस जना सदस्यले मिसनरीको काम गरे । ती सबैको सेवा अवधिलाई जोड्ने हो भने जम्माजम्मी १,१०० वर्षभन्दा बेसी हुन आउँछ । सारा इतिहासमा स्कुडरको परिवारले मिसनरी सेवामा समर्पित गरेको समय अभूतपूर्व छ । 





Leave Your Comments Here.