यदि येशू शुक्रबार क्रूसमा टाँगिनुभयो र आइतबार बौरी उठ्नुभयो भने कसरी उहाँ तिन दिन र तिन रात चिहानमा रहनुभएको हुन सक्छ त ?
Tweet
येशूको क्रूसारोहण शुक्रबार भयो भनी झन्डै विश्वव्यापी रूपमा विश्वास गरिन्छ । त्यसैले अन्य दिनमा नभई हामी शुक्रबारको दिनमा नै “गुड फ्राइडे” अर्थात् “असल शुक्रबार” मनाउँछौँ । यो परम्परागत दृष्टिकोणलाई समर्थन गर्ने थुप्रै कारणहरू छन् । क्रूसारोहणको पछिल्लो दिन शबाथ दिन थियो भनी चार ओटै सुसमाचारहरूले बताउँछन् (मत्ती २७:६२; २८:१; मर्कूस १५:४२; लूका २३:५६; यूहन्ना १९:३१) । सबै सुसमाचारहरूले बताउँछन् कि शबाथपछिको दिनमा स्त्रीहरू येशूको चिहानमा गए (मत्ती २८:१; मर्कूस १६:२; लूका २४:१; यूहन्ना २०:१) । शबाथपछिको दिन भनेको हप्ताको पहिलो दिन हो अर्थात् आइतबार । यसरी येशू शुक्रबार क्रूसमा मर्नुभयो र आइतबार बौरी उठ्नुभयो । तर मत्ती १२:४० मा अभिलिखित येशूको भनाइसित यो मेल खाएको जस्तो देखिँदैन जहाँ येशूले आफ्नै विषयमा भविष्यवाणी गर्नुभयो, “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा तीन दिन र तीन रात रहनेछ ।” येशू शुक्रबार क्रूसमा चढाइनुभयो र आइतबार बौरी उठ्नुभएको हो भने कसरी तिन दिन र तिन रात उहाँ पृथ्वीको गर्भमा रहेको हुन सक्छ त ?
मत्ती, मर्कूस, लूका र यूहन्नाका विवरणहरूले बताउँछन् कि येशू शुक्रबारको केही भाग, पुरै शनिबार र आइतबारको केही भाग मात्र चिहानमा रहनुभयो । अर्को शब्दमा भन्नुपर्दा, उहाँ पुरा दुई रात, पुरा एक दिन र दुई दिनको केही भाग मात्र चिहानमा रहनुभयो । निस्सन्देह येशूले ४० घण्टाभन्दा बढी समय चिहानमा बिताउनुभएन ।
समयलाई गणना गर्ने यहूदी विधिअनुसार वाक्यांश “तिन दिन र तिन रात” लाई सही तरिकाले जान्नु महत्त्वपूर्ण हुन्छ । कुनै दिन वा रातको भागलाई पनि पुरै दिनको रूपमा उल्लेख गर्नु यहूदीहरूको सामान्य चलन थियो (उत्पत्ति ४२:१७–१८; १ शमूएल ३०:१२–१३; १ राजा २०:२९; २ इतिहास १०:५, १२; एस्तर ४:१६; ५:१) । यहूदी टिप्पणीकारहरूअनुसार एउटा अवधिको कुनै पनि भागलाई पूर्ण अवधिको रूपमा लिइन्थ्यो । एक दिनको कुनै पनि भागलाई पुरा दिनको रूपमा गनिन्थ्यो । यहूदीहरूको महत्त्वपूर्ण ग्रन्थ बेबिलोनी ताल्मुडले बताउँछ, “एक दिनको भाग यसको पूर्णताजस्तै हो ।”
शुक्रबार दिउँसो ३ बजे येशूले आफ्नो प्राण त्याग्नुभयो । यहूदी दिन साँझ ६ बजे सुरु हुन्छ । यहूदी व्यवस्थाअनुसार शनिबार कुनै काम गर्न नमिल्ने भएकोले शुक्रबार नै उहाँलाई दफन गरिनुपथ्र्यो । उहाँको मृत्युको ३ घण्टापछि शनिबारको आरम्भ हुन्थ्यो । तसर्थ, ६ बज्नुभन्दा अगि नै उहाँलाई चिहानमा गाडिएको थियो । चिहानमा भएको येशूको अविधको सम्बन्धमा “तिन दिन र तिन रात” लाई यसरी गणना गर्न सकिन्छ: येशूलाई शुक्रबार क्रूसमा टाँगियो र त्यही दिनमा नै चिहानमा दफन गरियो । शुक्रबारको साँझ ६ बजेअगिको कुनै पनि समयलाई एक दिन र एक रातको रूपमा लिइन्थ्यो । शुक्रबार साँझ ६ बजेदेखि शनिबार साँझ ६ बजेसम्मको समयलाई एक दिन र एक रात मानिन्थ्यो । शनिबार साँझ ६ बजेदेखि आइतबार साँझ ६ बजेसम्मको कुनै पनि भागलाई एक दिन र एक रातको रूपमा गनिन्थ्यो । यसरी यहूदीहरूको दृष्टिकोणबाट शुक्रबार मध्यान्हदेखि आइतबार बिहानसम्म “तिन दिन र तिन रात” हुन्छ । तसर्थ, येशूको भविष्यवाणी सतप्रतिशत साँचो छ ।