menu bar

Thursday, March 31, 2016

कसले बनायो परमेश्वरलाई ?



यदि यो सम्पूर्ण विश्वलाई परमेश्वरले रचना गर्नुभयो भने परमेश्वरलाई चाहिँ कसले बनायो ? सुरुमा यो प्रश्न निकै आकर्षक र स्वाभाविक देखिए तापनि यस आलेखको अन्त्यतिर तपाईंले पत्ता लगाउनुहुनेछ कि यो तर्कसङ्गत छैन ।

यसरी सुरु गरौँ । यो सारा विश्व (अर्थात् युनिभर्स) कि अनन्त छ कि यसको आरम्भ भएको छ । अनन्त भन्नुको अर्थ हुन्छ कि यो विश्व सधैँभरि अस्तित्वमा रहिआएको छ र यसको सुरु पनि छैन र अन्त्य पनि छैन । लामो समयसम्म विश्व अनन्त छ भन्ने अवधारणालाई स्वीकार गरिएको भए तापनि अहिले प्राय: सबै वैज्ञानिकहरूले यस अवधारणालाई इन्कार गर्छन् । किन ? यहाँ तिन ओटा वैज्ञानिक कारणहरू पेस गरिएका छन्: (१) ख्रीष्टाब्द १९१५ मा प्रतिपादित अल्बर्ट आइन्स्टाइनको सामान्य सापेक्षवादको सिद्धान्तले भन्छ कि सम्पूर्ण समय, सम्पूर्ण अन्तरिक्ष र सम्पूर्ण पदार्थको आरम्भ छ । (ख) क्यालिफोर्नियाको पासाडेनास्थित माउन्ट विलसन वेधशालामा गएर हेर्ने हो भनी हामी देख्छौँ कि यो सारा विश्व चारैतिर भकुण्डोझैँ फैलिरहेको छ । यदि यो अहिले फैलिरहेको छ भने तर्कशास्त्र र गणितअनुसार हामी जति विगततर्फ जान्छौँ त्यति नै यसको खुम्चाइतर्फ पछाडि सर्छौं अनि यसको प्रारम्भिक चरण अर्थात् शून्यतामा पुग्छौँ । (ग) यदि महाविस्फोट घटेको थियो भने त्यसको विकिरण फेला पारिनुपर्छ भनी वैज्ञानिकहरूले अपेक्षा गरेका थिए । ख्रीष्टाब्द १९६५ मा वैज्ञानिकद्वय अर्नो पेन्जिस र रोबर्ट विलसनले उक्त विकिरणलाई अनपेक्षित रूपमा पत्ता लगाए । 

तब यी तिन ओटा वैज्ञानिक साक्षीले यो विश्व अनन्त छैन तर यसको आरम्भ भएको थियो भनी पुष्टि गर्छन् । यसलाई वैज्ञानिक भाषामा महाविस्फोट भनिन्छ ।

शून्यताबाट कुनै पनि वस्तुको स्वत: उदय हुन नसक्ने भएकोले यो विश्वको उत्पत्तिको लागि कारण हुनैपर्छ र त्यो कारण अनन्त हुनैपर्छ । उक्त कारणलाई हामी परमेश्वर भन्छौँ ।

अब प्रश्नमा जाऔँ: कसले बनायो परमेश्वरलाई ? उहाँलाई कसैले बनाएन । उहाँ असृजित हुनुहुन्छ । उहाँ सधैँभरि अस्तित्वमा हुनुहुन्छ । उहाँको कुनै आदि छैन न त अन्त्य नै । उहाँलाई बनाइनु आवश्यक छैन । उहाँ स्वअस्तित्ववान् हुनुहुन्छ ।

अनन्त अस्तित्वलाई “कसले बनायो ?” भनेर सोध्नु अर्थहीन हुन्छ । यो भनेको अविवाहित केटोको श्रीमती को हो ? वा रातो रङको स्वाद कस्तो हुन्छ ? वा कानले कहाँ हेरेको ? भनेजस्तै हो । निष्कर्षमा, यो विश्व अनन्त नभएकोले परमेश्वर अनन्त हुनुहुन्छ र अनन्त अस्तित्वलाई कसले बनायो भनेर प्रश्न गर्नु तर्कसङ्गत हुँदैन ।
 

    

Leave Your Comments Here.


Wednesday, March 30, 2016

लुइसको जीवनमा यशैया ५३ अध्याय येशूकहाँ आउने माध्यम बन्यो



तिनको नाउँ हो, लुइस लपिदेस । तिनी यहूदी थिए । तिनले येशूलाई क्रूसमा टाँगेका तस्बिरहरू देखेका थिए । तर तिनको बुझाइमा येशू अन्यजातिहरूका परमेश्वर हुनुहुन्थ्यो र यहूदी जातिसित उहाँको कुनै सम्बन्ध थिएन । तिनले पहिलो पटक नयाँ करार हात पार्दा तिनले इमान्दारीपूर्वक सोचेका थिए कि यो केवल तिनीहरूको जातिको विरुद्धमा लेखिएको निर्देशिका थियो ।

लुइसको धर्मशास्त्रको नाउँ हो, तानाक । यो ख्रीष्टियान बाइबलको पुरानो करार हो । तिनले पुरानो करारलाई दैनिक पढ्ने गर्थे । एक पटक तिनी यशैया ५३ अध्यायमा आएर रोकिए । यहाँ मसीहको तस्बिरलाई चित्रण गरिएको छ जसले इस्राएल जातिको मात्र नभएर सारा संसारको पाप उठाइ लैजानु हुनेथियो । मानवीय चोलामा येशूले यस पृथ्वीमा आफ्नो पाउ राख्नुभन्दा सात सय वर्षअगि यशैयाको पुस्तक लेखिएको थियो ।

यशैया ५३ अध्यायको वर्णन नासरतका येशूसित मेल खान्छ भनी लुइसले बुझिहाले । तिनले बाल्यकालमा देखेका तस्बिरहरूले येशूले भोग्नुभएको दु:खकष्टको चित्रण गर्थे भनी तिनले बुझे । पुरानो करारमा मसीहको बारेमा भनिएका भविष्यवाणीहरू एकपछि अर्को गर्दै नासरतका येशूको जीवनमा पुरा भएको पाए तिनले ।

लुइसले निर्णय लिनुपर्ने समय आयो । एक रात तिनी यसो भन्दै चिच्च्याए, “हे परमेश्वर, म यो सङ्घर्षको अन्त्यमा आइपुगेको छु । येशू नै मसीह हुनुहुन्छ भनी मैले निश्चित रूपमा जान्नुपर्छ । इस्राएलको परमेश्वरको रूपमा मैले यसमा विश्वास गरेको तपाईं चाहनुहुन्छ भनी मैले जान्नु आवश्यक छ ।” तिनले जे कुरोको खोजी गरिरहेका थिए परमेश्वरले त्यस विषयमा तिनलाई निश्चयता प्रदान गर्नुभयो । तिनले येशू ख्रीष्टबाट पापको क्षमा पाए र त्यस क्षणदेखि उहाँलाई पछयाउन लागे । पछि तिनले यहूदीबाट ख्रीष्टको अनुयायी बनेकी दबोरा नाउँ गरेकी स्त्रीसित बिहे गरे । परमेश्वरको राज्य बिस्तारमा दुवै जना सक्रिया रूपमा लागिरहे । लुइसले धेरै वर्षसम्म पास्टरको रूपमा सेवा पुर्‍याएका छन् ।

Leave Your Comments Here.


Tuesday, March 29, 2016

बाइबलका पात्र पौलसको नाउँ अभिलिखित शिलालेख पत्ता लाग्यो



सर्गियस पौलस साइप्रसका शासक थिए । ख्रीष्टाब्द पहिलो शताब्दीमा प्रेरित पावल आफ्ना दुई जना सहकर्मीहरू बारनाबास र यूहन्ना मर्कूससँगै पहिलो सुसमाचारीय प्रचार यात्रामा यस टापूमा आइपुग्दा तिनीहरूले यी शासकलाई भेटे । सर्गियस बुद्धिमान् मानिस थिए र तिनले पावलले प्रचार गरेको सन्देशमा रुचि राखे । तिनले पावल र बारनाबासबाट सुसमाचार सुन्नुका अतिरिक्त आश्चर्यकर्म पनि देखे । परिणाम स्वरूप तिनले प्रभु येशूमाथि विश्वास गरे, “तब प्रान्तका ती शासकले यो भएको देखेर विश्वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्क परेका थिए” (प्रेरित १३:१२) ।

ख्रीष्टाब्द १८८७ मा रोममा एउटा शिलालेख फेला पारियो जसमा ल्याटिन भाषामा सर्गियस पौलसको नाउँ कुँदिएको छ । सम्राट् क्लौडियस (शासन अवधि ख्रीष्टाब्द ४१–५४) द्वारा खडा गरिएको सिमानामा यो ढुङ्गो फेला पारिएको थियो । यसलाई अहिले टर्कीको यालभक सङ्ग्रहालयको प्राङ्गणमा राखिएको छ । 

साइप्रसमा तिन वर्षसम्म शासकको रूपमा काम गरी सर्गियस रोम फर्के जहाँ तिनलाई अर्को जिम्मेवारी दिइयो । पावलले रोमीहरूलाई लेखेको पत्रको अन्तिम अध्यायमा लेखकले धेरै मानिसहरूलाई अभिवादन गरे तापनि सर्गियस पौलसको नाउँ उल्लेख नभएकोले त्यस बेला तिनको निधन भइसकेको थियो भनी अनुमान गर्न सकिन्छ ।



Leave Your Comments Here.


Monday, March 28, 2016

चिहानले उहाँलाई रोक्न सकेन न त मृत्युले उहाँलाई जित्न सक्यो


    
अब्राहाम लिङ्कन (ख्रीष्टाब्द १८०९–१८६५) अमेरिकाका सोर्‍हौँ राष्ट्रपति थिए । तिनको हत्याको बाइस वर्षपश्चात् ख्रीष्टाब्द १८८७ मा तिनको शव राखिएको कफिन बाकस खोलेर हेरियो । किनभने तिनको मृत शरीर चिहानमा थिएन भन्ने व्यापक अफवाह फैलिएको थियो । खोलेर हेर्दा तिनको शव त्यहीँ नै भएको देखियो । तरै पनि हल्ला रोकिएन । चौध वर्षपछि पुन: तिनको चिहान खोतलेर हेरियो र यस पटक पनि तिनको मृत शरीर त्यही बाकसभित्र नै पाइयो । दुवै पटक साक्षीहरू उपस्थित थिए जसले लिङ्कनको मृत शरीर अझै पनि चिहानमा नै थियो भन्ने गवाही दिए ।

येशू ख्रीष्टको मृत्युको तिन दिनपश्चात् प्राचीन प्यालेस्टाइनमा उही किसिमको हल्ला फैलिएको थियो । तर त्यस बेला एउटा कुरो भने फरक थियो । कोही पनि मानिसले उहाँको मृत शरीरलाई चिहानमा फेला पारेन । बरु, धेरैले पुनरुत्थान हुनुभएका येशूलाई भेटी उहाँसित बातचित गरेको गवाही दिए ।

निस्सन्देह, राष्ट्रपति लिङ्कन महान् मानिसहरूको सूचीमा पर्छन् । तर आज कसैले सहायताको लागि तिनको पुकारा गर्ने हो भने हामी कुनै प्रतिक्रिया पाउँदैनौँ । आज वैज्ञानिक समुदायले आइन्स्टाइनसित गुहार मागे भने तिनीहरूले मौनतासिवाह केही पाउँदैनन् । कसैले मदतको लागि कन्फ्युसियस वा गौतम बुद्ध वा राम वा मुहम्मद वा गान्धीको पुकारा गरे भने कुनै जवाफ आउँदैन । किन ? किनकि तिनीहरूका हड्डीहरू पृथ्वीको धुलोमा मिसिएका छन् । तर तपाईंले येशू ख्रीष्टको पुकारा गर्नुभयो भने तपाईंलाई जवाफ दिन उहाँ हर समय उपस्थिति हुनुहुन्छ । उहाँले जीवन बदल्न सक्नुहुन्छ । किन ? किनकि येशू ख्रीष्ट आज पनि जीवित हुनुहुन्छ । चिहानले उहाँलाई रोक्न सकेन न त मृत्युले उहाँलाई जित्न सक्यो ।        

Leave Your Comments Here.


पोप जोनलाई ४ गोली हान्ने अकाले झ्यालखानामा नै ख्रीष्टलाई अङ्गाले



मेहमेत अलि अका हत्यारा मात्र थिएनन् तिनले चोरी गर्नुका साथै डकैती पनि गर्थे । ख्रीष्टाब्द १९७९ मा तिनले टर्कीका पत्रकार अब्दीको हत्या गरेका थिए । जन्म कैदको फैसला सुनाइएको भए तापनि तिनी ६ महिनापश्चात् जेलबाट भाग्न सफल भए ।

टर्कीको झ्यालखानाबाट भागेपछि १३ मे १९८१ मा तिनले भ्याटिकन सिटीको सन्त पिटर स्क्वाएरमा जम्मा भएका श्रोतागणलाई सम्बोधनका लागि जाँदै गरेका पोप जोन पावल द्वितीयको शरीरमाथि चार गोली बर्साएका थिए । इटाली सरकारले अकालाई जन्म कैदको फैसला सुनायो । तर आफूलाई गोली हान्ने आतङ्ककारीलाई पोप जोनले क्षमा मात्र दिएनन् तर तिनको रिहाइको पक्षमा वकालतसमेत गरे । अकाले १९ वर्ष इटालीको झ्यालखानामा बिताए । झ्यालखानामा छँदा नै तिनले प्रभु येशू ख्रीष्टको सुसमाचार सुन्ने मौका पाए जसलाई तिनले लत्याएनन् । यस्तो कुनै अधर्म छैन जसलाई परमेश्वरले क्षमा गर्न सक्नुहुन्न भन्ने सत्यता अकाको जीवनमा चरितार्थ हुन पुग्यो । ख्रीष्टाब्द २००७ मा कारागारमा नै तिनले प्रभु येशूलाई अङ्गाले र तिनी ख्रीष्टियान बने ।

ख्रीष्टाब्द १९५८ मा टर्कीमा जन्मेका यी ५८ वर्षका अका २०१० मा जेलमुक्त भए ।     

Leave Your Comments Here.