menu bar

Sunday, November 30, 2014

आफैलाई घृणा गर्ने शत्रुलाई मृत्युदण्ड हुनबाट जोगाए पास्टरले



अमेरिकी क्रान्तिकारी युद्ध (ख्रीष्टाब्द १७७५–१७८३) को समयमा पेन्सलभेनियामा पिटर मिलर नाउँ गरेका पास्टर बस्थे । तिनको समुदायमा हरेक व्यक्तिले तिनको आदर गथ्र्यो र तिनलाई माया गथ्र्यो तर तिनको मण्डली नजिकै एक जना मान्छे बस्थ्यो जसले तिनलाई घृणा गथ्र्यो । परमेश्वरका सेवकलाई उसले गर्ने दुव्र्यवहारको कारणले उसले कुख्याती कमाएको थियो । उसले मण्डलीलाई मात्र घृणा गर्दैनथ्यो तर पछि थाहा हुन आयो कि त्यो त राष्ट्रघाती पनि रहेछ । ऊ देशद्रोहमा दोषी ठहरियो अनि उसलाई मृत्युदण्ड तोकियो ।

उसको मुद्दाको बहस फिलाडेल्फियामा भएको थियो । पास्टर मिलरले यस विषयमा सुन्नेबित्तिकै तिनी सेनापति वासिङ्गटनलाई भेट्न पैदलै हिँडेर गए । पास्टरले वासिङ्गटनलाई उक्त मानिसलाई क्षमा दिइओस् भनी बिन्ती गरे । तर वासिङ्गटनले भने, “तपाईंको मित्रको निम्ति तपाईंले गर्नुभएको बिन्तीलाई म स्वीकार गर्न सक्दिनँ । मलाई माफ गर्नुस् ।”

“मित्र !” मिलर चिच्च्याए, “त्यो मान्छे त संसारभरिमा नै मेरो सबैभन्दा खराब शत्रु हो ।”

“के भन्नुभाको ?” छक्क पर्दै सेनापतिले भने, “शत्रुको जीवन बचाउनका लागि तपाईं साठी माइल हिँडेर आउनुभएको ? त्यो त निकै अनौठो कुरो हो त । तपाईंको खातिर म उसलाई क्षमा दिनेछु ।”

सेनापति वासिङ्गटनले क्षमापत्रमा हस्ताक्षर गरे । त्यही दिन दिउँसो जुन ठाउँमा अभियुक्तलाई आत्महत्या दिइने तालिका मिलाइएको थियो मिलर पैदलै १५ माइल हिँडेर त्यहाँ पुगे । अपराधीलाई मञ्चमा लगिरहँदा मिलर हस्याङफस्याङ गर्दै आएको देखेर उसले भन्यो, “त्यो बुढो पिटर मिलर हुन् । आज मलाई झुण्ड्याएको हेरेर सन्तुष्ट हुन तिनी एफ्रातादेखि हिँडेर आएका छन् ।” तर जब पास्टर मिलरले क्षमापत्र झिकेर उसलाई दियो ऊ मौन भइरह्यो ।    

Leave Your Comments Here.


Saturday, November 29, 2014

कयिनकी पत्नी को थिइन् ?



बाइबलको विवरणबाट हामी प्रस्ट हुन्छौँ कि परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कयिन र तिनका भाइ हाबिल जन्मे । कयिनले आफ्ना भाइ हाबिलको हत्या गरेपछि तिनी नोद भन्ने देशमा गए र आफ्नी पत्नीसित तिनको सहवास भयो (उत्पत्ति ४:१७) । तब स्वाभाविक प्रश्नको उदय हुन्छ— कयिनले कहाँबाट आफ्नी पत्नी पाए ? को हुन् उनी ?

कयिन र हाबिलका अतिरिक्त आदम र हव्वाबाट तेस्रो छोरो शेतसाथै अरू छोराछोरीहरू पनि जन्मेका थिए भनी उत्पत्ति ५:४ ले हामीलाई बताउँछ । निश्चय नै कयिनकी पत्नी उक्त पदमा उल्लेख भएका छोरीहरूमध्ये एक थिइन् वा कयिनका भतिजीहरूमध्ये कोही एक जना थिइन् । यस्तो वैवाहिक सम्बन्ध सुरुमा नितान्त आवश्यक थियो । मानव–जातिको यस प्रारम्भिक चरणमा त्यहाँ अर्को कुनै परिवार नभएकोले त्यस्तो वैवाहिक सम्बन्ध अनुचित थिएन न त हानिकारक नै । निश्चय नै हाडनाता पर्ने व्यक्तिहरू बिचको यौन सम्बन्ध खतरनाक हुन्छ किनकि वंशाणुमा परिवर्तन गर्ने गुणहरू आमाबाबु दुवैबाट आए भने अपाङ्ग, रोगीसाथै मन्दबुद्धिको सन्तान जन्मने सम्भावना हुन्छ । तर आदम र हव्वा दुवै नै सिधै परमेश्वरबाट सृजित थिए । तसर्थ, तिनीहरूबाट परिवर्तन गर्ने त्यस्ता खालका जिनहरू सर्न सक्ने सम्भावना थिएन । औषधि विज्ञानको दृष्टिकोणबाट पनि मानव–जातिको त्यस प्रारम्भिक चरणमा एउटै परिवारका सदस्यहरूबिचको वैवाहिक सम्बन्ध हानिकारक थिएन । यदि यो सम्बन्ध गलत वा हानिकारक हुन्थ्यो भने परमेश्वरले यसलाई अनुमति दिनुहुन्नथ्यो । सारा संसारलाई सृष्टि गर्नुहुने परमेश्वरले संसारमा मानिसहरू वृद्धि हुनको लागि यस सम्बन्धलाई अनुमति दिनुभयो । तर पछि मोशाको व्यवस्थामा परमेश्वरले बहिनी वा नजिकैको नातेदारसित विवाह गर्न निषेध गरिदिनुभयो ।

तब यो प्रस्ट छ कि मानव–जातिको फैलावटको निम्ति परमेश्वरले यस अवस्थालाई अनुमति दिनुभयो जुन बेला यसको नितान्त आवश्यक थियो र त्यस बेला यसलाई अनैतिक कार्यको रूपमा हेरिँदैनथ्यो न त यो हानिकारक नै थियो ।    

Leave Your Comments Here.


Thursday, November 27, 2014

ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुपर्ने १० ओटा कारणहरू



नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रीष्टियमत भनेर चिनिन्छ । पहिलो शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्ट व्यक्तित्व हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा स्थापित अभियानले केही शताब्दीभित्र पुरै रोमलाई ढाकिदियो र यो  आज हाम्रो भूमिसम्म फैलिएको छ । किन मानिसहरू यस विश्वासतर्फ आकर्षित भएका होलान् ? यहाँ दस ओटा कारणहरू पेस गरिएका छन् ।  

१. यसको संस्थापक येशू विश्वसनीय हुनुहुन्छ ।
येशूले मानव चोला धारण गर्नुका थुप्रै कारणहरू थिए— भविष्यवाणीहरू पुरा गर्न, हाम्रा पापको निम्ति मर्न र उहाँलाई पछ्याउनेहरूलाई पिताकहाँ लैजान । उहाँ पानीमाथि हिँड्नुभएको, उहाँले आँधीलाई शान्त पार्नुभएको, लङ्गडोलाई हिँड्न सक्षम तुल्याउनुभएको, थोरै खानाले पाँच हजारलाई खुवाउनुभएको, पापरहित जीवन जिउनुभएको, दर्दनाक मृत्यु वरण गर्नुभएको र मृत्युमाथि विजय हासिल गर्नुभएको थियो भनी पहिलो शताब्दीमा उहाँलाई पछ्याउनेहरूले हामीलाई बताएका छन् । उहाँले आफ्ना घनिष्ठ मित्रहरूलाई कतै तिनीहरूले पनि येशूलाई छाडेर जान्थे कि भनेर सोध्नुहुँदा पत्रुस नामक चेलाले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं ? तपाईंसित अनन्त जीवनका वचन छन् र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ” (यूहन्ना ६:६८–६९) । 

२. यसको धर्मशास्त्र बाइबल भरोसायोग्य छ ।
ख्रीष्टियमतको धर्मशास्त्रको नाउँ हो, बाइबल । चालिसभन्दा बेसी मानवीय लेखकहरूले १,६०० वर्ष लगाएर लेखिएको यस पुस्तकमा नै ख्रीष्टियान विश्वास निर्भर छ । यसले एउटै कथावस्तु (मानव–जातिको लागि परमेश्वरको छुटकाराको योजना) लाई व्यक्त गर्दछ जुन सृष्टिबाट आरम्भ भएर अनन्तताको प्रवेशद्वारमा गएर टुङ्गिन्छ । यसले वर्णन गरेका इतिहास, भूगोल र संस्कृतिलाई पुरातत्त्वविद्याका आधुनिक खोजहरूले पटक–पटक पुष्टि गरेका छन् । इतिहासभरि नै यसको पाण्डुलिपिलाई कैयौँ पटक प्रतिलिति गरिएको भए तापनि यसको सच्चाइ गुमेको रहेनछ भनी बिसौँ शताब्दीमा पत्ता लगाइएका मृत सागरका मुट्ठाहरूले प्रमाणित गरेका छन् ।

३. यसले जीवनलाई उचित तवरले व्याख्या गर्छ ।
सबै धर्महरूले हाम्रो अस्तित्वको अर्थ दिने कोसिस गर्दछन् । हामी कहाँबाट आयौँ, किन यहाँ छौँ र कतातिर जाँदै छौँ भन्नेजस्ता जीवनका गहनतम प्रश्नहरूको सम्बोधन गर्ने प्रयत्न गर्छन् सबै धार्मिक प्रणालीहरूले । तर यो विश्वलाई जसले सृष्टि गर्नुभयो उहाँले नै यसको वास्ता र हेरचाह गर्नुहुन्छ भनी येशूले प्रकट गर्नुभयो । हामीले जे अनुभूति गर्छौं, जुन दु:ख भोग्छौँ त्यही अनुभव गरी हाम्रो निम्ति मर्नुहुने त आखिरमा येशू नै हुनुहुन्छ । 
 
४. यो इतिहासको निरन्तरता हो ।
ख्रीष्टियमतको जरा प्राचीन संसारमा गडेको छ । जसले ख्रीष्टलाई अङ्गाल्छन् तिनीहरूले उही परमेश्वरलाई पुज्छन् जसलाई आदम, अब्राहाम, सारा, सोलोमन र दानिएलले पुजेका थिए । येशूले इतिहासलाई इन्कार गर्नुभएन । उहाँ त इतिहासको परमेश्वर हुनुहुन्थ्यो (यूहन्ना १:१–१४) । उहाँ पृथ्वीमा हुनुहुँदा त्यही मूल योजनामुताबिक कसरी जिउने भनी उहाँले हामीलाई देखाउनुभयो । उहाँ मर्नुहुँदा पुरानो करारको बलिदानसम्बन्धी प्रणालीलाई पुरा गर्नुभयो उहाँले । ख्रीष्टियान विश्वास नयाँ विश्वास होइन यो त उत्पत्तिदेखि प्रकाशसम्मको कथा हो । यो उहाँको कथा हो र हामीहरूको पनि (प्रेरित २:२२–३९; १ कोरिन्थी १५:१–८) । 

५. यसको आधारभूत दाबी ऐतिहासिक रूपमा साँचो छ ।
सुरुका ख्रीष्टियानहरू कुनै राजनीतिक वा धार्मिक मतभेदबाट अभिप्रेरित थिएनन् । तिनीहरूका प्राथमिक विषयहरू नैतिक वा सामाजिक पनि थिएनन् । तिनीहरू चिरपरिचित ईश्वरशास्त्री वा सामाजिक दार्शनिकहरू पनि थिएनन् । तिनीहरू प्रत्यक्षदर्शीहरू थिए । एउटा निर्दोष मान्छे मर्नुभएको र तिन दिनपश्चात् फेरि जीवित भई मानिसहरूका बिचमा हिँड्नुभएको ती अगिल्ला ख्रीष्टियानहरूले आफ्नै आँखाले देखेका थिए र त्यही अद्भूत खबर संसारलाई बताउन तिनीहरूले आफ्ना जीवन नै खतरामा हाले । तिनीहरूको तर्क मूर्त थियो । येशू रोमी बडाहाकिम पन्तियस पिलातसको समयमा मारिनुभयो । उहाँको मृत शरीरलाई अरू कसैको चिहानमा राखी त्यस चिहानलाई छाप लगाइयो । चिहानको सुरक्षाको निम्ति पहरेदारहरू खटाइएका थिए । तरै पनि तिन दिनपश्चात् चिहान रित्तो देखियो । उहाँलाई जीवित देख्नेहरूले आफ्नो जीवनै जोखिममा हालेर उक्त सन्देशको घोषणा गरे ।

६. यसमा जीवनलाई रूपान्तरण गर्ने शक्ति छ ।
येशूलाई गिरफ्तार गरिँदा उहाँलाई छाडेर जाने उहाँका चेलाहरू मात्र केही हप्तापश्चात् नाटकीय रूपमा परिवर्तन भएनन् तर उहाँका शत्रुहरू पनि बद्लिए । ख्रीष्टियानहरूमाथि उग्र सतावट गर्ने एक जना पावल नाउँका मानिस थिए जो पुनरुत्थान हुनुभएका येशूसँग जम्काभेट गरेपछि उहाँकै बारेमा बताउने एक प्रमुख चेला बने (गलाती १:११–२४) । येशूद्वारा ऐतिहासिक अनपढहरू मात्र रूपान्तरित भएका छैनन् तर आधुनिक विद्वान्हरू पनि ।
   
७. यसले मानवीय स्वभावलाई सही तवरले विश्लेषण गर्दछ ।
समाजको वास्तविक समस्या भनेको ह्दयको समस्या हो भनी बाइबलले बताउँछ । जानकारी र प्रविधिको यस युगमा चारित्रिक असफलताको कारणले परिवार, सरकार, सङ्घ–संस्था, धर्म, शिक्षासाथै कलाहरूमा कलङ्क लागेको छ । जातिय पूर्वाग्रह, दुव्र्यसन, दुव्र्यवहार, सम्बन्ध–विच्छेदजस्ता समस्याहरू प्राय: सुनिन्छन् । हाम्रा समस्याहरू अज्ञानता, उचित भोजन र सरकारमा छन् भनी प्राय: मानिसहरू विश्वास गर्न चाहन्छन् । तर येशूले पहिलो शताब्दीका स्रोताहरूलाई भन्नुभएको वचन आज पनि उत्तिकै सान्दर्भिक छ, “किनकि ह्दयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन, व्यभिचार, चोरी, झूटो गवाही र निन्दा बाहिर निस्कन्छन् । यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्” (मत्ती १५:१९– २०) ।

८. मानवीय प्राप्तिबारे यसको दृष्टिकोण सही छ ।
हामी यो संसारलाई उत्तम बनाउन लागिपरेका छौँ । युद्धको अन्त्यको लागि हामी युद्धमा होमियौँ । ज्ञान र हिंसामुक्त समाजको लागि हामीले विभिन्न शिक्षाहरूको उदय गरायौँ । दासत्वबाट मुक्त हुनका लागि हामीले विभिन्न प्रविधिहरूको विकास गर्‍यौँ । तरै पनि आखिरी अवस्थाको बारेमा नयाँ करारले चित्रण गरेको दृश्यको वरिपरि नै छौँ हामी— युद्ध, भूकम्प, रोग, स्नेहको कमी, आत्मिक पथभ्रष्टता (मत्ती २४:५–३१) ।

९. यसले समाजमा असाधारण प्रभाव पारेको छ ।
एक जना नासरतको सिकर्मीले संसारलाई परिवर्तन गरिदिनुभयो । पात्रो र मितिहरू उहाँको जन्मका मौन गवाहहरू हुन् । घरको छत, हार, कुण्डल, क्रूसको चिन्ह आदिजस्ता मानव निर्मित वस्तुहरू उहाँको मृत्युका दृश्यवान् साक्षीहरू हुन् । सामाजिक नीतिशास्त्र, वैज्ञानिक विधिसाथै कल कारखानासम्बन्धी नीति नियमको लागि पाश्चत्य दृष्टिकोणले जुन आधार तय गर्‍यो त्यसको जग आधारभूत ख्रीष्टियान मूल्य मान्यतामा गडेको थियो । पूर्वसाथै पश्चिममा भएका सामाजिक राहतका सङ्घ–संस्थाहरू हिन्दु धर्म, बुद्ध धर्म, नास्तिकवादसाथै सेकुलर अज्ञेयतावादमा मौलाएका होइनन् तर प्रत्यक्ष वा परोक्ष रूपमा बाइबलका मूल्य मान्यताहरूमा । समाज सुधारको निम्ति ख्रीष्टियान शिक्षाले जुन भूमिका खेलेको छ त्यो अतुलनीय छ ।
   
१०. यसमा उद्धार पाइन्छ ।  
वैकल्पिक धार्मिक दृष्टिकोणका पनि आ–आफ्नै मुक्तिदाताहरू छन् जो चिहानमा नै सीमित रहे । मृत्युमाथि विजय हासिल गर्नुहुनेमाथि भरोसा गर्नेहरूलाई अनन्त जीवन दिने प्रतिज्ञा अन्य कुनै धार्मिक प्रणालीले गर्दैन । ख्रीष्टले प्रस्ताव गर्नुभएको उद्धार हाम्रो काममा आश्रित छैन तर उहाँले हाम्रो निम्ति जे गर्नुभयो त्यसको स्वीकारमा । नैतिक वा धार्मिक प्रयासको साटो यस उद्धारको निम्ति केवल हामी पापी छौँ भन्ने स्वीकारको खाँचो छ (एफिसी २:८–१०) ।  


(नोट: http://discoveryseries.org/ten-reasons/in-the-christian-faith/ बाट अनूदितसाथै सम्पादित)

Leave Your Comments Here.