menu bar

Sunday, January 31, 2016

आफ्ना छोरा र पतिको हत्यारालाई क्षमा दिने स्त्री



दुई दर्जभन्दा बेसी पुस्तकहरूका लेखक फिलिप यान्सी विख्यात ख्रीष्टियान लेखक हुन् । तिनका झण्डै एक करोड पचास लाख किताबहरू बिक्री भइसकेका छन् । ख्रीष्टाब्द २००३ मा तिनले र्‍युमर्स अफ एनादर वल्र्ड नामक कृति प्रकाशित गरे जसमा क्षमाको बारेमा एउटा ह्दय छुने घटना अभिलिखित छ ।

भान दे ब्रुक नाउँ गरेका पुलिसले एउटा घटनाको वर्णन गरे जसमा अन्य केही कर्मचारीहरूसित मिलेर तिनले अठार वर्षको केटोलाई गोली हानी उसको शरीरलाई जलाइदिएका थिए । आठ वर्ष वर्षपश्चात् ब्रुक उही घरमा फर्के जहाँ तिनले केटोको बुबालाई पक्रे; उनलाई बाँधे; उनको शरीरमा पेट्रोल छर्के अनि आगो सल्काइदिए । पत्नी यो ह्दयविदारक दृश्य हेर्न बाध्य थिइन् ।

आफ्नो छोरो र पति गुमाउने स्त्रीलाई अदालतमा प्रतिक्रियाको मौका दिइएको थियो । “श्री भान दे ब्रुकबाट तपाईं के चाहनुहुन्छ ?,” न्यायाधीशले सोधे । ब्रुकले उनका पतिलाई जहाँ जलाएका थिए तिनी त्यहीँ गएर धुलो जम्मा गरेर ल्याएको चाहन्थिन् ती स्त्रीले ताकि उनले आफ्ना पतिको निम्ति शिष्ट दफन कार्य गर्न सकून् । शिर निहुराएर बसेका पुलिसले टाउको हल्लाउँदै सहमती जनाए ।

त्यसपछि ती स्त्रीले थप अनुरोध गरिन्, “श्री भान दे ब्रुकले मेरा सबै परिवारलाई मबाट खोसेर लगे तापनि दिनको लागि मसँग अझै धेरै प्रेम बाँकी नै छ । तिनी महिनाको दुई पटक हाम्रो झुपडीमा आऊन् र मसँगसँगै एक दिन बिताऊन् ताकि म तिनको लागि आमा बन्न सकूँ । परमेश्वरले तिनलाई क्षमा दिनुभएको छ र मैले पनि क्षमा दिएको छु भनी श्री भान दे ब्रुकले जानेको चाहन्छु म । म तिनलाई अङ्गालो हाल्न चाहन्छु ताकि मेरो क्षमा वास्तविक हो भनी तिनले जान्न सकून् ।”

त्यसपछि अदालतमा मानिसहरूले एकै सोरमा “अचम्मको अनुग्रह” भन्ने भजन गाउन थाले । 



Leave Your Comments Here.


Saturday, January 30, 2016

कसरी मानिसहरू ९०० वर्षभन्दा बढी बाँच्न सक्थे (उत्पत्ति ५) ?



उत्पत्ति ५ अध्यायमा आदमदेखि नोआसम्मको वंशावली अभिलिखित गरिएको छ जहाँ तिनीहरूको दीर्घायुको उल्लेख गरिएको छ । आदम ९३० वर्षसम्म (उत्पत्ति ५:५); तिनका छोरा शेत ९१२ वर्षसम्म (उत्पत्ति ५:८); मतूशेलह ९६९ वर्षसम्म (उत्पत्ति ५:२७) बाँचे । उत्पत्ति ५ अध्यायमा उल्लिखित वंशावलीमा मानिसहरूको सरदर आयु ९०० वर्ष देखिन्छ । कसरी मानिसहरू यति धेरै वर्षसम्म बाँच्न सक्थे ?

आदम र हव्वाको संरक्षणको लागि परमेश्वरले तिनीहरूलाई एउटा आदर्श वातावरणमा सृजनुभयो । तिनीहरूको स्वास्थ्यको लागि अदनको बगैँचा अत्यन्तै उपयुक्त स्थल थियो । तिनीहरू बगैँचाबाट निष्कासित भएपछि पनि तिनीहरूको दीर्घायुको निम्ति जलप्रलयअगिको वातावरण अत्यधिक अनुकूल थियो । त्यस बेला कुनै रोग थिएन भनी अनुमान गर्न सकिन्छ ।

तर जलप्रलयको न्यायपश्चात् वातावरणमा व्यापक परिवर्तन आयो । परिणामत: त्यसले मानिसको दीर्घायुमा प्रतिकूल असर गर्‍यो । मोशाको समय (१,४०० ख्रीष्टपूर्वतिर) सम्म आइपुग्दा मानिसको सरदर आयु ७० वर्ष कायम रहयो । पतनको असर क्रमश: देखिन थाल्यो र त्यसले मानवीय आयुमा पनि उल्लेखनीय रूपमा प्रभाव पार्‍यो । अब मानिस पहिलेजस्तै गरी धेरै वर्षसम्म बाँच्न नसक्ने भयो ।  

जीव विज्ञानअनुसार मानिस धेरै वर्षसम्म बाँच्न नसक्ने कुनै कारण छैन । वैज्ञानिकहरूलाई दीर्घायुले भन्दा मृत्युले बेसी पिरोलेको छ ।

निस्सन्देह, जलप्रलयअगिको उपयुक्त वातावरणको कारणले गर्दा नै मानिसहरू धेरै वर्षसम्म बाँच्न सकेका हुन् । जलप्रलयपश्चात् मानवीय आयुमा क्रमश: र्‍हास आयो र मोशाको समयसम्म आइपुग्दा उसको आयु ७० वर्षमा झर्‍यो (भजनसंग्रह ९०:१०) ।

Leave Your Comments Here.


Friday, January 29, 2016

समुद्री माछाको आक्रमणबाट बाँच्न सफल बेथानी परमेश्वरमा भर पर्छिन्



३१ अक्टोबर २००३ मा बेथानी हामिल्टन नाउँ गरेकी १३ वर्षकी किशोरी आफ्नी दौँतरी र तिनका नातेदारहरूसँगै समुद्री तटमा गइन् । उनी समुद्रको छालसँगै बहने खेल खेल्न गएकी थिइन् जसलाई सर्फिङ्ग भनिन्छ । बिहानको साँढे सात बजेको थियो । बेथानी आफ्नो सर्फबोर्ड (सर्फिङ्ग खेल्दा प्रयोग गरिने फलेक) माथि पल्टिरहँदा उनले आफ्नो बायाँ हात पानीमा झारेकी थिइन् । १४ फिट लामो समुद्री माछाले उनलाई आक्रमण गर्‍यो र त्यसले उनको बायाँ हातको काँधभन्दा तल बेसरी चोट पुर्‍यायो । उनी माछाको आक्रमणबाट बाँच्न सफल भए तापनि उनले आफ्नो बायाँ हात भने सदाको लागि गुमाइन् ।

आफ्नो एउटा हात गुमे तापनि परमेश्वरमाथि भरोसा राख्दै उनी अगाडि बढिरहिन् । उनले जीवन जिउने इच्छालाई त्याग गरिनन् । उनी जीवनमा केही असाधारण कुरो गरेर देखाउन चाहन्थिन् । 

हाल २५ वर्षकी यी युवती समुद्रसित खेल्ने स्त्रीको रूपमा अन्तर्राष्ट्रिय जगत्मा परिचित छिन् । उनको कथा पुस्तक र फिल्ममार्फत प्रचार–प्रसार हुँदै छ ।

बेथानीका पास्टर स्टिभ थोम्पसनले उनको बारेमा भनेका छन्, “उनी भविष्यको प्रतीक्षा गर्दै छिन् । उनले आफैलाई सोधेकी छन्, ‘मसित जीवन छ; म जीवनमा रमाउँछु र मेरो जीवन आनन्दले भरिएको छ भनेर म संसारलाई कसरी देखाउन सक्छु ?’ परमेश्वरले उनको हेरचाह गर्दै हुनुहुन्छ भन्ने कुरामा उनको प्रस्ट भरोसा छ ।”

Leave Your Comments Here.


Thursday, January 28, 2016

परिचित अमेरिकी फुटबल खेलाडी वार्नरले भने, “येशूविना म केही होइनँ”



ख्रीष्टाब्द १९७१ मा अमेरिकामा जन्मेका कुर्ट वार्नर साविक फुटबल खेलाडी, हाल फुटबल विश्लेषकसाथै मानवप्रेमी हुन् । तिनले २९ जनवारी २०१० मा फुटबल खेलबाट सन्यासको घोषणा गरेका थिए । तिनी भक्त ख्रीष्टियान हुन् । ४४ वर्षका वार्नरले यसरी गवाही दिएका छन्:

येशूलाई मेरा प्रभुको रूपमा स्वीकार गर्नुअगि मैले मेरो जीवन मेरो लागि मात्र जिउँथे । मेरो जीवनको निम्ति परमेश्वरको के चाहना थियो भनी मैले उहाँलाई कहिल्यै सोधिनँ । म मैले चाहेको कुरोको लागि मात्र जिइरहेको थिएँ । म २५ वर्षको पुगेपछि मैले महसुस गरेँ कि येशूविना म केही होइनँ र पापको कारणले गर्दा म उहाँबाट अलग भएको थिएँ । मैले येशूलाई मेरो जीवनमा निमन्त्रणा दिएँ अनि उहाँको बाटो देखाउन अनुरोध गरेँ । उहाँले स्वीकार गर्नुभयो । येशू मेरो जीवनमा प्राथमिक स्थानमा रहनुभयो अनि मेरो जीवनमा ठुलो परिवर्तन देखा परेको छ ।

Leave Your Comments Here.


Wednesday, January 27, 2016

मेनो सिमोन्स: फरक दृष्टिकोण राखेकाले जसको टाउकोको मूल्य तोकियो



मेनो सिमोन्सलाई चिन्नु खतरनाक हुन्थ्यो भने तिनीसित मित्रता गाँस्नु घातक हुन्थ्यो । मेनोलाई आश्रय दिएकाले टिजार्ड रेन्डर्सलाई दण्ड दिइएको थियो भने तिनलाई म्युज खोला पार गराएकाले एक जना माझीलाई मृत्युदण्ड दिइएको थियो । निस्सन्देह, केहीको दृष्टिमा मेनो अपराधी नै बनेका थिए । तर तिनको अपराध के थियो ? यही कि तिनले आफ्ना छिमेकीहरूले भन्दा फरक किसिमले धर्मशास्त्रको अर्थ खोले । आफ्ना गतिविधिहरूलाई बुझ्ने उमेरसम्म आइपुगेको व्यक्तिलाई मात्र बप्तिस्मा दिइनुपर्छ र कामद्वारा प्रकट नभएसम्म विश्वास व्यर्थ हुन्छ भन्ने तिनको विश्वास रहेको थियो । यी विश्वासको कारणले गर्दा तिनको टाउकोको मूल्य तोकियो । तिनले युरोपमा लुकिछीपि जीवन बिताउनुपरेको थियो ।

मेनो सिमोन्स नेदरल्यान्डका सुधारवादी थिए । तिनी अन्ना बप्तिस नामक धार्मिक समुदायका अगुवा थिए । तिनी सुधारवादीहरूका समकालिक थिए र तिनका अनुयायीहरू मेनोनाइटहरू भनेर चिनिए ।

मेनो सिमोन्सको जन्म ख्रीष्टाब्द १४९६ मा तत्कालीन पवित्र रोमी साम्रज्यको फ्रिसल्यान्ड (वर्तमान नेदरल्यान्डको उत्तर–पश्चिममा पर्ने प्रान्त) मा भएको थियो । तिनको बाल्यावस्था र परिवारबारे हामीलाई थोरै मात्र थाहा छ । तिनी गरिब कृषक वातावरणमा हुर्केका थिए । युद्धले क्षत विक्षत भएको देशमा हुर्केका थिए सिमोन्स ।

सिमोन्सले ल्याटिन र केही ग्रिक सिके र पादरी बन्ने तालिम लिँदा तिनले ल्याटिन मण्डली पिताहरूका बारेमा पढ्ने मौका पाएका थिए । तालिम लिँदा वा त्यसभन्दा पहिले तिनले कहिल्यै बाइबल पढेका थिएनन् । जीवनको पछिल्लो घडीमा तिनले आफूले तालिम लिएको समयको सम्झना गरी तिनले आफूलाई मूर्ख भनेका छन् ।

ख्रीष्टाब्द १५१५ मा तिनी रोमन क्याथोलिक पादरी बने । केही वर्ष बितेपछि रोमन क्याथोलिकहरूले अभ्यास गर्दै आएका केही अभ्यासहरूले तिनलाई बेचैन बनाए । त्यसैले तिनले गम्भीर रूपमा आफै धर्मशास्त्र अध्ययन गर्न थाले । प्रभु–भोज, शिशु बप्तिस्मासाथै मण्डलीका अन्य सिद्धान्तहरूको विषयमा क्याथोलिकहरूले दिएको शिक्षाप्रति तिनमा आशङ्का उत्पन्न भयो । परिणामत: तिनले नयाँ करार र सुधारवादी मार्टिन लुथरका रचनाहरूलाई ध्यान दिएर अध्ययन गरे । अध्ययनले तिनलाई भिन्नै निष्कर्षमा पुर्‍यायो ।

बाइबल नै ख्रीष्टियानहरूको सर्वोच्च अधिकार हुनुपर्छ भन्ने लुथरको निष्कर्षसित तिनी बिस्तारै–बिस्तारै सहमत भए र १५३६ मा सिमोन्सले क्याथोलिक मण्डली र पूजाहारीगिरीको अवधारणालाई इन्कार गरे र तिनी अन्ना बप्तिस नाम गरेको ख्रीष्टियान समुदायसित मिल्न गए । तिनी चाँडै नै प्रभावशाली व्यक्तिको रूपमा उदाए ।

सिमोन्सले हिंसाको मार्ग अपनाउने क्रान्तिकारी अन्ना बप्तिसहरूको विरोध गरे तापनि तिनले तिनीहरूलाई सहयोग गर्न खोजेकाले तिनी गिरफ्तारको खतरामा परे । त्यसैले, तिनले झण्डै एक वर्ष लुकिछीपि जीवन बिताउनुपर्‍यो । 

सिमोन्सले गेर्चुड नाम गरेकी स्त्रीसित बिहे गरे र तिनीहरूले कम्तीमा पनि तिन जना सन्तानलाई जन्म दिएका थिए: दुई छोरी र एक छोरा ।

सिमोन्सले कट्टरवादी ख्रीष्टियान विश्वासलाई अङ्गाल्थे । येशू ख्रीष्टको ईश्वरत्वमाथि तिनको विश्वास रहेको थियो । तिनले ख्रीष्टमाथि विश्वास गर्नेहरूलाई मात्रै बप्तिस्मा दिन्थे ।

३१ जनवरी १५६१ मा सिमोन्सको निधन भयो ।

Leave Your Comments Here.