menu bar

Wednesday, July 10, 2019

के शून्यताबाट कुनै वस्तुको उदय हुन सक्छ ?



शून्यताबाट कुनै कुरोको उदय हुन सक्छ भनी दाबी गर्नु भनेको जादुभन्दा पनि खराब हो । एउटा जादुगरले टोपीभित्रबाट खरायो निकाल्दा कमसे कम त्यहाँ पहिले नै जादुगर र टोपी त हुन्छन् । शून्यताबाट कहिल्यै स्वतः कुनै वस्तु अस्तित्वमा आएको हामीलाई थाहा छैन । दिन प्रतिदिनको हाम्रो अनुभवले यसलाई पुष्टि गर्दछ ।

कल्पना गर्नुहोस् कि तपाईं एउटा रित्तो कोठाभित्र प्रवेश गर्नुभएको छ । कोठा रित्तो छ भनी तपाईं सुनिश्चित हुनुहुन्छ । त्यसभित्र कोही प्रवेश गर्न नसकोस् भन्ने हेतुले तपाईंले त्यसको प्रवेशद्वारमा बलियो ताल्चा लगाइदिनुभयो । भोलीपल्ट कोठाभित्र प्रवेश गर्न लाग्नुहुँदा तपाईं के अपेक्षा गर्नुहुन्छ ? कोठाको रिक्तता । तपाईंको तार्किक क्षमताले तपाईंलाई निश्चयता दिलाएको छ कि कसैले सोफा, कम्प्युटर, दराज वा टेबुलजस्ता वस्तुहरू नल्याएसम्म ती त्यस कोठाभित्र आफै उत्पन्न हुन सक्दैनन् ।  
शून्यता भनेको के हो ? उचित तवरले बुझ्ने हो भने शून्यता भनेको रिक्त स्थान होइन । शून्यता भनेको कुनै पनि कुरोको अनुपस्थिति हो अर्थात् यो भनेको रिक्त स्थानको पनि अनुपस्थिति हो । शून्यताको आफ्नो भन्ने केही पनि हुँदैन ।

तब यो स्थापित सत्यता हो कि शून्यताबाट कुनै वस्तुको उदय हुन सक्दैन । शून्यतासँग वस्तुलाई अस्तित्वमा ल्याउने शक्ति हुँदैन ।

यो विश्व अर्थात् युनिभर्स अनन्त छैन हामीलाई थाहा छ । यो सम्पूर्ण विश्व महाविस्फोटमा अस्तित्वमा आयो भनी आधुनिक वैज्ञानिक खोजहरूले देखाएका छन् । सारा विश्वको आरम्भ हुनुअगि के थियो भनी कल्पना गर्ने कोसिस गर्नुहोस् । तपाईंले पाउने जवाफ यही होः शून्यता । स्मरण रहोस्, शून्यतासँग कुनै वस्तुलाई अस्तित्वमा ल्याउने शक्ति हुँदैन । शून्यताबाट केही आउँछ भने त्यो शून्यता नै हो, कुनै वस्तु होइन । कसैले आफ्नै नियमअनुसार यो सारा विश्व अस्तित्वमा आएको हो भन्ने जिद्दी गर्छ भने उसले यो जानोस् कि विश्वको आरम्भअगि कुनै प्राकृतिक नियम थिएन । सारा प्राकृतिक नियमहरू महाविस्फोटमा अस्तित्वमा आए ।

शून्यताबाट कुनै वस्तु आफै उत्पन्न हुन सक्दैन भन्ने कथनको तात्पर्य के हो त ? यो सम्पूर्ण विश्व यहाँ छ । आधुनिक वैज्ञानिक खोजअनुसार यो विश्व अनन्त छैन, यसको सुरुआत छ । विश्वको सुरुआतअगि शून्यतासिवाय केही थिएन र त्यससित सारा विश्वलाई अस्तित्वमा ल्याउने शक्ति नभएकोले यस विश्वलाई कसैले अस्तित्वमा ल्याएको हुनुपर्छ । अस्तित्वमा ल्याउनुहुने तिनै व्यक्तित्वलाई हामी परमेश्वर भन्छौँ ।       




Leave Your Comments Here.


Tuesday, July 9, 2019

येशू "संसारको प्रायश्चित्त बन्नुभयो"— महात्मा गान्धी

वर्तमान भारतमा ख्रिस्टाब्द १८६९ मा जन्मेका महात्मा गान्धी ब्रिटिस-शासित भारतमा भारतीय स्वाधीन अभियानका प्रमुख अगुवा थिए । आफ्नो नेतृत्वमा तिनले भारतलाई ब्रिटिस साम्राज्यबाट स्वतन्त्र गराउन पहल गरेका थिए । तिनले लागु गरेको हिंसारहित आन्दोलन शक्तिशाली साबित हुन पुग्यो ।

महात्मा गान्धी प्रभु येशू ख्रीष्ट र उहाँको शिक्षा खास गरी डाँडाको उपदेश (मत्ती ५-७) बाट निकै प्रभावित थिए । गान्धीले भने, "मैले बुझेअनुसार येशूको सन्देश डाँडाको उपदेशमा समावेश छ ।" तिनको बुझाइमा येशू महान् शिक्षक हुनुहुन्थ्यो । तिनले व्यक्त गरेका छन्, “येशू पूर्णतः निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो ।”

भारतमा हुँदा अमेरिकी ईश्वरशास्त्री ई. स्टान्ली जोन्स गान्धीका घनिष्ठ मित्र बने । तिनले गान्धी र नेहरू परिवारसित धेरै समय बिताए । गान्धीको हत्यापश्चात् जोन्सले गान्धीको जीवनी लेखे । यो पुस्तकले डा. मार्टिन लुथर किङ्गलाई हिंसारहित आन्दोलनको लागि प्रेरित गरेको थियो । भनिन्छ, भारतमा साम्यवाद फैलनबाट रोक्न जोन्सले ठुलै भूमिका खेलेका थिए ।

 कुनै समय ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने गम्भीर सोच बनाएका गान्धीको लागि ख्रीष्टियानहरूको गतिविधि तगारो बनेको थियो । गान्धीले संसारलाई दिएको एउटा सन्देश थियो- अरूको लागि दुःख भोग्नुपर्छ । तिनको लागि यो सन्देशको स्रोत येशू ख्रीष्ट हुनुहुन्थ्यो । "येशू हाम्रो शान्ति हुनुहुन्छ" लिखित ख्रीष्टको श्यामश्वेत तस्बिरलाई तिनले आफ्नो सानो झुपडीमा झुन्ड्याइराख्थे । क्रुसमा टाँगिनुभएका ख्रीष्टको एउटा तस्बिर छ जसमा ख्रीष्टले कपडाको एउटा मात्र टुक्रा बेर्नुहुन्छ । भारतका गाउँहरूमा लाखौँ गरिब मानिसहरूले यस्तै कपडाको टुक्रा बेर्थे । येशूको यो तस्बिरले गान्धीको हृदयलाई औधी प्रभाव पारेको थियो ।


Leave Your Comments Here.


Thursday, January 12, 2017

मिसनरी सेवामा रेकर्ड बनाए स्कुडरको परिवारले


टेबुलमा एउटा पर्चा थियो । बिरामीलाई हेर्न गएका डाक्टरका आँखा त्यस पर्चामाथि परे । त्यसलाई टिपेर पढ्दै गर्दा परमेश्वरले तिनलाई मिसनरीको बोलावट दिनुभएको छ र बिरामीहरूको सेवाको निम्ति डाक्नुभएको छ भन्ने कुरामा तिनी निश्चिन्त भए । ती डाक्टर थिएँ— जोन स्कुडर ।   

अमेरिकामा जन्मेका जोन स्कुडर पेसाले डाक्टर थिए । ख्रीष्टाब्द १८१९ मा तिनी मिसनरी बनेर सिल्योन (हाल श्रीलङ्का) गए जहाँ तिनले उन्नाइस वर्ष सेवा गरे । एसियामा प्रथम पश्चिमी मेडिकल मिसन स्थापना गर्ने श्रेय तिनलाई नै जान्छ । तिनले सिल्योनमा विशाल अस्पताल खडा गर्नुका साथै केही स्थानीय स्कुल र मण्डलीहरू पनि स्थापना गरे ।  

१८३६ मा स्कुडर भारत पुगे । भारतमा आउने प्रथम मेडिकल मिसनरी पनि तिनी नै हुन् । पर्चाहरू वितरण गर्नमा तिनी निकै खट्थे । 

ती वर्षहरूमा भारत र श्रीलङ्कामा बस्दा हिन्दु धर्ममा अम्यास गरिएका अन्धविश्वास, क्रुरसाथै अमानवीय विधिहरू देखेर तिनको मन रोएको थियो । सती प्रथाजस्ता अमानवीय अन्धविश्वासहरूको निर्मूलनको लागि तिनले चेतना फैलाउने प्रयत्न गरे ।   

जोन स्कुडरको परिवारमा केही रोचक पक्षहरू पनि छन् । तिनी र तिनकी पत्नी ह्यारिटबाट जन्मेका सन्तानहरूमध्ये ६ जना जीवित छोरा र दुई छोरी सबै नै दक्षिण भारतमा मेडिकल मिसनरी बने । चौथो पुस्तासम्ममा जोन स्कुडरका परिवारमा जन्मेका बयालिस जना सदस्यले मिसनरीको काम गरे । ती सबैको सेवा अवधिलाई जोड्ने हो भने जम्माजम्मी १,१०० वर्षभन्दा बेसी हुन आउँछ । सारा इतिहासमा स्कुडरको परिवारले मिसनरी सेवामा समर्पित गरेको समय अभूतपूर्व छ । 





Leave Your Comments Here.


Wednesday, January 11, 2017

दुःखको घडीमा पनि परिचित पास्टरले भने, “परमेश्वर असल परमेश्वर हुनुहुन्छ”



अन्तर्राष्ट्रिय ख्रीष्टियान जगत्‌मा परिचित नाउँ हो, रिक वारेन । पास्टरसाथै लेखक वारेनद्वारा स्थापित सेडलब्याक चर्च अमेरिकाकै आठौँ ठुलो मण्डली हो । उद्देश्य-प्रेरित जीवन नामक वारेनको कृति ३ करोडभन्दा बेसी बिक्री भइसकेको छ । वारेन दम्पत्तिले आफ्नो आयको १०% मात्र आफूसित राखी ९०% परमेश्वरको राज्य बिस्तारको लागि दिने गर्छन् । 

परमेश्वरको राज्य बिस्तारको क्रममा उहाँद्वारा अद्भूत रूपमा चलाइएका स्रष्टाहरूको जीवनमा कहिले काहीँ अकल्पनीय क्षति आइपर्छ । यस्तै भयो, वारेनको जीवनमा ६ अप्रिल २०१३ मा ।

वारेनका तिन जना सन्तानमध्ये मत्ती नाम गरेको कान्छो छोरोले आत्महत्या गरे उक्त दिनमा । मत्ती वर्षौंसम्म मानसिक रोगले ग्रस्त थिए । अवैधानिक रूपमा अनलाइनमार्फत किनिएको बन्दुकले २७ वर्षका मत्तीले आफ्नो ज्यान लिएका थिए ।

यस्तो भयावह दर्दको घडीमा पनि वारेनले परमेश्वरलाई प्रश्न गरेनन् । तिनले भने, “परमेश्वरमाथि भएको मेरो विश्वासप्रति मैले कहिल्यै प्रश्न गरेको छैनँ । मैले परमेश्वरको योजनामाथि प्रश्न तेर्साएँ । यसमा ठुलो भिन्नता छ । परमेश्वर असल परमेश्वर हुनुहुन्छ भनी म जान्दछु । ... तर संसारमा हुने हरेक कुरो परमेश्वरको इच्छा होइन । संसारमा हुने हरेक कुरोलाई उहाँले अनुमति दिनुहुन्छ; उहाँले स्वीकृति दिनुहुन्छ किनकि उहाँको अनुमतिविना यो हुनै सक्दैन । तर हामी एउटा यस्तो संसारमा बस्छौँ जहाँ स्वतन्त्र इच्छाहरू छन् । त्यसैले, मैले गलत गर्ने छनौट गरेँ भने त्यसको लागि म परमेश्वरलाई दोष्याउन सक्दिनँ । तसर्थ, मेरा छोराको मृत्युको लागि परमेश्वरलाई दोष दिन मिल्दैन । मेरा छोराले आफ्नो जीवन लिए । यो तिनको छनौट थियो ।”

आफ्ना छोरालाई गुमाएको लगभग एक वर्षपश्चात् वारेनले भने, “‘तपाईं कसरी सम्हालिनुभएको छ ? तपाईंको दर्दमा तपाईं कसरी अगाडि बढ्नुभएको छ ?’ भनी मलाई अक्सर सोधिएको छ । मैले अक्सर जवाफ दिएको छु, ‘उत्तर हो, इस्टर ।”

वारेनले जारी राखे, “तपाईं देख्नुहुन्छ कि प्रभु येशू ख्रीष्टका मृत्यु, गडाइ र पुनरुत्थान तिन दिन भित्रमा भएका घटनाहरू थिए । शुक्रबार दुःखकष्ट, दर्द र वेदनाको दिन थियो । शनिबार आशङ्का, भ्रम र दुर्दशाको दिन थियो । तर इस्टरको आइतबार आशा, आनन्द र विजयको दिन थियो । यो नै जीवनको सत्यता होः तपाईंको जीवनभरि तपाईंले बारम्बार यी दिनको सामना गर्नुहुनेछ । तपाईंले त्यसो गर्नुहुँदा मैले जस्तै तपाईंले तिनवटा आधारभूत प्रश्न सोध्नुहुनेछ । पहिलो प्रश्न हो— मेरो दर्दका दिनहरूमा मैले के गर्ने ? दोस्रो हो— आशङ्का र भ्रमका दिनहरूलाई मैले कसरी बिताउने ? तेस्रो हो— आनन्द र विजयका दिनहरूमा म कसरी पुग्ने ? उत्तर हो, इस्टर । उत्तर हो, ... इस्टर ।”

  

Leave Your Comments Here.


Saturday, December 31, 2016

टेलेमाखसको सहादतपश्चात् मान्छेले मान्छेको ज्यान लिने खेलको अन्त्य भयो

  
प्राचीन रोममा एउटा यस्तो डरलाग्दो खेल खेलिन्थ्यो जसमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो । ख्रीष्टियमतको फैलावटको तिन शताब्दीपछि पनि प्राचीन रोममा मान्छेले मान्छेलाई मारेर मनोरञ्जन लिने खेलको अन्त्य भएको थिएन । रोमी सम्राट् कन्स्टेन्टाइनले यसको निषेध गरे तापनि जनमानस यसमा लागिरहे । राज्यको विरुद्धमा विद्रोह नहोस् भन्ने हेतुले तिनीहरूको इच्छा पुरा गर्न तिनीहरूलाई अनुमति दिइयो । ख्रीष्टियान सम्राट् होनोरिअसले पुन: निषेध गर्ने प्रयास गरे तापनि त्यो विफल रह्यो । यस हिंसात्मक खेलले निरन्तरता पाइरहयो ।

आज जस्तै त्यो नयाँ वर्षको दिन थियो । कुरो १ जनवरी ख्रीष्टाब्द ४०४ को हो । मानिसहरू रङ्गशालामा सदाझैँ खेल हेर्न झुम्मिएका थिए । खेल सुरु हुनै लागेको थियो । टेलेमाखस नाम गरेका ख्रीष्टियान सन्त मैदानमा ओर्लिए र तिनले ती लडाकाहरूलाई छुट्टयाए । त्यस दृश्यलाई देखेर दर्शकगण यति क्रुद्ध भए कि रङ्गशालाका बेन्चहरू निकाली तिनीहरू तिनीमाथि आइलागे र तिनलाई एकै खेप बनाए । तिनी मारिए ।

तर तिनको सहादतमा सन्त टेलेमाखस विजयी बने । मान्छेको शरीरबाट रगतको धारो बगाउने त्यो खेल सदाको लागि बन्द हुन पुग्यो । तिनी नै रङ्गशालाको अन्तिम सहिद बने । फेरि यस हिंसात्मक खेलद्वारा अरूले आफ्नो रगत बगाएर रङ्गशालाको मैदानलाई भिजाउनु परेन । धन्य टेलेमाखस जसले आफ्नो प्राणको आहुति दिएर त्यस पशुवत् खेललाई सदाको निम्ति यस धरतीबाट बिदा गरिदिए । मानव सभ्यता निर्माणमा ख्रीष्टियानहरूले उल्लेखनीय भूमिका निभाएका छन् जसमध्ये यो एउटा ज्वलन्त उदाहरण हो ।

Leave Your Comments Here.


Thursday, December 22, 2016

हाम्रा स्वर्गीय पिताको प्रेम-पत्र


मेरा छोरा तथा छोरी,

तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सबै कुरा जान्दछु (भजनसंग्रह १३९:१) । तिमी कहिले बस्छौ र उठ्छौ भनी म जान्दछु (भजनसंग्रह १३९:२) । म तिम्रा सबै आचरणसित परिचित छु (भजनसंग्रह १३९:३) । मैले तिम्रो शिरका सबै केश पनि गनेको छु (मत्ती १०:२९-३१) । किनभने तिमी मेरै स्वरूपमा सृष्टि गरिएका थियौ (उत्पत्ति १:२७) । तिमी ममा जिउँछौ र ममा चलहल गर्छौ अनि ममा नै तिम्रो अस्तित्व छ, किनकि तिमी मेरा सन्तान हौ (प्रेरित १७:२८) । तिमी आमाको गर्भमा आउनुअगि नै म तिमीलाई चिन्थेँ र सृष्टिको योजना बनाउनुअगवै मैले तिमीलाई चुनेको थिएँ (यर्मिया १:४-५) । तिम्रो अस्तित्वमा कुनै गल्ती थिएन (एफिसी १:११-१२) । किनभने तिम्रा सबै दिन मेरो पुस्तकमा लेखिएका छन् (भजनसंग्रह १३९:१५-१६) । मैले तिम्रो बासस्थान र जन्मको समय तोकिदिएको छु (प्रेरित १७:२६) ।

तिमी भयानक र अद्भूत रीतिले बनाइएका छौ (भजनसंग्रह १३९:१४) । मैले तिमीलाई तिम्री आमाको गर्भमा रचेँ (भजनसंग्रह १३९:१३) । तिम्रो जन्म दिनमा मैले तिमीलाई संसारमा ल्याएँ (भजनसंग्रह ७१:६) । मलाई नचिन्नेहरूबाट म गलत रूपमा प्रस्तुत गरिएको छु (यूहन्ना ८:४१-४४) । तरै पनि म रिसाएको छैनँ र टाढा पनि छैनँ; म स्वयम् प्रेमको सारा स्वरूप हुँ (१ यूहन्ना ८:१६) । तिमीमा मेरो प्रेम खन्याउनु नै मेरो इच्छा हो, किनकि तिमी मेरो सन्तान हौ र म तिम्रो पिता हुँ (१ यूहन्ना ३:१) । तिम्रो शारीरिक पिताले भन्दा मैले तिमीलाई अझै धेरै कुरा दिन चाहेको छु (मत्ती ७:११) ।

म तिम्रो सिद्ध पिता हुँ (मत्ती ५:४८) । तिमीले पाउने हरेक असल वरदान मबाट आउँछ (याकूब १:१७) । म तिम्रा सबै आवश्यकता पुरा गरिदिन्छु किनकि मैले नै जुटाउने काम गर्छु (मत्ती ६:३१-३३) । मेरो योजनामुताबिक तिम्रो भविष्य सधैँ आशाले भरिएको हुन्छ (यर्मिया २९:११) । किनकि म तिमीलाई अनन्तको प्रेमले प्रेम गर्छु (यर्मिया ३१:१) । तिम्रो निम्ति मेरा विचार समुद्र किनारका बालुवाभन्दा बढी छन् (भजनसंग्रह १३९:१७-१८) । म तिम्रो बारेमा गीत गाएर आनन्द प्रकट गर्छु (सपन्याह ३:१७) । म अथक रूपमा तिम्रो भलाइ चाहन्छु (यर्मिया ३२:४०) । किनकि तिमी मेरो अति नै बहुमूल्य सम्पत्ति हौ (प्रस्थान १९:५) । मेरो सारा मन र प्राणले म तिमीलाई स्थापित गर्न चाहन्छु (यर्मिया ३२:४१) । म तिमीलाई महत्त्वपूर्ण र उदेकका कुराहरू देखाउन चाहन्छु (यर्मिया ३३:३) । तिमीले मलाई सम्पूर्ण ह्दयले खोज्यौ भने मलाई भेट्टाउनेछौ (व्यवस्था ४:२९) । ममा आनन्दित होऊ र म तिम्रो चाहना पुरा गर्नेछु (भजनसंग्रह ३७:४) । वास्तवमा, तिमीलाई ती चाहना दिने म नै हुँ (फिलिप्पी २:१३) । म तिमीले चिताएको भन्दा धेरै मात्रामा गर्न सक्छु (एफिसी ३:२०) । किनकि तिमीलाई अत्यधिक उत्साह दिने म नै हुँ (२ थेसलोनिकी २:१६-१७) । म तिम्रो सारा सङ्कष्टमा तिमीलाई सान्त्वना दिने पिता हुँ (२ कोरिन्थी १:३-४) । तिम्रो ह्दय टुटेको अवस्थामा म तिम्रो नजिकै हुन्छु (भजनसंग्रह ३४:१८) । गोठालोले थुमालाईझैँ म तिमीलाई मेरो ह्दयभित्र बोक्छु (यशैया ४०:११) । एक दिन म तिम्रा सबै आँसु पुछिदिनेछु र तिमीले यस पृथ्वीमा भोग्नुपरेका सबै कष्ट हरण गरिदिनेछु (प्रकाश २१:३-४) । म तिम्रा पिता हुँ र आफ्ना पुत्र येशूलाईझैँ म तिमीलाई प्रेम गर्छु (यूहन्ना १७:२३) । किनकि येशूमा तिम्रो निम्ति मेरो प्रेम प्रकट भएको छ (यूहन्ना १७:२६) । उहाँ मेरा हुबहु प्रतिरूप हुनुहुन्छ (हिब्रू १:३) । म तिम्रो पक्षमा छु, विरुद्धमा होइन भनी देखाउनलाई येशू यस संसारमा आउनुभयो (रोमी ८:३१) । तिम्रो र मेरो बिचमा मिलाप ल्याउन येशू मर्नुभएको थियो (२ कोरिन्थी ५:१८-१९) । उहाँको मृत्यु तिमीप्रति मेरो प्रेमको आखिरी अभिव्यक्ति हो (१ यूहन्ना ४:१०) । तिम्रो प्रेम पाउनलाई मैले प्रेम गरेको हरेक कुरोलाई त्यागेँ (रोमी ८:३१-३२) । तिमीले मेरा पुत्र येशूलाई ग्रहण गर्‍यौ भने तिमीले मलाई ग्रहण गर्नेछौ (१ यूहन्ना २:२३) । तिमीलाई मेरो प्रेमले कहिल्यै कुनै पनि कुरोले अलग गराउनेछैन (रोमी ८:३८-३९) । म सधैँ पिता थिएँ र सधैँ पिता नै रहनेछु (एफिसी ३:१४-१५) । मेरो प्रश्न यही हो कि के तिमी मेरा छोरा वा छोरी बन्न चाहन्छौ (यूहन्ना १:१२-१३) ? म धैर्यपूर्वक तिम्रो प्रतीक्षामा छु (लूका १५:११-३२) ।

तिम्रा प्रेमी पिता
सर्वशक्तिमान् परमेश्वर      

-gf]6M Father's Love Letter used by permission Father Heart Communications ©1999 FathersLoveLetter.com)



Leave Your Comments Here.


Tuesday, December 20, 2016

उहाँको पापहीनतामा येशू अद्वितीय हुनुहुन्छ (भाग १०)



येशू अद्वितीय हुनुहुन्छ ।

दस दिने यात्राको आज हामी अन्तिम दिनमा आइपुगेका छौँ । येशूको जीवनका विभिन्न पक्षहरूलाई हामीले केलायौँ र हामी यही निष्कर्षमा आइपुगेका छौँ कि उहाँको जीवनका विभिन्न पक्षहरूमा येशू अरू सबै मानिसभन्दा अतुलनीय हुनुहुन्छ । हामीले त्यस्ता नौवटा पक्षलाई हेरिसक्यौँ:
(१)    पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ 
(२)    गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ
(३)    उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ
(४)    उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ
(५)    उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ
(६)    उहाँको स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ
(७)    उहाँको शिक्षामा येशू अद्वितीय हुनुहुन्छ
(८)    उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ
(९)    उहाँको प्रभावमा येशू अद्वितीय हुनुहुन्छ

आज हामी दसौँ पक्षलाई ध्यान गइरहेका छौँ: उहाँको पापहीनतामा येशू अद्वितीय हुनुहुन्छ ।

१०. उहाँको पापहीनतामा येशू अद्वितीय हुनुहुन्छ 
येशूले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तथापि मानव चोलामा उहाँले जुन अनुकरणीय जीवन जिउनुभयो त्यो उच्चतम प्रशंसाको लायक छ । उहाँले कसैलाई चोट पुर्‍याउनुभएन; उहाँले कसैबाट कुनै फाइदा लिनुभएन; उहाँले कहिल्यै अनुचित वचन बोल्नुभएन; उहाँले कहिल्यै गलत काम गर्नुभएन । यस मानव धरतीमा येशू मात्रै एक यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ जसले पापरहित जीवन जिउनुभयो । यो कुनै कथन मात्रै होइन तर गवाहीहरूमा आधारित उचित निष्कर्ष हो । उहाँका मित्रहरूले मात्र उहाँले सिद्ध जीवन जिउनुभयो भनेर गवाही दिएका छैनन्, तर उहाँका शत्रुहरूले पनि उहाँमा कुनै खोट देखाउन सकेनन् । उहाँले मात्र यसको दाबी गर्नुभएन, तर उहाँको जाँच पडताल गर्ने अधिकारीहरू पनि उही निचोडमा पुगे ।

येशूका केही शत्रुहरूले उहाँको विरुद्धमा झुटा दोषहरू अगाडि ल्याए । तर उहाँको जाँचको समयमा पिलातसले दिएको निर्णय इतिहासकै निर्णय भएको छ, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ” (लूका २३:४) । क्रुस नजिक भएका कप्तानले यसो भन्दै सहमति जनाए, “निश्चय नै यिनी धार्मिक मानिस थिए” (लूका २३:४७) । येशूसँग क्रुसमा टाँगिएको एक अपराधीले भन्यो, “यी मानिसले त केही अनुचित काम गरेका छैनन्” (लूका २३:४१) । येशू सबै कुरामा परीक्षित हुनु भए तापनि “पापरहित हुनुहुन्थ्यो” भनी हिब्रूका लेखकले गवाही दिए (४:१५) । आफूलाई दोष लागउनेहरूलाई येशू आफैले एक पटक चुनौती दिनुभयो, “तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ ?” (यूहन्ना ८:४६), कसैले उहाँमा कुनै दोष भेट्टाएन । यथार्थत: येशू पापरिहत हुनुहुन्छ र कुनै मानिस पापरहित नभएकोले यस क्षेत्रमा उहाँ अद्वितीय हुनुहुन्छ ।

निष्कर्षमा, येशू संसारको निम्ति परमेश्वरको अवर्णनीय र अथाह उपहार हुनुहुन्छ । उहाँको आश्चर्यमय गर्भधारणदेखि उहाँको अलौकिक स्वर्गारोहणसम्म; उहाँको निष्पाप चरित्रदेखि उहाँको अतुलनीय शिक्षासम्म येशू अन्य सबै धार्मिकसाथै नैतिक अगुवाहरूभन्दा माथि हुनुहुन्छ । उहाँको जन्मदेखि मृत्युसम्मको पाटो-पाटोमा उहाँ अद्वितीय हुनुहुन्छ ।




Leave Your Comments Here.


Monday, December 19, 2016

उहाँको प्रभावमा येशू अद्वितीय हुनुहुन्छ (भाग ९)



येशू अद्वितीय हुनुहुन्छ ।

यो शृङ्खलाको आज हामी नवौँ दिनमा छौँ । आज हामी उहाँको प्रभावको विषयमा हेर्न गइरहेका छौँ । उहाँको प्रभाव विश्वव्यापी छ । हालसम्म हामीले उहाँको जीवनका ८ ओटा अद्वितीय पक्षबारे चर्चा गरिसकेका छौँ:

(१)    पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ 
(२)    गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ
(३)    उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ
(४)    उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ
(५)    उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ
(६)    उहाँको स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ
(७)    उहाँको शिक्षामा येशू अद्वितीय हुनुहुन्छ
(८)    उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ 

येशूको प्रभावमा परी जीवन परिवर्तन भएका एक जना व्यक्तिको बारेमा हेरी हामी अगाडि बढ्छौँ ।

तिनको नाउँ हो, कोडी हफ । १२ वर्षको उमेरदेखि तिनले गाँजा तान्न थाले । १३ वर्षमा तिनले सडकमा पत्रिका बेच्न थाले, खाना र ड्रग्सको लागि पैसा जुटाउन । तिनी विनाशको मार्गतर्फ लम्कँदै थिए । तिनी चोर थिए । तिनले ड्रग्सको कारोबार गर्थे । तिनी बारम्बार जेलमा पनि परेका थिए ।

हफसित पैसा थिएन; तिनको जाने ठाउँ थिएन; तिनलाई ड्रग्सको लत लागेको थियो; के गर्ने तिनलाई थाहा थिएन । यस्तो बेवारिसे जिन्दगी बिताइरहेको बेलामा कसैले तिनलाई चर्चको बारेमा बतायो ।

हफ उक्त मण्डलीमा गए र त्यहाँ कुनै एक जना स्त्रीले तिनलाई भनिन्, “सर, तपाईंलाई मायाको खाँचो छ ।” हफले आफैलाई प्रेम गर्न छाडिसकेका थिए । त्यसैले, तिनले लापार्वाही जीवन बिताउँदै आएका थिए । तिन महिनासम्म तिनी नुहाएका थिएनन् । तिनको शरीरबाट दुर्गन्ध आइरहेको थियो । मायाको कुरो सुन्दा हफ छक्क पर्नु अस्वाभाविक थिएन । तिनले त्यहाँ मानिसको प्रेमको अनुभूति मात्र गरेनन्, तर ईश्वरीय प्रेमको बारेमा पनि सुन्ने मौका पाए । तिनले येशूको प्रेमको बारेमा सुने ।

बिस्तारै-बिस्तारै येशूप्रति हफको मोह बढ्दै गयो । तिनलाई धेरै कुरा त थाहा थिएन । तरै पनि तिनी जान्दथे कि येशू तिनको निम्ति मर्नुभएको थियो; तिनी पापी थिए र क्षमा उपलब्ध छ । परमेश्वरको सन्तान बन्नको लागि यति ज्ञान अपर्याप्त थिएन । तिनले दस वा पन्ध्र मिनेट प्रार्थनामा बिताएपछि “आमेन” भने । जीवनमा तिनले कहिल्यै अनुभूति नगरेको शान्तिको महसुस गरे । तिनी तत्काल नयाँ मान्छे बने । तिन हप्तापश्चात् तिनले बप्तिस्मा लिए । हाल तिनी लस भेगासस्थित होप चर्चमा अभिषिक्त पास्टरको रूपमा सेवा गर्दै छन् ।

येशूले मानिसहरूको जीवन परिवर्तन गर्नुहुन्छ भन्ने ज्वलन्त उदाहरण हो, कोडी हफ । तिनीजस्ता लाखौँ मानिस येशूको चरणमा आएपछि बद्लेका छन् । येशूले आफ्नो भौतिक उपस्थितिमा मात्र प्रभाव पार्नुभएन, तर उहाँको भौतिक अनुपस्थितिमा पनि उहाँ प्रभावशाली हुनुहुन्छ । आज हामीले हेर्ने नवौँ पक्ष होः उहाँको प्रभावमा येशू अद्वितीय हुनुहुन्छ ।   

९. उहाँको प्रभावमा येशू अद्वितीय हुनुहुन्छ
उहाँको आगमनबाट आज दुई हजार वर्ष बितिसकेको भए तापनि पुनरुत्थान हुनुभएका प्रभु येशू ख्रीष्ट मानव-जातिको मुख्य व्यक्तित्व हुनुहुन्छ । उहाँको जन्मले अङ्ग्रेजी पात्रोलाई इतिहासको दुई भागमा विभाजन मात्र गरेको छैन, तर विश्वका विकसित, अविकसित, विकासोन्मुख देशहरू जहाँ-जहाँ ख्रीष्टियान समुदाय छन्, त्यहाँ-त्यहाँ प्रत्येक हप्ताको एक दिन उहाँको सम्झनाको निम्ति पनि छुट्‌ट्याइन्छ ।  संसारभरि नै प्रत्येक वर्ष उहाँको जन्म र पुनरुत्थानको उत्सव मनाइन्छ । उहाँको मृत्युको सम्झनामा विश्वव्यापी रूपमा गुड फ्राइडे मनाइन्छ । इतिहासमा अन्य कुनै व्यक्तिको जीवनी वा घटनाले भन्दा उहाँको जीवनीले गीत, पुस्तक, कविता र चित्रहरूको विषयवस्तुको लागि बढी सामाग्रीहरू उपलब्ध गराएको छ । हाम्रो लागि जीवन अर्पण गर्नुहुने येशूको सम्झनामा हजारौँ क्याम्पस, अस्पताल, अनाथालयसाथै अन्य संघ-संस्थाहरू स्थापित गरिएका छन् । यो प्रस्ट छ कि येशू ख्रीष्टको व्यक्तित्वले मानव-जातिमाथि यस्तो अद्भूत प्रभाव पारेको छ कि दुई हजार वर्षपछि पनि त्यो प्रभावमा कमी आएको छैन । हरेक दिन कैयौँ मानिसहरूले ख्रीष्टमा आमूल परिवर्तनको अनुभव गर्छन् । पैसा र हातहतियारबिना नै येशूले करोडौँ मानिसलाई जित्नुभयो । विज्ञान र विद्याबिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्रीहरू र विद्वान्हरूभन्दा बढी उज्यालो छर्नुभयो । स्कुलको वाकपटुताबिना नै उहाँले जीवनबारे यस्ता वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए, न त पछि । यति मात्र होइन कि अनगिन्ती आत्माको उद्धार एउटै व्यक्ति ख्रीष्टद्वारा नै गरिएको छ । मोशा, बुद्ध, कन्फ्युसियस, लाओत्सु, सुकरात, अलेक्ज्यान्डर, सिसेरो, जुलियस कैसर, मुहम्मद, नेपोलियन बोनापार्ट, कार्ल माक्ससाथै हिन्दू धर्मका गुरुहरू अनि अन्य सबै चर्चित अगुवाहरूभन्दा येशू प्रभावमा महानतर हुनुहुन्छ ।




Leave Your Comments Here.


Sunday, December 18, 2016

उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ (भाग ८)



येशू अद्वितीय हुनुहुन्छ ।

आज हामी यस विषयको आठौँ दिनमा प्रवेश गर्दै छौँ । आज हामी उहाँको व्यक्तित्वबारे हेर्न गइरहेका छौँ अर्थात् उहाँमा ईश्वरीय र मानवीय दुईवटा स्वभाव थिए भन्ने विषयमा अध्ययन गर्दै छौँ । यो कुनै नयाँ विषय भने पक्कै होइन । मलाई लाग्छ, हामीले यसबारे धेरै पटक सुनिसकेका छौँ र हामी यो विषयबारे परिचित छौँ । हालसम्म हामीले हेरिसक्यौँः

(१)    पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ 
(२)    गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ
(३)    उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ
(४)    उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ
(५)    उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ
(६)    उहाँको स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ
(७)    उहाँको शिक्षामा येशू अद्वितीय हुनुहुन्छ

आज हामी हेर्दै छौँः उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ ।      

८. उहाँको व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ 
येशू मात्र एक यस्तो व्यक्तित्व हुनुहुन्छ जसमा मानवीय र ईश्वरीय दुवै स्वभाव थिए । उहाँ परमेश्वर-मानिस हुनुहुन्थ्यो । पवित्रशास्त्र बाइबलको साक्षीअनुसार उहाँ आधा मानिस र आधा परमेश्वर हुनुहुन्न, तर पूर्ण मानिस र पूर्ण परमेश्वर हुनुहुन्छ ।

उहाँले मानव-जातिको प्रतिनिधित्व गर्नुपर्ने भएकोले उहाँ मानिस भएर जन्मनुपथ्र्यो । उहाँ मानिस पनि हुनुहुन्थ्यो भन्ने साक्षी बाइबल धर्मशास्त्रबाट प्रस्ट छः

(१) उहाँ कन्याबाट जन्मनुभयो ।
“हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ” (मत्ती १:२३) । इम्मानुएल येशू हुनुहुन्थ्यो ।

(२) उहाँ सामान्य रूपमा हुर्कनुभयो ।
अरू मानिसहरूजस्तै उहाँ मानसिक, शारीरिक, आत्मिक र सामाजिक रूपमा हुर्कनुभयो, “अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२) । 

(३) उहाँले मानवीय गुणहरूलाई प्रदर्शित गर्नुभयो ।
  • उहाँ भोकाउनुभयो (मत्ती ४:२) ।
  • उहाँ थाक्नुभयो (यूहन्ना ४:६) ।
  • उहाँ तिर्खाउनुभयो (यूहन्ना ४:७) ।
  • उहाँ रुनुभयो (यूहन्ना ११:३५) ।

(४) उहाँसित मानवीय नाउँहरू थिए ।
उहाँलाई “दाऊदका पुत्र” भनिएको छ जसले उहाँ राजा दाऊदको वंशबाट आउनुभएको थियो भनी अङ्कित गर्छ । उहाँलाई “येशू” (मत्ती १:२१), “मानिस” (१ तिमोथी २:५) भनिएको छ ।
 
एकातिर येशू पूर्ण मानिस हुनुहुन्थ्यो भने अर्कोतिर उहाँ पूर्ण परमेश्वर हुनुहुन्थ्यो ।

(१) उहाँमा परमेश्वरमा मात्र हुने गुणहरू थिए ।
उहाँ अनन्त (यूहन्ना ८:५९), सर्वव्यापी (मत्ती २८:२०), सर्वज्ञानी (यूहन्ना ४:२९), सर्वशक्तिमान् (यूहन्ना ११:३८-४४) हुनुहुन्थ्यो ।

(२) उहाँले केवल परमेश्वरले गर्न सक्नुहुने कामहरू गर्नुभयो ।
  • उहाँले पापको क्षमा दिनुभयो (मर्कूस २:१-१२) ।
  • उहाँले आराधनाको स्वीकार गर्नुभयो (यूहन्ना ९:३८) ।
  • उहाँले आश्चर्यकर्महरू गर्नुभयो (मत्ती ८:२७) ।
  • उहाँले अनन्त जीवन दिन सक्नुहुन्छ (यूहन्ना ५:२१) ।

(३) उहाँलाई परमेश्वरका नाउँहरू दिइएका छन् ।
  • उहाँलाई परमेश्वरका पुत्र भनिएको छ (यूहन्ना १०:३६) ।
  • उहाँलाई प्रभु/परमप्रभु भनिएको छ (मत्ती ७:२१) ।
  • उहाँलाई परमेश्वर भनिएको छ (यूहन्ना १:१)

यसरी, येशू ख्रीष्ट परमेश्वर र मानिस दुवै हुनुहुन्थ्यो भन्ने तथ्य बाइबलबाट काँचझैँ छर्लङ्ग छ । हामी मानव-जातिसित एउट मात्र स्वभाव (मानवीय) हुन्छ, तर उहाँमा मानवीय र ईश्वरीय दुवै स्वभाव थिए ।    




Leave Your Comments Here.