menu bar

Tuesday, March 31, 2015

पहिलो गुड फ्राइडेमा येशूले सामना गर्नुभएका ६ ओटा न्यायिक जाँच



येशू गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभएपछि शुक्रबार बिहान ९ बजे उहाँलाई क्रूसमा चढाइनुअगि उहाँले ६ ओटा न्यायिक जाँचको सामना गर्नुभयो । अगिल्ला तिन ओटा जाँच धार्मिक थिए भने पछिल्ला तिन ओटा जाँच कानुनी थिए ।

१. पहिलो जाँच— हन्नासको सामु (यूहन्ना १८:१२–१४, १९–२३)
येशूलाई पक्रेपछि “पहिले तिनीहरूले उहाँलाई हन्नासकहाँ लगे, जो त्यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए” (यूहन्ना १८:१३) ।

सिरियाका हाकिम कुरेनियसले ख्रीष्टाब्द ६ मा हन्नासलाई प्रधान पूजाहारीको रूपमा नियुक्त गरेका थिए र तिनी उक्त पदमा ख्रीष्टाब्द १५ सम्म रहे । यहूदी व्यवस्थाअनुसार प्रधान पूजाहारीको पद जीवनभरको लागि भए तापनि शक्ति एउटै व्यक्तिमा सिञ्चित हुने भएकोले रोमीहरूले बारम्बार प्रधान पूजाहारी परिवर्तन गर्थे । हन्नासपश्चात् तिनका पाँचै जना छोरा र तिनका ज्वाइँ कैयाफा प्रधान पूजाहारी बने । निश्चय नै शक्ति हन्नासकै हातमा थियो । त्यसैले त्यसबेला कैयाफा प्रधान पूजाहारी भए तापनि येशूलाई पहिले हन्नासकहाँ नै लगियो ।

तिनले येशूको प्रारम्भिक जाँच पडताल गरे ।

२. दोस्रो जाँच— कैयाफाको सामु (मत्ती २६:५७–६८)
हन्नासले येशूलाई प्रारम्भिक केरकार गरेपछि उहाँलाई कैयाफाकहाँ पठाइयो, “येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे । त्यहाँ शास्त्रीहरू र धर्म–गुरुहरू भेला भएका थिए” (मत्ती २६:५७) ।

कैयाफा ख्रीष्टाब्द १८–३६ सम्म यहूदी प्रधान पूजाहारी थिए । येशूको मृत्यु हुँदा तिनी नै प्रधान पूजाहारी थिए ।

येशूलाई औपचारिक रूपमा महासभाको सामु उभ्याउनुअगि कैयाफाले सामान्य सोधपुछ मात्र गरे ।

३. तेस्रो जाँच— महासभाको सामु (लूका २२:६६–७१) 
येशूका अगिल्ला दुई ओटै जाँच पडताल रातमा भएको थियो जुन अवैधानिक थिए । कुनै औपचारिक निर्णय सुनाइएको थिएन । त्यसैले, बिहान उहाँलाई महासभाको सामुन्ने उभ्याइयो, “उज्यालो हुनेबित्तिकै भेला भएका जनताका धर्म–गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरू दुवैले उहाँलाई आफ्नो महासभामा लगे” (लूका २२:६६) ।

महासभा सर्वोच्च अदालत थियो । महासभाले पारित गरेको निर्णय व्यवस्था बन्थ्यो । अन्तिम निर्णय गर्ने हक महासभालाई नै थियो । महासभामा सत्तरी जना सदस्य हुन्थे र प्रधान पूजाहारी नै यसको कार्यकारी अध्यक्ष हुन्थ्यो ।

महासभा बिहान बस्न सक्दैनथ्यो । तर तिनीहरूले आफ्नै नियम उल्लङ्घन गरी तिनीहरू बिहानै जम्मा भए । तिनीहरूले येशूलाई ईश्वर–निन्दाको दोष लगाए । तर रोमी हाकिमको सहमतिविना तिनीहरूलाई कसैलाई मृत्युदण्ड दिने अधिकार थिएन । तसर्थ, येशू तत्कालीन रोमी हाकिम पिलातसकहाँ लगिनुभयो ।

४. चौथो जाँच— पिलातसको सामु (यूहन्ना १८:२८–३८) 
यहूदीहरूको धार्मिक अदालतमा येशूलाई केरकार गरेपछि तिनीहरूले उहाँलाई रोमीहरूको कानुनी अदालतमा लगे, “अनि तिनीहरूले उहाँलाई बाँधेर लगे, र हाकिम पिलातसकहाँ सुम्पिदिए” (मत्ती २७:२) ।

पन्तियस पिलातस यहूदियाका पाँचौँ हाकिम थिए । सम्राट् तिबेरिअसले तिनलाई ख्रीष्टाब्द २६ मा हाकिम नियुक्त गरेका थिए जुन पदमा तिनी ख्रीष्टाब्द ३६ सम्म रहे ।

यहूदीहरूले येशूलाई जुन–जुन अभियोग लगाएका थिए पिलातसको बुझाइमा उहाँ तिनमा दोषी हुनुहुन्थेन । त्यसैले, तिनले यहूदी अगुवाहरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ” (लूका २३:४) । अन्तमा येशू गालीलको हुनुहुँदोरहेछ भन्ने बुझेर तिनले उहाँलाई हेरोदकहाँ पठाइदिए ।  

५. पाँचौँ जाँच— हेरोदको सामु (लूका २३:६–१२)
“अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए । ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए” (लूका २३:७) ।

यहाँ उल्लिखित हेरोद हेराद महान्का छोरा हेरोद एन्तिपास हुन् । तिनले नै बप्तिस्मा दिने यूहन्नाको शिर कटाउन लगाएका थिए । तिनले ख्रीष्टाब्द ६–३९ सम्म गालील र पेरियामा शासन गरेका थिए ।

हेरोदले येशूलाई जादुगरको रूपमा हेरेका थिए । त्यसैले तिनले येशूबाट केही चमत्कार गरेको हेर्न चाहन्थे । तिनले येशूलाई धेरै प्रश्नहरू सोधे तर उहाँले केही जवाफ दिनुभएन । अन्तत: तिनले येशूलाई पिलातसकहाँ नै पठाइदिए ।  

६. छैटौँ जाँच— पिलातसको सामु (यूहन्ना १८:३९–१९:६)
“हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, र उहाँको गिल्ला गरे । त्यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए” (लूका २३:११) ।

जाँच पडतालको लागि येशू दोस्रो पटक पिलातसकहाँ ल्याइनुभयो । पिलातसको दृष्टिकोणमा येशू निर्दोष हुनुभए तापनि भिडले उहाँ क्रूसमा टाँगिनैपर्छ भनी जिद्दी गरेकोले तिनले उहाँलाई तिनीहरूको हातमा सुम्पिदिए ।

यसरी येशूले ६ ओटा न्यायिक जाँचको सामना गर्नुभयो अनि शुक्रबार बिहान ९ बजे उहाँ क्रूसमा टाँगिनुभयो । उहाँले ६ घण्टा क्रूसमा बिताउनुभएपछि दिउँसो ३ बजेतिर आफ्नो प्राण त्याग गर्नुभयो । उहाँको मृत्यु संयोग थिएन । तर पूर्वयोजनामुताबिक उहाँ सम्पूर्ण मानव–जातिको निम्ति क्रूसमा टाँगिनुभएको थियो ।   




Leave Your Comments Here.


Monday, March 30, 2015

पहिलो गुड फ्राइडेमा घटेका ८ ओटा घटनाहरू



चार ओटै सुसमाचारले येशूको क्रूसारोहण वरिपरिको दृश्यलाई महत्त्वकासाथ अभिलिखित गरेका छन् । येशूको मृत्युलाई सम्झेर गुड फ्राइडे मनाइन्छ । हामी यहाँ पहिलो गुड फ्राइडेमा भएका ८ ओटा घटनाहरूलाई सङ्क्षिप्त रूपमा केलाउनेछौँ । ती घटनाहरू यहाँ क्रमैसँग राखिएका छन् ।

१. येशू गेतसमनीको बगैँचामा गिरफ्तार हुनुभयो (मत्ती २६:३६–५६) ।
येशू आफ्ना चेलाहरूसँगै गेतसमनीको बगैँचामा प्रार्थना गर्दै हुनुहुन्थ्यो । यहूदा इस्करियोतको नेतृत्वमा एउटा ठुलो भिड तरवार र लाठा लिएर उहाँलाई पक्रन आयो । शुक्रबारको दिन बिहान लगभग ३ बजेतिर येशू गिरफ्तार हुनुभयो ।  

२. येशूको जाँच पडताल गरियो (यूहन्ना १८:१९–२४; मत्ती २६:५७) ।
गिरफ्तारपश्चात् येशू प्रधान पूजाहारी कैयाफाका ससुरा हन्नासकहाँ लगिनुभयो । खासै परिणाम नआएपछि कैयाफा उपस्थित महासभामा उहाँलाई सोधपुछ गरियो । येशूको विरुद्धमा विभिन्न अभियोगहरू लगाइएकोले त्यसको छिनोफानो गर्न उहाँ विभिन्न धार्मिकसाथै राजनीतिक अधिकारीहरूकहाँ उभ्याइनुभयो ।  

३. येशूलाई मृत्युदण्ड तोकियो (मत्ती २७:११–२६) ।
अन्तत: बिहान हुन लाग्दा येशूलाई फेरि रोमी हाकिम पन्तियस पिलातसकहाँ ल्याइयो । उहाँलाई तिन ओटा अभियोग लागेको थियो: (क) राष्ट्रलाई बहकाउने, (ख) कैसरलाई कर नतिर्ने र (ग) आफूलाई राजा हुँ भनी दाबी गर्ने (लूका २३:१–२) । पिलातसले येशूलाई केरकार गरिसकेपछि उहाँमा कुनै दोष नभेट्टाएको घोषणा गरे (लूका २३:१४) । तर भिडको जिद्दीको कारणले केही सिप नलागेपछि तिनले येशूलाई क्रूसमा टाँगिन तिनीहरूका हातमा सुम्पिदिए ।  

४. येशूलाई गलगथा लगियो (मत्ती २७:३२–३४) ।
आफ्नै क्रूसारोहणको लागि येशूले आफ्नो क्रूस आफै बोक्नुभयो जसमा सिमोन कुरेनीले पनि उहाँलाई क्रूस बोक्न मद्दत गरेको थियो । उहाँलाई मृत्युदण्ड दिइने क्षेत्र अर्थात् यरूशलेमको पर्खालबाहिर अवस्थित गलगथा भन्ने ठाउँमा ल्याइयो ।  

५. येशूलाई क्रूसमा टाँगियो (मर्कूस १५:२५) ।
गलगथामा दुई जना डाँकुहरूसँगै येशूलाई क्रूसमा झुण्ड्याइयो । येशूको क्रूसमाथि एउटा दोष–पत्र पनि टाँसिएको थियो जसमा लेखिएको थियो, “नासरतका येशू, यहूदीहरूको राजा ।” येशू क्रूसमा टाँगिनुहुँदा बिहानको ९ बजेको थियो ।  

६. येशूको मृत्युमा केही असाधारण घटनाहरू देखा परे (मत्ती २७:५१–५३) ।
येशूको मृत्यु हुँदा तिन ओटा अनौठा घटनाहरू भए: (क) मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, (ख) एउटा ठुलो भूकम्प गयो र (ग) चिहानहरू उघारिए र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे । 

७. येशूको मृत्यु भयो (लूका २३:४६) ।
ठुलो सोरले कराएर येशूले भन्नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” (लूका २३:४६) । यति भनिसकेपछि उहाँले आफ्नो प्राण त्याग गर्नुभयो । ६ घण्टासम्म येशूले क्रूसमा दर्दनाक दु:ख भोग्नुभएपछि दिउँसो ३ बजेतिर उहाँको मृत्यु भएको थियो । 

८. येशूको मृत शरीरलाई दफन गरियो (लूका २३:५०–५२) ।
येशूको मृत शरीरलाई दफन गर्न पाऊँ भनी अरिमाथियाका योसेफले पिलातसलाई बिन्ती गरे । महासभाका सदस्य योसेफ असल र धार्मिक मानिस थिए । येशूलाई तिनले आफ्नो निम्ति तयार पारेको चिहानमा राखे । त्यही साँझ ६ बज्नुभन्दा अगावै उहाँको दफन गरिएको थियो । 



Leave Your Comments Here.


Sunday, March 29, 2015

क्रूसबाट येशूले भन्नुभएका ७ ओटा वाणीहरू



येशू क्रूसमा टाँगिनुहुँदा उहाँले आफ्नो मुखबाट ७  ओटा वाणीहरू बोल्नुभएको थियो जुन अत्यधिक महत्त्वपूर्ण छन् । उहाँका तिन ओटा वाणीहरू (१, २ र ७) लूकाको सुसमाचारमा मात्र पाइन्छन् भने अर्का तिन ओटा वाणीहरू यूहन्नाको सुसमाचारमा मात्र पाइन्छन् (३, ५ र ६) । एउटा चाहिँ (४) मत्ती (२७:४६) र मर्कूस (१५:३४) दुवैमा पाइन्छ । परम्परागत रूपमा यी वाणीहरू यसरी क्रमैसित राखिएका छन् र तिनलाई क्षमा, उद्धार, सम्बन्ध, त्याग, दु:ख, विजय र पुनर्मिलनको वाणी भनिएको पाइन्छ ।     

१. पहिलो— क्षमाको वाणी (लूका २३:३४) 
येशूको यो पहिलो वाणीलाई क्षमाको वाणी भनिन्छ, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) । रोमी सिपाहीहरूलगायत अन्य जति पनि  येशूलाई क्रूसमा टाँग्न संलग्न थिए तिनीहरूलाई क्षमा दिइयोस् भनी येशूले पितासँग बिन्ती गर्नुभयो । क्रूसमा उहाँलाई घृणा गरिएको थियो; इन्कार गरिएको थियो तर त्यसको बदलामा येशूले प्रेम र क्षमाजस्ता सद्गुणहरू देखाउनुभयो ।    

२. दोस्रो— उद्धारको वाणी (लूका २३:४३) 
येशूको दायाँ र बायाँ क्रूसमा टाँगिएका दुई जना डाँकुहरूमध्ये एक जनाले येशू निर्दोष हुनुहुन्छ भनी बतायो र त्यसले उहाँसँग बिन्ती पनि गर्‍यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस् ।” प्रत्युत्तरमा येशूले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) । येशूको यस प्रतिज्ञालाई उद्धारको वाणीको रूपमा चिनिन्छ । त्यस अपराधीले आफूले अपेक्षा गरेभन्दा बेसी नै पायो र उद्धारमा सधैँ यस्तै हुन्छ अर्थात् हामीले पाउन सक्नेभन्दा बेसी नै पाउँछौँ ।   

३. तेस्रो— सम्बन्धको वाणी (यूहन्ना १९:२६–२७) 
सम्बन्धको वाणीको रूपमा चिनिएको यस भनाइमा येशूले आफ्नी आमा मरियमलाई प्रेरित यूहन्नाको जिम्मेवारीमा सुम्पिदिनुभयो । उहाँले भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो ! ... हेर, तिम्री आमा !” (यूहन्ना १९:२६–२७) । क्रूसमा येशू आफैले दर्दनाक पीडा भोगिरहनुभए तापनि उहाँ आफ्नी आमाको हेरचाहप्रति चिन्तित हुनुहुन्थ्यो । यसले आमाप्रति भएको येशूको प्रेम र वास्तालाई छर्लङ्ग पार्छ ।

४. चौथो— त्यागको वाणी (मत्ती २७:४६)  
क्रूसमा येशू चिच्याउनुभयो, “‘इलोई, इलोई, लामा सबखथनी ?’ अर्थात्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ?’” (मत्ती २७:४६) । त्यागको वाणीको रूपमा चिनिएको यो मात्र एउटा यस्तो भनाइ हो जुन दुई ओटा सुसमाचार (मत्ती र मर्कूस) मा देखा पर्छ । र, यो भजनसंग्रह २२:१ को उद्धरण हो । संसारको पाप उठाई लैजान कहिल्यै पाप नचिन्नुहुने पापसित परिचित हुनुभयो । परिणामत: पिताले केही समय आफ्नो पिठिउँ फर्काउनुभयो ।     

५. पाँचौँ— दु:खको वाणी (यूहन्ना १९:२८)  
येशू क्रूसमा टाँगिनुहुँदा उहाँले भन्नुभयो, “मलाई तिर्खा लाग्यो” (यूहन्ना १९:२८) । यसलाई दु:खको वाणीको रूपमा चिनिन्छ । येशूको यस वाणीमा पुरानो करारको भविष्यवाणी पुरा भएको थियो (भजनसंग्रह ६९:२१) ।  

६. छैटौँ— विजयको वाणी (यूहन्ना १९:३०)  
येशूले भन्नुभयो, “अब सिद्धियो” (यूहन्ना १९:३०) । यसलाई विजयको वाणीको रूपमा हेरिन्छ । यो येशूले पृथ्वीमा गर्नुभएको सेवा–कार्यको अन्त्यको घोषणा पनि हो । मानव–जातिको निम्ति उहाँले आफैलाई बलिदानको रूपमा परमेश्वरमा अर्पण गर्नुभयो ।  

७. सातौँ— पुनर्मिलनको वाणी (लूका २३:४६)  
यो क्रूसमा येशूले भन्नुभएको आखिरी वाणी हो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु” (लूका २३:४६) । पुनर्मिलनको वाणीको रूपमा परिचित येशूको यो भनाइ स्वर्गीय पितासित एक हुने घोषणा हो ।   

Leave Your Comments Here.