menu bar

Saturday, March 28, 2015

पहिलो गुड फ्राइडेमा पुरा भएका १० ओटा भविष्यवाणीहरू



येशूको मृत्युको सम्झना गरी मनाइने उत्सव नै गुड फ्राइडे हो । यो इस्टर सन्डेअगिको शुक्रबार हो । बाइबलको पुरानो करारमा सयौँ वर्ष पहिले नै येशूको मृत्यु वरिपरिको दृश्यबारे दर्जनौँ भविष्यवाणीहरू गरिएका थिए । यस आलेखमा हामी पहिलो गुड फ्राइडेको दिनमा पुरा भएका दस ओटा भविष्यवाणीहरूलाई सरसरती हेर्नेछौँ ।  

१. आफ्नै मित्रले उहाँलाई धोका दिनेथियो (मत्ती २६:४९) । 
येशूका १२ जना चेलाहरूमध्ये एक जनाको नाउँ यहूदा इस्करियोत थियो ।  त्यसले येशूलाई धोका दिएर पक्राउ गराइदिँदा (मत्ती २६:४७–५०) परमेश्वरले एक हजार वर्षअगि दाऊदको मुखबाट बोल्नुभएको वचन पुरा भएको थियो (भजनसंग्रह ४१:९) ।    

२. उहाँ चाँदीका तिस सिक्कामा बेचिनुहुनेथियो (मत्ती २६:१५) । 
आफ्नो गुरुलाई पक्राउ गराइदिन यहूदा इस्करियोतले मूख्य पूजाहारीहरूको हातबाट चाँदीका तिस सिक्का लिएको थियो, “‘यदि मैले उहाँलाई तपाईंहरूका हातमा पक्राइदिएँ भने, मलाई के दिनुहुन्छ ?’ तिनीहरूले त्यसलाई चाँदीका तीस सिक्का दिए” (मत्ती २६:१५) । येशू तिस सिक्कामा बेचिनुहुँदा पाँच सय वर्षअगि जकरिया अगमवक्ताले भनेको भविष्यवाणी पुरा भएको थियो (जकरिया ११:१२) ।   

३. आफ्नै चेलाहरूले उहाँलाई छाड्नेथिए (मर्कूस १४:५०) । 
गेतसमनीको बगैँचामा येशूको गिरफ्तार हुँदा सबै चेलाहरू उहाँलाई छाडेर भागे (मर्कूस १४:५०) । यसो हुँदा जकरिया अगमवक्ताको भविष्यवाणी पुरा भएको थियो (जकरिया १३:७) ।

४. उहाँलाई गिल्ला गरिनेथियो (मत्ती २७:२९) ।
येशूलाई कसरी अपमान गरिएको थियो भनी मत्ती लेख्छन्, “तिनीहरूले काँढाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको सामु घुँडा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, ‘हे यहूदीहरूका राजा, प्रणाम’” (मत्ती २७:२९) । उहाँलाई गिल्ला गरिनेथियो भन्ने सयौँ वर्ष पहिलेको भविष्यवाणी येशूको जीवनमा आएर पुरा भयो (भजनसंग्रह २२:७–८) ।  

५. उहाँ डाँकुहरूसितै झुण्ड्याइनुहुनेथियो (मत्ती २७:३८) ।
मसीहको दु:खको विषयमा भविष्यवाणी गर्दै येशूको आगमनभन्दा सात सय वर्षअगि यशैया अगमवक्ताले भनेका थिए, “ऊ अपराधीहरूको गन्तीमा गनियो” (यशैया ५३:१२) । येशू दुई जना डाँकुहरूको बिचमा क्रूसमा टाँगिनुहुँदा यो भविष्यवाणी पुरा भएको थियो (मत्ती २७:३८) ।  

६. उहाँको वस्त्रको लागि चिट्ठा हालिनेथियो  (यूहन्ना १९:२३–२४) ।
चौथो सुसमाचारका लेखक यूहन्ना अभिलिखित गर्छन्, “यसकारण तिनीहरूले आपसमा भने, ‘योचाहिँ नच्यातौं, तर यो कसको हुने हो भनी चिट्ठा हालौं ।’ धर्मशास्त्र पूरा होस् भनेर नै यो भएको थियो: ‘तिनीहरूले मेरो वस्त्र आफू–आफूमा बाँडे, र बाहिरी वस्त्रमा चाहिँ चिट्ठा हाले’” (यूहन्ना १९:२४) । सिपाहीहरूले उहाँको वस्त्रको लागि चिट्ठा हाल्दा दाऊदले भनेको वचन पुरा भएको थियो (भजनसंग्रह २२:१८) ।    

७. त्यागिएकोले उहाँ चिच्याउनुहुनेथियो (मत्ती २७:४६) । 
दिउँसो तिन बजेतिर येशूले प्राण त्याग गर्न लाग्नुहुँदा उहाँ ठुलो सोरले कराउनुभयो, “‘इलोई, इलोई, लामा सबखथनी ?’ अर्थात्, ‘हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ ?’” (मत्ती २७:४६) । उहाँ त्यसरी चिच्याउनुहुँदा दाऊदको मुखबाट निस्केको भविष्यवाणी पुरा भएको थियो (भजनसंग्रह २२:१) ।  

८. उहाँको कुनै हड्डी भाँचिदैनथ्यो (यूहन्ना १९:३३) ।
कसैलाई चाँडै नै मृत्युको मुखमा पुर्‍याउनुथियो भने त्यसको खुट्टा भाँच्ने चलन थियो । सिपाहीहरूले येशूसँगै क्रूसमा टाँगिएका दुवै जना डाँकुहरूको खुट्टा भाँचे तापनि येशू मरिसक्नुभएको देखेर तिनीहरूले उहाँको खुट्टा भाँचेनन् । त्यसो हुँदा “उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन (भजनसंग्रह ३४:२०) पुरा भयो (यूहन्ना १९:३२–३७) ।   

९. उहाँको कोखामा भालाले रोपिनेथियो (यूहन्ना १९:३४) । 
येशू क्रूसमा टाँगिनुहुँदा उहाँको कोखामा भालाले रोपिएको थियो (यूहन्ना १९:३४) । त्यसो हुँदा उहाँलाई भालाले घोचिनेथियो भन्ने जकरियाको भविष्यवाणी पुरा भयो (जकरिया १२:१०) ।  

१०. उहाँ धनी मानिसको चिहानमा गाडिनुहुनेथियो (मत्ती २७:५७–६०) ।
येशूलाई जुन चिहानमा दफन गरियो त्यो उहाँको आफ्नो थिएन । योसेफ नाउँ गरेका धनी मानिसको चिहानमा उहाँलाई दफन गरिँदा (मत्ती २७:५७–६०) यशैयाको भविष्यवाणी पुरा भएको थियो (यशैया ५३:९) ।

यसरी, एकै दिनमा येशूको जीवनमा यी दस ओटा भविष्यवाणीहरू पुरा भए । एकातिर, यसले येशू सबै धार्मिक अगुवाहरूभन्दा पृथक् हुनुहुन्छ भनी पुष्टि गर्छ भने अर्कोतिर उहाँ स्वर्गबाट ओर्लीआउनुभएको परमेश्वरको पुत्र हुनुहुन्छ भनी प्रमाणित गर्छ । पुरा भएका भविष्यवाणीहरू उहाँको पहिचानको पुष्टि गर्ने एउटा प्रबल साक्षी हो ।      

Leave Your Comments Here.


Thursday, March 26, 2015

उत्तर कोरियाका कर्नेल हुपले येशूमाथि विश्वास गरे



डा. वर्थ वर्ली र तिनकी पत्नी मिसनरी बनेर दक्षिण कोरिया गए । त्यस देशको तेइगु नामक सहरको कुनै एउटा निर्माणधीन घरमा डा. वर्लीले प्रचार गरिरहँदा तिनको वचनबाट प्रभावित भई केही मानिसहरूले येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभुको रूपमा स्वीकार गरे । येशूलाई अङ्गाल्नेहरूमध्ये एक जना थिए— कर्नेल किम चाङ्ग हुप । सङ्गति गर्ने क्रममा डा. वर्लीले पछि थाहा पाए कि येशूलाई स्वीकार गर्ने कर्नेल हुप त उत्तर कोरियाका बासिन्दा पो रहेछन् ।

वास्तवमा कथा यस्तो भएको रहेछ । कर्नेल जासुस थिए जस्तो देखिन्छ जो दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति पार्क चुङ्ग हेको शिर काट्न भनेर दक्षिण कोरियामा आउँदा पक्राउ परेका थिए । कर्नेल हुप जासुसहरूका अगुवा थिए । पक्राउ परेपछि दक्षिण कोरियाको जेलमा तिनले धेरै वर्ष बिताए । तिनले येशू ख्रीष्टको बारेमा उदेकको कथा सुनेर उहाँलाई विश्वास गरेका थिए । पछि तिनी जेलमुक्त भए अनि तिनले बप्तिस्मा लिए । तिनी मण्डलीमा विश्वासयोग्य विश्वासी बने । भूतपूर्व साम्यवादी जासुसलाई काम पाउन ती दिनमा मुaश्किल थियो । त्यसैले, डा. वर्लीले हुपलाई मण्डलीको हेरचाह गर्ने जिम्मा दिए । यसरी तिनी देशको कर्नेलबाट ख्रीष्टको राजदूत बने ।    

Leave Your Comments Here.


Wednesday, March 25, 2015

येशूविनाको राजदरबारभन्दा येशूसहितको झ्यालखाना नै उत्तम हो




राजदरबारमा काम गर्ने एक जना रुसी महिला कर्मचारीले प्रभु येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गरिन् । उनले आफ्नो विश्वासलाई लुकाइनन् बरु खुलेर गवाही दिइन् । जार अर्थात् रुसी बादशाह बेखुसी भए र तिनले ती महिलालाई झ्यालखानामा हालिदिए । उनले २४ घण्टा ज्यादै कष्टप्रद अवस्थामा बिताइन् । त्यसपछि उनलाई बादशाहको उपस्थितिमा हाजिर गराइयो । तिरस्कार झल्कने हाँसोसहित बादशाहले भने, “अब त तिम्रो बेकुफ विश्वासलाई इन्कार गरी दरबारको सुखसयलमा आउन राजी छ्यौ होला नि ?”

तर ती महिलाले मुस्कुराउँदै शान्त भएर बादशाहलाई नै छक्क पार्ने जवाफ दिइन्, “जारको दरबारमा जीवनभर सेवा गर्दा भन्दा येशूसित एक दिन झ्यालखानामा बिताउँदा मैले वास्तविक आनन्द र खुसीको महसुस गरेकी छु ।” येशूले दिने साँचो शान्तिलाई उनले झ्यालखानामा पनि अनुभव गर्न सकिन् जस्तो येशूले आफ्ना चेलाहरूलाई प्रतिज्ञा गर्नुभएको थियो, “शान्ति म तिमीहरूसँग छोडिराख्छु । म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु । संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ । तिमीहरूको ह्दय व्याकुल नहोस् र भयभीत नहोस्” (यूहन्ना १४:२७) ।

Leave Your Comments Here.