menu bar

Wednesday, January 11, 2017

दुःखको घडीमा पनि परिचित पास्टरले भने, “परमेश्वर असल परमेश्वर हुनुहुन्छ”



अन्तर्राष्ट्रिय ख्रीष्टियान जगत्‌मा परिचित नाउँ हो, रिक वारेन । पास्टरसाथै लेखक वारेनद्वारा स्थापित सेडलब्याक चर्च अमेरिकाकै आठौँ ठुलो मण्डली हो । उद्देश्य-प्रेरित जीवन नामक वारेनको कृति ३ करोडभन्दा बेसी बिक्री भइसकेको छ । वारेन दम्पत्तिले आफ्नो आयको १०% मात्र आफूसित राखी ९०% परमेश्वरको राज्य बिस्तारको लागि दिने गर्छन् । 

परमेश्वरको राज्य बिस्तारको क्रममा उहाँद्वारा अद्भूत रूपमा चलाइएका स्रष्टाहरूको जीवनमा कहिले काहीँ अकल्पनीय क्षति आइपर्छ । यस्तै भयो, वारेनको जीवनमा ६ अप्रिल २०१३ मा ।

वारेनका तिन जना सन्तानमध्ये मत्ती नाम गरेको कान्छो छोरोले आत्महत्या गरे उक्त दिनमा । मत्ती वर्षौंसम्म मानसिक रोगले ग्रस्त थिए । अवैधानिक रूपमा अनलाइनमार्फत किनिएको बन्दुकले २७ वर्षका मत्तीले आफ्नो ज्यान लिएका थिए ।

यस्तो भयावह दर्दको घडीमा पनि वारेनले परमेश्वरलाई प्रश्न गरेनन् । तिनले भने, “परमेश्वरमाथि भएको मेरो विश्वासप्रति मैले कहिल्यै प्रश्न गरेको छैनँ । मैले परमेश्वरको योजनामाथि प्रश्न तेर्साएँ । यसमा ठुलो भिन्नता छ । परमेश्वर असल परमेश्वर हुनुहुन्छ भनी म जान्दछु । ... तर संसारमा हुने हरेक कुरो परमेश्वरको इच्छा होइन । संसारमा हुने हरेक कुरोलाई उहाँले अनुमति दिनुहुन्छ; उहाँले स्वीकृति दिनुहुन्छ किनकि उहाँको अनुमतिविना यो हुनै सक्दैन । तर हामी एउटा यस्तो संसारमा बस्छौँ जहाँ स्वतन्त्र इच्छाहरू छन् । त्यसैले, मैले गलत गर्ने छनौट गरेँ भने त्यसको लागि म परमेश्वरलाई दोष्याउन सक्दिनँ । तसर्थ, मेरा छोराको मृत्युको लागि परमेश्वरलाई दोष दिन मिल्दैन । मेरा छोराले आफ्नो जीवन लिए । यो तिनको छनौट थियो ।

आफ्ना छोरालाई गुमाएको लगभग एक वर्षपश्चात् वारेनले भने, “‘तपाईं कसरी सम्हालिनुभएको छ ? तपाईंको दर्दमा तपाईं कसरी अगाडि बढ्नुभएको छ ?’ भनी मलाई अक्सर सोधिएको छ । मैले अक्सर जवाफ दिएको छु, ‘उत्तर हो, इस्टर ।

वारेनले जारी राखे, “तपाईं देख्नुहुन्छ कि प्रभु येशू ख्रीष्टका मृत्यु, गडाइ र पुनरुत्थान तिन दिन भित्रमा भएका घटनाहरू थिए । शुक्रबार दुःखकष्ट, दर्द र वेदनाको दिन थियो । शनिबार आशङ्का, भ्रम र दुर्दशाको दिन थियो । तर इस्टरको आइतबार आशा, आनन्द र विजयको दिन थियो । यो नै जीवनको सत्यता होः तपाईंको जीवनभरि तपाईंले बारम्बार यी दिनको सामना गर्नुहुनेछ । तपाईंले त्यसो गर्नुहुँदा मैले जस्तै तपाईंले तिनवटा आधारभूत प्रश्न सोध्नुहुनेछ । पहिलो प्रश्न होमेरो दर्दका दिनहरूमा मैले के गर्ने ? दोस्रो होआशङ्का र भ्रमका दिनहरूलाई मैले कसरी बिताउने ? तेस्रो होआनन्द र विजयका दिनहरूमा म कसरी पुग्ने ? उत्तर हो, इस्टर । उत्तर हो, ... इस्टर ।

  

Leave Your Comments Here.


Saturday, December 31, 2016

टेलेमाखसको सहादतपश्चात् मान्छेले मान्छेको ज्यान लिने खेलको अन्त्य भयो

  
प्राचीन रोममा एउटा यस्तो डरलाग्दो खेल खेलिन्थ्यो जसमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो । ख्रीष्टियमतको फैलावटको तिन शताब्दीपछि पनि प्राचीन रोममा मान्छेले मान्छेलाई मारेर मनोरञ्जन लिने खेलको अन्त्य भएको थिएन । रोमी सम्राट् कन्स्टेन्टाइनले यसको निषेध गरे तापनि जनमानस यसमा लागिरहे । राज्यको विरुद्धमा विद्रोह नहोस् भन्ने हेतुले तिनीहरूको इच्छा पुरा गर्न तिनीहरूलाई अनुमति दिइयो । ख्रीष्टियान सम्राट् होनोरिअसले पुन: निषेध गर्ने प्रयास गरे तापनि त्यो विफल रह्यो । यस हिंसात्मक खेलले निरन्तरता पाइरहयो ।

आज जस्तै त्यो नयाँ वर्षको दिन थियो । कुरो १ जनवरी ख्रीष्टाब्द ४०४ को हो । मानिसहरू रङ्गशालामा सदाझैँ खेल हेर्न झुम्मिएका थिए । खेल सुरु हुनै लागेको थियो । टेलेमाखस नाम गरेका ख्रीष्टियान सन्त मैदानमा ओर्लिए र तिनले ती लडाकाहरूलाई छुट्टयाए । त्यस दृश्यलाई देखेर दर्शकगण यति क्रुद्ध भए कि रङ्गशालाका बेन्चहरू निकाली तिनीहरू तिनीमाथि आइलागे र तिनलाई एकै खेप बनाए । तिनी मारिए ।

तर तिनको सहादतमा सन्त टेलेमाखस विजयी बने । मान्छेको शरीरबाट रगतको धारो बगाउने त्यो खेल सदाको लागि बन्द हुन पुग्यो । तिनी नै रङ्गशालाको अन्तिम सहिद बने । फेरि यस हिंसात्मक खेलद्वारा अरूले आफ्नो रगत बगाएर रङ्गशालाको मैदानलाई भिजाउनु परेन । धन्य टेलेमाखस जसले आफ्नो प्राणको आहुति दिएर त्यस पशुवत् खेललाई सदाको निम्ति यस धरतीबाट बिदा गरिदिए । मानव सभ्यता निर्माणमा ख्रीष्टियानहरूले उल्लेखनीय भूमिका निभाएका छन् जसमध्ये यो एउटा ज्वलन्त उदाहरण हो ।

Leave Your Comments Here.


Thursday, December 22, 2016

हाम्रा स्वर्गीय पिताको प्रेम-पत्र


मेरा छोरा तथा छोरी,

तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सबै कुरा जान्दछु (भजनसंग्रह १३९:१) । तिमी कहिले बस्छौ र उठ्छौ भनी म जान्दछु (भजनसंग्रह १३९:२) । म तिम्रा सबै आचरणसित परिचित छु (भजनसंग्रह १३९:३) । मैले तिम्रो शिरका सबै केश पनि गनेको छु (मत्ती १०:२९-३१) । किनभने तिमी मेरै स्वरूपमा सृष्टि गरिएका थियौ (उत्पत्ति १:२७) । तिमी ममा जिउँछौ र ममा चलहल गर्छौ अनि ममा नै तिम्रो अस्तित्व छ, किनकि तिमी मेरा सन्तान हौ (प्रेरित १७:२८) । तिमी आमाको गर्भमा आउनुअगि नै म तिमीलाई चिन्थेँ र सृष्टिको योजना बनाउनुअगवै मैले तिमीलाई चुनेको थिएँ (यर्मिया १:४-५) । तिम्रो अस्तित्वमा कुनै गल्ती थिएन (एफिसी १:११-१२) । किनभने तिम्रा सबै दिन मेरो पुस्तकमा लेखिएका छन् (भजनसंग्रह १३९:१५-१६) । मैले तिम्रो बासस्थान र जन्मको समय तोकिदिएको छु (प्रेरित १७:२६) ।

तिमी भयानक र अद्भूत रीतिले बनाइएका छौ (भजनसंग्रह १३९:१४) । मैले तिमीलाई तिम्री आमाको गर्भमा रचेँ (भजनसंग्रह १३९:१३) । तिम्रो जन्म दिनमा मैले तिमीलाई संसारमा ल्याएँ (भजनसंग्रह ७१:६) । मलाई नचिन्नेहरूबाट म गलत रूपमा प्रस्तुत गरिएको छु (यूहन्ना ८:४१-४४) । तरै पनि म रिसाएको छैनँ र टाढा पनि छैनँ; म स्वयम् प्रेमको सारा स्वरूप हुँ (१ यूहन्ना ८:१६) । तिमीमा मेरो प्रेम खन्याउनु नै मेरो इच्छा हो, किनकि तिमी मेरो सन्तान हौ र म तिम्रो पिता हुँ (१ यूहन्ना ३:१) । तिम्रो शारीरिक पिताले भन्दा मैले तिमीलाई अझै धेरै कुरा दिन चाहेको छु (मत्ती ७:११) ।

म तिम्रो सिद्ध पिता हुँ (मत्ती ५:४८) । तिमीले पाउने हरेक असल वरदान मबाट आउँछ (याकूब १:१७) । म तिम्रा सबै आवश्यकता पुरा गरिदिन्छु किनकि मैले नै जुटाउने काम गर्छु (मत्ती ६:३१-३३) । मेरो योजनामुताबिक तिम्रो भविष्य सधैँ आशाले भरिएको हुन्छ (यर्मिया २९:११) । किनकि म तिमीलाई अनन्तको प्रेमले प्रेम गर्छु (यर्मिया ३१:१) । तिम्रो निम्ति मेरा विचार समुद्र किनारका बालुवाभन्दा बढी छन् (भजनसंग्रह १३९:१७-१८) । म तिम्रो बारेमा गीत गाएर आनन्द प्रकट गर्छु (सपन्याह ३:१७) । म अथक रूपमा तिम्रो भलाइ चाहन्छु (यर्मिया ३२:४०) । किनकि तिमी मेरो अति नै बहुमूल्य सम्पत्ति हौ (प्रस्थान १९:५) । मेरो सारा मन र प्राणले म तिमीलाई स्थापित गर्न चाहन्छु (यर्मिया ३२:४१) । म तिमीलाई महत्त्वपूर्ण र उदेकका कुराहरू देखाउन चाहन्छु (यर्मिया ३३:३) । तिमीले मलाई सम्पूर्ण ह्दयले खोज्यौ भने मलाई भेट्टाउनेछौ (व्यवस्था ४:२९) । ममा आनन्दित होऊ र म तिम्रो चाहना पुरा गर्नेछु (भजनसंग्रह ३७:४) । वास्तवमा, तिमीलाई ती चाहना दिने म नै हुँ (फिलिप्पी २:१३) । म तिमीले चिताएको भन्दा धेरै मात्रामा गर्न सक्छु (एफिसी ३:२०) । किनकि तिमीलाई अत्यधिक उत्साह दिने म नै हुँ (२ थेसलोनिकी २:१६-१७) । म तिम्रो सारा सङ्कष्टमा तिमीलाई सान्त्वना दिने पिता हुँ (२ कोरिन्थी १:३-४) । तिम्रो ह्दय टुटेको अवस्थामा म तिम्रो नजिकै हुन्छु (भजनसंग्रह ३४:१८) । गोठालोले थुमालाईझैँ म तिमीलाई मेरो ह्दयभित्र बोक्छु (यशैया ४०:११) । एक दिन म तिम्रा सबै आँसु पुछिदिनेछु र तिमीले यस पृथ्वीमा भोग्नुपरेका सबै कष्ट हरण गरिदिनेछु (प्रकाश २१:३-४) । म तिम्रा पिता हुँ र आफ्ना पुत्र येशूलाईझैँ म तिमीलाई प्रेम गर्छु (यूहन्ना १७:२३) । किनकि येशूमा तिम्रो निम्ति मेरो प्रेम प्रकट भएको छ (यूहन्ना १७:२६) । उहाँ मेरा हुबहु प्रतिरूप हुनुहुन्छ (हिब्रू १:३) । म तिम्रो पक्षमा छु, विरुद्धमा होइन भनी देखाउनलाई येशू यस संसारमा आउनुभयो (रोमी ८:३१) । तिम्रो र मेरो बिचमा मिलाप ल्याउन येशू मर्नुभएको थियो (२ कोरिन्थी ५:१८-१९) । उहाँको मृत्यु तिमीप्रति मेरो प्रेमको आखिरी अभिव्यक्ति हो (१ यूहन्ना ४:१०) । तिम्रो प्रेम पाउनलाई मैले प्रेम गरेको हरेक कुरोलाई त्यागेँ (रोमी ८:३१-३२) । तिमीले मेरा पुत्र येशूलाई ग्रहण गर्‍यौ भने तिमीले मलाई ग्रहण गर्नेछौ (१ यूहन्ना २:२३) । तिमीलाई मेरो प्रेमले कहिल्यै कुनै पनि कुरोले अलग गराउनेछैन (रोमी ८:३८-३९) । म सधैँ पिता थिएँ र सधैँ पिता नै रहनेछु (एफिसी ३:१४-१५) । मेरो प्रश्न यही हो कि के तिमी मेरा छोरा वा छोरी बन्न चाहन्छौ (यूहन्ना १:१२-१३) ? म धैर्यपूर्वक तिम्रो प्रतीक्षामा छु (लूका १५:११-३२) ।

तिम्रा प्रेमी पिता
सर्वशक्तिमान् परमेश्वर      

-gf]6M Father's Love Letter used by permission Father Heart Communications ©1999 FathersLoveLetter.com)



Leave Your Comments Here.