menu bar

Saturday, November 19, 2016

आफूलाई मार्न आएका व्यक्तिलाई सुसमाचार सुनाइन् भर्जिनियाले


उनको नाउँ हो, भर्जिनिया प्रोडान । युरोपको दक्षिण-पूर्वमा अवस्थित साम्यवादी मुलुक रोमानियामा उनको जन्म भएको थियो । रोमानियाका प्रथम राष्ट्रपति निकोलाई चाउसेस्कुको तानाशाही शासनकाल (ख्रीष्टाब्द १९७४-१९८९) मा जन्मेका भर्जिनिया वकिल बनिन् । उनी लेखिकासाथै मानव अधिकारको पक्षमा वकालत गर्ने वकिल हुन् ।  

भर्जिनियाले प्रभु येशूलाई ह्दयदेखि अङ्गालेपछि उनी साम्यवादी सरकारको कठपुतली बन्न छाडिन् । जस्तोसुकै मूल्य चुकाउनु परे तापनि सत्यताको पक्षमा अडिग रहने निर्णय लिइन् उनले । परिणामतः उनी चाँडै नै सरकारको तारो बन्न पुगिन् ।  

एक रातको कुरो हो । अदालतमा लामो समय बिताएपछि भर्जिनियाकी कानुनी सहयोगी मिरुनाले भनिन्, “एक जना ठुलो जिउ भएका मानिस तपाईंसित एउटा मुद्दाको बारेमा छलफल गर्न तपाईंलाई पर्खंदै छन् ।”

ती मानिस भर्जिनियाको टेबुल अगाडि बसे । तिनले बिस्तारै आफूले लुकाएर ल्याएको बन्दुक निकाले र भने, “तपाईंलाई दिइएका चेताउनीहरूलाई ख्याल गर्नबाट तपाईं चुक्नुभएको छ । म त्यस विषयलाई सधैँको लागि एकै पटकमा खत्तम पार्न यहाँ आएको हुँ ।” तिनले जारी राखे, “म यहाँ तपाईंलाई मार्न आएको हुँ ।” 

भर्जिनियाका हात काँप्न थाले । चिउँडो थरथर भयो । उनको मनमा एउटा तस्बिर नाच्न थाल्योः भोलिपल्ट बिहान उनका सहयोगी आएर उनको मृत शरीरलाई अफिसको भुइँमा पस्रिरहेको देखिन् । 

कोठामा भर्जिनिया र उनलाई मार्न आउने व्यक्ति मात्र थिए । तथापि त्यहाँ अरू कोही पनि हुनुहुन्थ्योः उनले विश्वास गरेका परमेश्वर । परमेश्वरका प्रतिज्ञाहरूलाई स्मरण गर्दै उनले मनमनै प्रार्थना गर्न थालिन् । उहाँका आत्माले उनको आतङ्कित ह्दयमा शान्तिको सास फुकिदिनुभयो । त्यसपछि उनले एउटा सन्देश प्राप्त गरेको अनुभूति गरिन्ः सुसमाचार सुनाऊ । 

घृणाले भरिपूर्ण ती मानिसको आँखापछाडि भर्जिनियाले परमेश्वरको सृष्टि देखिन् । तिनमा अमरणशील आत्मा थियो र येशू ख्रीष्टमा प्रदर्शित परमेश्वरको प्रेमलाई तिनले पनि जान्नु आवश्यक थियो । उनले भनिन्, “परमेश्वरले तपाईंलाई यहाँ राख्नुभएकोले तपाईं यहाँ हुनुहुन्छ र परमेश्वरले तपाईंलाई जाँच गर्नुभएको छ । तपाईं परमेश्वरमा रहनुहुन्छ कि मानिसको इच्छा अर्थात् पूजा गरेको चाहने तपाईंका मालिक राष्ट्रपति चाउसेस्कुको इच्छामा ? परमेश्वरले तपाईंलाई छनौट गर्ने स्वतन्त्र इच्छा दिनुभएको छ ।”  

ती मानिसका आँखामा सकारात्मक परिवर्तन देखा पर्‍यो भने भर्जिनियामा निश्चयता बढ्यो । उनले जारी राखिन्, “सत्यता यही हो, कि हामी सबै भ्रष्ट भएका छौँ र परमेश्वरबाट तर्केर गएका छौँ ।” तिनले टाउको हल्लाए । “हामी सबै पापी हौँ र हाम्रो पापले हाम्रो भविष्यको निधो गरेको छ”, उनी भन्दै गइन्, “तर शुभ खबर यो हो, कि क्रुसमा येशू ख्रीष्टको बलिदानद्वारा परमेश्वरले हामी हरेकको लागि एउटा मार्ग तयार पार्नुभएको छ ।”  

उनले भन्दै गइन् । अन्ततः, ती मानिसले आफ्नो निधारमा हात पुर्‍याउँदै भने, “तपाईं सही हुनुहुन्छ । मलाई यहाँ पठाउने मानिसहरू सन्काहा छन् । निश्चय नै मलाई ख्रीष्टको खाँचो छ ।” तिनले प्रतिज्ञा गरे, “ख्रीष्टमा गुप्त भाइको रूपमा म तपाईंको मण्डलीमा आउनेछु । म तपाईंका शक्तिशाली परमेश्वरलाई पुज्नेछु ।” 

सुसमाचारको शक्तिले हत्या गर्न आउने ती मानिसको ह्दयमा १८० डिग्रीको बद्लाउ ल्यायो । हत्यारा हुन आएका तिनी सन्त बनी त्यहाँबाट बिदा भए । पछि तिनी सेमिनारीमा भर्ना भए । तिनले सत्यतालाई पत्ता लगाए जसको बारेमा बताउन तिनी फेरि कहिल्यै डराएनन् ।        


Leave Your Comments Here.


Thursday, November 17, 2016

बाइबलद्वारा परिवर्तित नास्तिक पाइलट मिसनरी बने


दोस्रो विश्वयुद्ध जारी थियो । १८ अप्रिल १९४२ को दिन डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्‍यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना व्यक्ति पनि थिए जो नास्तिक थिए अर्थात् तिनले परमेश्वरमाथि विश्वास गर्दैनथ्ये । आक्रमणको क्रममा तिनको विमानलाई शत्रुहरूले यसरी प्रति-आक्रमण गरे कि तिनी प्यारासुटसहित विमानबाट हामफाल्न बाध्य भए । तिनलाई पक्रेर जापानीहरूले झ्यालखानामा हाले । लाग्थ्यो, तिनको जीवनको अन्त्य नजिकिँदै थियो । तिनका दुई सहयात्रीलाई गोली हानि हत्या गरिएको र एक जना भोकले मरेको तिनले आफ्नै आँखाले देखे ।  

जापानी भूमिमा कैदी जीवन बिताइरहँदा तिनी एउटा प्रश्नमाथि घोत्लिन थालेः किन मैले जापानीहरूलाई यति धेरै घृणा गरेको र जापानीहरूले मलाई किन घृणाको दृष्टिकोणबाट हेरेके होलान् ? ख्रीष्टियान विश्वासबारे आफूले सुनेका केही कुराहरूलाई याद गर्न थाले तिनले ।

साहसपूर्वक तिनले झ्यालखानाका हाकिमहरूलाई अनुरोध गरे, “मलाई एउटा बाइबल ल्याइदिनुहुन्छ कि ?” तिनको अनुरोधलाई तिनीहरूले खिल्लीमा उडाइदिए । तिनीहरूलाई लाग्यो कि यो कुनै ठट्टा थियो । त्यस्तो वाहियात माग नगर्न तिनीहरूले तिनलाई चेताउनी दिए । तर तिनले बाइबलको माग गरिरहे । डेढ वर्षपश्चात् अर्थात् मे १९४४ मा एक जना पहरेदारले बाइबल ल्याइदियो र तिनको सामु फ्याँकेर भन्यो, “तिमीसँग जम्मा तिन हप्ता मात्र बाँकी छ । त्यसपछि त म यो बाइबल लिएर जान्छु ।” नभन्दै, तिन हप्ता बितेपछि पहरेदारले जेकबको हातबाट बाइबल लिएर गयो र तिनले फेरि बाइबलको मुख देख्न पाएनन् । 

तथापि, तिन हप्ताको छोटो अवधिमा जेकबले बाइबलाई जुन रफ्तारले पढेका थिए; त्यसमाथि मनन गरेका थिए र जीवनको अर्थसाथै मानव-जातिको आखिरी गन्तव्यको विषयमा बाइबलका वचनहरूमा डुबेका थिए, त्यसले तिनको जीवनमा नाटकीय परिवर्तन ल्याइदिसकेको थियो । पछि तिनी जापानी निर्वासनबाट जेलमुक्त भए । १९४८ मा आफ्नी पत्नी र भर्खरैको छोरो लिएर तिनी फेरि जापानमा नै गएः तर यस पटक कैदीको रूपमा नभएर मिसनरीको रूपमा । हल्लेलूयाह ! मिसनरी भएर तिनले जापानमा ३० वर्ष बिताए ।     


Leave Your Comments Here.


Friday, November 11, 2016

नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई सबैभन्दा मनपर्ने पुस्तक हो— बाइबल


संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जोन ट्रम्पको जन्म १४ जुन १९४६ मा अमेरिकाको न्युयोर्क सहरमा भएको थियो । 

परिचित व्यापारी, टेलिभिजन व्यक्तित्व र द ट्रम्प अर्गनाइजेसन नामक संस्थाका मुख्य व्यक्तिसमेत रहेका तिनी धार्मिक दृष्टिकोणबाट ख्रीष्टियान हुन् । बाल्यकालमा तिनी मण्डलीमा जन्थे र बाल सङ्गतिमा उपस्थित हुन्थे । ख्रीष्टाब्द २०११ मा लिइएको एउटा अन्तर्वार्तामा तिनले भनेका छन्, “म प्रोटेस्टेन्ट हुँ । म प्रेसबिटेरिएन हुँ । तपाईंहरूलाई थाहै छ, कि विगतका वर्षहरूमा मण्डलीसित मेरो राम्रो सम्बन्ध रहेको छ । मेरो विचारमा धर्म एउटा राम्रो कुरो हो । मेरो विचारमा मेरो धर्म एउटा राम्रो धर्म हो ।” 

ट्रम्पका अनुसार तिनी न्युयोर्कस्थित मार्बल कोलेजिएट चर्चमा जान्छन् । १९७७ मा यहीँ नै तिनले आफ्नो पहिलो विवाह गरेका थिए । तिनी प्रभु-भोजमा सहभागी हुन्छन् । 

ट्रम्पले आफ्नो कृति द आर्ट अफ् द डिल लाई आफूलाई मनपर्ने दोस्रो पुस्तक भनेका छन् । तिनको मनपर्ने पहिलो पुस्तक हो, बाइबल । तिनले भनेका छन्, “तपाईंहरूलाई थाहा छ [मलाई मनपर्ने] पहिलो पुस्तकचाहिँ कुन हो ? बाइबल । कुनैले पनि बाइबललाई पराजित गर्न सक्दैन ।”

टोनी पार्किन्स र राल्फ ए. रिडजस्ता परिचित इभान्जलिकल प्रोटेस्टेन्ट अगुवाहरूसित ट्रम्पको राम्रो सम्बन्ध रहेको छ । चुनावको प्रचार प्रसारको दौडानमा तिनले पास्टर इम्मानुएल लेमेलसनबाट आशिष् थापेका थिए ।

स्रोतः https://en.wikipedia.org/wiki/Donald_Trump  



Leave Your Comments Here.