दोस्रो विश्वयुद्ध जारी थियो । १८ अप्रिल १९४२ को दिन डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना व्यक्ति पनि थिए जो नास्तिक थिए अर्थात् तिनले परमेश्वरमाथि विश्वास गर्दैनथ्ये । आक्रमणको क्रममा तिनको विमानलाई शत्रुहरूले यसरी प्रति-आक्रमण गरे कि तिनी प्यारासुटसहित विमानबाट हामफाल्न बाध्य भए । तिनलाई पक्रेर जापानीहरूले झ्यालखानामा हाले । लाग्थ्यो, तिनको जीवनको अन्त्य नजिकिँदै थियो । तिनका दुई सहयात्रीलाई गोली हानि हत्या गरिएको र एक जना भोकले मरेको तिनले आफ्नै आँखाले देखे ।
जापानी भूमिमा कैदी जीवन बिताइरहँदा तिनी एउटा प्रश्नमाथि घोत्लिन थालेः किन मैले जापानीहरूलाई यति धेरै घृणा गरेको र जापानीहरूले मलाई किन घृणाको दृष्टिकोणबाट हेरेके होलान् ? ख्रीष्टियान विश्वासबारे आफूले सुनेका केही कुराहरूलाई याद गर्न थाले तिनले ।
साहसपूर्वक तिनले झ्यालखानाका हाकिमहरूलाई अनुरोध गरे, “मलाई एउटा बाइबल ल्याइदिनुहुन्छ कि ?” तिनको अनुरोधलाई तिनीहरूले खिल्लीमा उडाइदिए । तिनीहरूलाई लाग्यो कि यो कुनै ठट्टा थियो । त्यस्तो वाहियात माग नगर्न तिनीहरूले तिनलाई चेताउनी दिए । तर तिनले बाइबलको माग गरिरहे । डेढ वर्षपश्चात् अर्थात् मे १९४४ मा एक जना पहरेदारले बाइबल ल्याइदियो र तिनको सामु फ्याँकेर भन्यो, “तिमीसँग जम्मा तिन हप्ता मात्र बाँकी छ । त्यसपछि त म यो बाइबल लिएर जान्छु ।” नभन्दै, तिन हप्ता बितेपछि पहरेदारले जेकबको हातबाट बाइबल लिएर गयो र तिनले फेरि बाइबलको मुख देख्न पाएनन् ।
तथापि, तिन हप्ताको छोटो अवधिमा जेकबले बाइबलाई जुन रफ्तारले पढेका थिए; त्यसमाथि मनन गरेका थिए र जीवनको अर्थसाथै मानव-जातिको आखिरी गन्तव्यको विषयमा बाइबलका वचनहरूमा डुबेका थिए, त्यसले तिनको जीवनमा नाटकीय परिवर्तन ल्याइदिसकेको थियो । पछि तिनी जापानी निर्वासनबाट जेलमुक्त भए । १९४८ मा आफ्नी पत्नी र भर्खरैको छोरो लिएर तिनी फेरि जापानमा नै गएः तर यस पटक कैदीको रूपमा नभएर मिसनरीको रूपमा । हल्लेलूयाह ! मिसनरी भएर तिनले जापानमा ३० वर्ष बिताए ।