menu bar

Monday, August 29, 2016

यो एउटा असाधारण बाइबलको विषयमा भएको एउटा असाधारण कथा हो



लाइब्रेरी अफ कङ्ग्रेस अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा अवस्थित एउटा पुस्तकालय हो, जसमा लाखौँ पुस्तक छन् । तर त्यहाँ भएका पुस्तकहरूमध्ये सबैभन्दा सुन्दर पुस्तक १६ औँ शताब्दीमा एक जना सन्यासीले प्रतिलिपि गरेको बाइबल हो । अमेरिका वा युरोपमा भएको सबैभन्दा उत्तम किताब छाप्ने मेसिनले पनि यसको अतुलनीय सिद्धतालाई जित्न सक्दैन ।

,००० पृष्ठको यस बाइबललाई जर्मन भाषामा कालो मसीले लेखिएको छ । हरेक अक्षर सिद्ध छ, कतै पनि धब्बा वा केरमेट छैन । प्रत्येक पृष्ठमा दुई ओटा स्तम्भ छन् । यति होसियार र सतर्कतासाथ ती अक्षर र हरफहरू बिचको खाली ठाउँको रचना गरिएका छन्, कि ठुलो पार्ने उपकरणले हेर्दा पनि सानोभन्दा सानो अनियमितालाई पनि पत्ता लगाउन सकिँदैन । प्रत्येक अध्यायको सुरुआतमा पहिलो अक्षर निकै ठुलो छ, अर्थात् दुईदेखि तिन इन्चसम्म लामो । यसलाई रातो र कालो मसीले चम्किलो पारेको छ । त्यसपछि त्यस अध्यायमा वर्णित कुनै सन्त वा घटनालाई उक्त अक्षरभित्रका खाली ठाउँहरूमा चित्रमा उतारिएको छ ।

किँवदन्तीअनुसार घोर अपराध गर्ने एक जना जवान मानिस सन्यासी बने, अनि तिनले धर्मशास्त्रको प्रतिलिपि गर्ने निधो गरे, ताकि ईश्वरीय आज्ञाहरूका प्रत्येक अक्षरहरूलाई तिनले जान्न सकून् । कैयौँ वर्षसम्म यस गहन अनुशासनभित्र तिनले आफैलाई होमे, अनि हरेक अक्षरलाई प्रेम र आदरसहित लेखे । जब तिनले आखिरी अक्षरलाई लेखी सिद्धयाए (जति बेलासम्म तिनी वृद्ध भइसकेका थिए) तब त्यस पृष्ठलाई चुम्बन गरी तिनले आफ्नो काम फत्ते गरे ।

(नोट: यो रोचक प्रसङ्ग कमल अधिकारीको प्रेरक प्रसङ्गहरू नामक तेस्रो कृतिबाट साभार गरिएको हो ।)




Leave Your Comments Here.


Thursday, August 25, 2016

बाइबलमा वैज्ञानिक त्रुटि खोज्न कस्सिएका डाक्टर आफैँ नै ख्रीष्टको चेला बने



ख्रीष्टियान विश्वासप्रति भिगो ओलसेनको प्रारम्भिक प्रतिक्रिया यस्तो थियो, “ख्रीष्टियमत र बाइबललाई मैले अज्ञेयवादी दृष्टिकोणबाट हेर्ने गर्थें । आधुनिक विज्ञानले यस धर्मको अधिकांश भावनालाई अप्रचलित तुल्याएको छ भन्ने मेरो बुझाइ रहेको थियो । मेरा ससुराले विकासवादी नियमहरू र अन्य वैज्ञानिक सिद्धान्तहरूमा भएका त्रुटिहरू बताउँदा म भित्रभित्रै जल्थेँ ।

ओलसेन प्रतिभावान् डाक्टर थिए जसको जीवन विज्ञानमा ओतप्रोत भएको थियो । सृष्टिकर्ताको अस्तित्वको लागि कुनै स्वतन्त्र साक्षी छैन भन्ने तिनको ठम्याइ रहेको थियो ।  

ओलसेनकी पत्नीको नाउँ थियो, जोआन । पत्नी पनि सन्देहवादी नै थिइन् । तर जोआनका बुबा आमा भने भक्त ख्रीष्टियानहरू थिए । एक पटक ओलसेन आफ्नी पत्नीसँगै सासु ससुरालाई भेट्न गए । ओलसेनले चाहिँदो मात्रामा धार्मिक जानकारी पाए । एक रात निराश हुँदै तिनले ख्रीष्टियमतलाई जाँच्ने सहमति जनाए, “मेरो आशय पटक्कै वस्तुगत अध्ययन गर्नु थिएन । जसरी डाक्टरले सतहमा काट्छ, त्यसै गरी हामीले बाइबललाई काटी यसका लज्जित तुल्याउने वैज्ञानिक त्रुटिहरूलाई चिरफार गर्नु थियो ।

पति र पत्नी दुवैले बाइबलमा वैज्ञानिक भुलहरू खोज्न थाले, तर पाएनन्  । त्यसपछि एक जना विद्यार्थीले ओलसेनलाई मोर्डन साइन्स एन्ड क्रिस्चियन फेथ नामक पुस्तक दियो । उक्त पुस्तकमा परेश्वरलाई औँल्याउने साक्षीहरू पेस गरिएका थिए । पुस्तक पढेपछि ख्रीष्टियान विश्वासको लागि साक्षी रहेछ भनी पहिलो पटक पति पत्नीले महसुस गरे । तिनीहरूले त्यस पुस्तकलाई सबिस्तार ढङ्गमा पढे र तिनीहरू सृष्टिकर्ता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने निष्कर्षमा आइपुगे ।

येशूको बारेमा जानेपछि तिनीहरूले आफ्ना जीवन उहाँमा अर्पण गरे । दुवै जना बङ्गलादेशमा सुसमाचार लिएर गए जहाँ तिनीहरूले ३३ वर्ष बिताए । ओलसेनले केही पुस्तकहरू पनि लेखेका छन् जसमध्ये एउटा (द एग्नस्टिक हु  डेएर्ड टु सर्च) मा तिनले आफ्नो आत्मिक यात्रालाई बयान गरेका छन् । 

यसरी, एक जना डाक्टर र तिनकी पत्नीले ख्रीष्टियमतलाई जाँच गरेपछि सत्यतालाई भेट्टाए र तिनीहरू उही सत्यताको प्रचारको लागि बङ्गलादेश आए ।   

  

Leave Your Comments Here.


Monday, August 22, 2016

परमेश्वरले हामीलाई कहिल्यै त्याग्नुहुन्न



सर्वश्रेष्ठ सुसमाचार प्रचारक हुन्, बिल्ली ग्राहम । ९८ वर्षका ग्राहमले एकातिर आफ्नी पत्नी गुमाइसकेका छन् भने, अर्कोतिर तिनी एउटा रोगले ग्रस्त छन् जसको कारणले तिनी आफ्नो क्रुसेडलाई निरन्तरता दिन सक्दैनन् । तरै पनि ख्रीष्टले हामीलाई प्रदान गर्नुहुने आशाको बारेमा तिनले केही वर्षअगि यसरी लेखे:

मेरो ह्दयले तपाईंहरूको तिर्सना गरेको छ । जीवन सधैँ राम्रो वा सजिलो हुँदैन । कहाँ जाने होला भनी तपाईंहरूलाई थाहै नभएको महसुस गर्नुहोला तपाईंहरूले । तर बाइबलको एउटा महानतम सत्यता यही हो कि जीवन कठिन बन्दा परमेश्वरले हामीलाई कहिल्यै त्याग्नुहुन्न । परिस्थितिहरू बेठिक भएको देख्दा पनि उहाँ सधैँ हामीसितै हुनुहुन्छ र उहाँले सधैँ हाम्रो मदत गर्न चाहनुहुन्छ । उहाँले हरेक दुर्भाग्यलाई उल्टयाउने निश्चयता नगर्नुभए तापनि यदि ख्रीष्ट हाम्रा ह्दयमा बास गर्नुहुन्छ भने हामीसित उहाँको प्रतिज्ञा छ, ‘सारा सृष्टिमा भएका कुनै पनि कुराले, ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछैन’ (रोमी ८:३९) । कस्तो निश्चयता ! भविष्यबारे भयभीत हुनुको साटो यस इस्टरमा हामी भरोसा गर्न सक्छौँ र परमेश्वरले हाम्रा जीवनमा उद्देश्यसाथ काम गरिरहनुभएको छ भनी हामी उहाँमाथि भरोसा गर्न सक्छौँ । हामीमा आशा छ ।      



Leave Your Comments Here.