लाइब्रेरी अफ कङ्ग्रेस अमेरिकाको राजधानी वासिङ्गटन डी. सी. मा अवस्थित एउटा
पुस्तकालय हो, जसमा लाखौँ
पुस्तक छन् । तर त्यहाँ भएका पुस्तकहरूमध्ये सबैभन्दा सुन्दर पुस्तक १६ औँ
शताब्दीमा एक जना सन्यासीले प्रतिलिपि गरेको बाइबल हो । अमेरिका वा युरोपमा भएको
सबैभन्दा उत्तम किताब छाप्ने मेसिनले पनि यसको अतुलनीय सिद्धतालाई जित्न सक्दैन ।
१,००० पृष्ठको यस बाइबललाई
जर्मन भाषामा कालो मसीले लेखिएको छ । हरेक अक्षर सिद्ध छ, कतै पनि धब्बा वा केरमेट छैन । प्रत्येक पृष्ठमा दुई ओटा
स्तम्भ छन् । यति होसियार र सतर्कतासाथ ती अक्षर र हरफहरू बिचको खाली ठाउँको रचना
गरिएका छन्, कि ठुलो पार्ने
उपकरणले हेर्दा पनि सानोभन्दा सानो अनियमितालाई पनि पत्ता लगाउन सकिँदैन । प्रत्येक अध्यायको सुरुआतमा पहिलो अक्षर निकै
ठुलो छ, अर्थात् दुईदेखि तिन
इन्चसम्म लामो । यसलाई रातो र कालो मसीले चम्किलो पारेको छ । त्यसपछि त्यस
अध्यायमा वर्णित कुनै सन्त वा घटनालाई उक्त अक्षरभित्रका खाली ठाउँहरूमा चित्रमा
उतारिएको छ ।
किँवदन्तीअनुसार घोर अपराध गर्ने एक जना जवान मानिस सन्यासी बने, अनि तिनले धर्मशास्त्रको प्रतिलिपि गर्ने निधो
गरे, ताकि ईश्वरीय आज्ञाहरूका
प्रत्येक अक्षरहरूलाई तिनले जान्न सकून् । कैयौँ वर्षसम्म यस गहन अनुशासनभित्र
तिनले आफैलाई होमे, अनि हरेक
अक्षरलाई प्रेम र आदरसहित लेखे । जब तिनले आखिरी अक्षरलाई लेखी सिद्धयाए (जति
बेलासम्म तिनी वृद्ध भइसकेका थिए) तब त्यस पृष्ठलाई चुम्बन गरी तिनले आफ्नो काम फत्ते गरे ।
(नोट: यो रोचक प्रसङ्ग कमल अधिकारीको प्रेरक
प्रसङ्गहरू नामक तेस्रो कृतिबाट साभार गरिएको हो ।)