रोबर्ट मोफाट उन्नाइसौँ शताब्दीमा अफ्रिकामा मिसनरी भएर जाने प्रभुका साहसिला सेवक हुन् । तिनी विश्वविख्यात मिसनरी डेभिड लिभिङ्गस्टोनका ससुरा थिए । दक्षिण अफ्रिकामा ५० वर्षभन्दा बेसी समय बिताएका मोफाटले उक्त देशको बेखुनास नामक आदिवासीको भाषामा बाइबललाई अनुवाद गरेका थिए ।
तिनले जुन ठाउँमा सुसमाचार
लिएर गएका थिए, त्यहाँ अफ्रिकानर नाउँ गरेको एक डरलाग्दो हत्यारा
थियो । ऊ यति हिंसक थियो कि दक्षिण अफ्रिकी सहर केप टाउनका गभर्नरले उसलाई जीवित
वा मृत फेला पारेको खण्डमा झन्डै पचार हजार नेपाली रुपियाँ बराबरको धनराशी उपहार दिने घोषणा गरेका थिए । अफ्रिकानर र
त्यसका मानिसहरू दक्षिण अफ्रिकाको त्रास बनेका थिए ।
जब रोबर्ट मोफाट अफ्रिकानरको जातिको लागि मिसनरी भई गए, केप टाउनका
मानिसहरूले तिनी जिउँदै फर्केर आउँछन् भनी कहिल्यै अपेक्षा गरेनन् । त्यसले
मोफाटको खप्परलाई चिया पिउने भाँडो बनाउनेछ भनी सहरका मानिसहरूले बताए ।
तर मोफाटले परमेश्वरमाथि दृढ भरोसा राखे । तिनले उक्त जङ्गली जातिको बिचमा
साहसपूर्वक सुसमाचारीय सन्देश बाँडे । उदेकको कुरो के भयो भने त्यही हत्यारा नै पहिलो विश्वासी बन्यो । पछि मोफाटले उसलाई आफूसितै
केप टाउनमा लगे । त्यो हिंसक जङ्गली हत्यारालाई नम्र ख्रीष्टियान व्यक्तिमा
परिवर्तन भएको देखेर उपनिवेशी शासकले आश्चर्य मान्दै भने, “कस्तो आश्चर्यकर्म ! यो त संसारको आठौँ आश्चर्य हो ।”