“म जवान ठिटो हुँदा मैले पहिलो पटक ख्रीष्टको जीवनीलाई गम्भीरतापूर्वक
अध्ययन गर्न थालेँ । उहाँको इतिहास निकै असुरक्षित जगहरूमा निर्मित छ भन्ने दृढ निश्चयतासाथ अगाडि
बढेँ म ।”
अनुसन्धानपश्चात् येशूको पुनरुत्थानलाई इतिहासको एउटा वास्तविक घटनाको
रूपमा देख्ने फ्र्याङ्क मोरिसनले आफ्नो कृति (हु मुभ्ड द
स्टोन ?) मा लेखेको अंश हो यो ।
फ्र्याङ्क मोरिसन विज्ञान र “आश्चर्यकर्महरू हुँदैनन्”
भन्ने विकासवादका पक्षपोषक थोमास हक्स्लेको अवधारणका कट्टर
अनुयायी थिए । तथापि तिनी येशूको व्यक्तित्वका प्रशंसक पनि थिए । येशूको जीवनीका आखिरी
दिनहरूको बारेमा तिनले आफ्नै व्यक्तिगतसाथै ऐतिहासिक अनुसन्धान गर्ने जमर्को गरे ।
बिसौँ शताब्दीको पूर्वार्द्धमा यी ब्रिटिस
लेखकले येशूको पुनरुत्थानसम्बन्धी स्रोतहरूलाई विष्लेषण गरी तिनी जिसस— द लास्ट फेज (येशू— आखरी चरण) नामक शीर्षकमा एउटा सङ्क्षिप्त दस्तावेज लेख्न कस्सिए । लेख्नुको उद्देश्य थियो— येशूको पुनरुत्थानलाई काल्पनिक कथाको रूपमा पुष्टि गर्नु । मरेको मान्छे बिउँतेर आउन सक्छ भन्ने
अन्धविश्वासलाई यस कृतिले सधैँका लागि निर्मूलन पार्छ भन्ने
तिनको विश्वास थियो । तिनले आफूलाई चाहिने सामग्रीहरू
बटुले अनि लेख्न थाले । तर तिनले जे कुरो प्रमाणित गर्न खोजिरहेका थिए, स्रोतहरूले ठिक विपरीत
दिशातिर लैजाँदै थिए तिनलाई ।
अन्ततः येशू ख्रीष्ट वास्तवमै पुनरुत्थान हुनुभएको थियो भन्ने तथ्यमा तिनी
विश्वस्त हुन पुगे । परिणामस्वरूप तिनले येशूलाई मुक्तिदाताको
रूपमा अङ्गाले । ती जम्मा भएका स्रोतहरूलाई प्रयोग गरी येशू ख्रीष्टको
पुनरुत्थानको पक्षमा तिनले तार्किक रूपमा एउटा
गतिलो पुस्तक लेखे जसको नाउँ हो—
हु मुभ्ड द स्टोन ?
लेखकको आफ्नै दाबीअनुसार यो लेख्न इन्कार गरिएको पुस्तक थियो । ख्रीष्टाब्द १९३० मा
पहिलो पटक प्रकाशित र ख्रीष्टाब्द २००६
सम्ममा आइपुग्दा दस पटक पुनः मुद्रित यस पुस्तकलाई पढेर धेरै मानिसहरू
ख्रीष्टियान भएका छन् ।