menu bar

Saturday, December 3, 2016

नेपाली भाषामा बाइबल कसरी आइपुग्यो ?



कानुनी रूपमा प्रकाशित पहिलो अङ्ग्रेजी बाइबलको नाउँ महान् बाइबलहो । ख्रीष्टाब्द १५३९ मा छापिएको यस बाइबल प्रकाशनको पृष्ठभूमि निकै रोचक छ । त्यसबेला हेन्री आठौं इङ्गल्याण्डका राजा थिए, जो असल थिएनन् । आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरी आफ्नो घरमा नोकर चाकरहरूको हेरचाह गर्ने स्त्रीसँग बिहा गर्न पाऊँ भनी राजाले पोपसँग अनुरोध गरे । पोपले अनुमति दिएन । राजा हेन्रीले उक्त स्त्रीसँग बिहे गरी पोपलाई जवाफ दिए । र, रोमको धार्मिक नियन्त्रणबाट इङ्गल्याण्डलाई मुक्त गरी आफूले रोमन क्याथोलिक धर्म त्यागेको राजाले घोषणा गरे । राष्ट्रप्रमुख र मण्डलीको नयाँ अगुवाको रूपमा राजाले आफैलाई प्रस्तुत गरे । पोपको रूपमा राजाले काम गर्न थाले । त्यस समयमा रोमले अङ्ग्रेजी भाषामा बाइबल छाप्न निषेध गरेको थियो । तर, अङ्ग्रेजी भाषामा धर्मशास्त्र छाप्नलाई आर्थिक सहयोग गरी रोमका इच्छाहरूलाई खुल्लमखुल्ला विरोध गर्नु नै तिनको पहिलो काम बन्यो । परिणामतः कानुनी रूपमा मान्यता प्राप्त पहिलो अङ्ग्रेजी बाइबल छापियो । परमेश्वरले आफ्नो महिमा ल्याउनको लागि मानिसका दुष्ट अभिप्रायहरूलाई पनि प्रयोग गर्नुहुन्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।

कुनै विषयलाई एक भाषाबाट अर्को भाषामा गरिने रूपान्तर, उल्था, भाषान्तरण नै अनुवाद हो ।1 हिब्रू, आरमेइक र ग्रीक गरी बाइबललाई तीन ओटा मूल भाषामा लेखिएको थियो । तर, यूनाइटेड बाइबल सोसाइटी (ख्रीष्टाब्द) २००८) अनुसार अहिले २५०८ भाषामा बाइबल अनुवाद भइसकेको छ ।2 वास्तवमा बाइबल अनुवादको इतिहास अत्यन्त आकर्षक छ । मान्छेले आफ्नै भाषामा बाइबललाई पढ्न सकून् भन्ने हेतुले बाइबललाई मूल भाषाबाट अन्य भाषामा रूपान्तर गर्दाका कथाहरूले हाम्रा आँखामा आँसुका भेल ल्याइदिन्छन् । बाइबल आज हाम्रो भाषामा सजिलैसँग आइपुगेको छैन । अनुवादको क्रममा कैयौंले जेल जीवन बिताउनु पर्‍यो, कैयौं देश निकाला हुनुपर्‍यो भने कैयौंले ज्यानै गुमाउनुपर्‍यो ।

१. ख्रीष्टपूर्वमा बाइबल अनुवादको इतिहास
धेरै वर्षअगि संसारमा एउटै मात्र भाषा थियो । हरेकले विचार आदानप्रदान गर्नको लागि उही भाषा प्रयोग गथ्र्यो । तर, यस अवसरलाई मानिसहरूले परमेश्वरको विद्रोहको लागि प्रयोग गरेकाले विभिन्न भाषाहरूको जन्म हुन पुग्यो । बाबेल भन्ने ठाउँमा परमेश्वरले विभिन्न भाषाहरूको सृजना गर्नुभयो (उत्पत्ति ११ अध्याय) । आज संसारमा लगभग ७००० भाषा छन् । 

यहूदीहरू पहिलो पटक बेबिलोनी निर्वासनमा लगिँदा (६०५ ख्रीष्टपूर्व) जब आरमेइक तिनीहरूको सम्पर्कको भाषा बन्यो, तब पञ्चग्रन्थलाई पहिलो पटक आरमेइक भाषामा अनुवाद गरियो ।3 यस अनुवादलाई तर्गुम भनेर चिनिन्छ । त्यस समयमा धेरै यहूदीहरू हिब्रू नबुझ्ने भइसकेका थिए । सभाघरमा पढ्दा सर्वसाधारणले पनि बुझ्न सकियोस् भन्ने हेतुले यसलाई आरमेइक भाषामा अनुवाद गर्नु परेको थियो ।

पुरानो करार मूलत: हिब्रू भाषामा लेखिएको थियो । तर, अलेक्ज्याण्डर महान् (३५६-३२३ ख्रीष्टपूर्व) को समयदेखि भूमध्यसागरका वरिपरिका क्षेत्रहरूमा ग्रीक सम्पर्कको भाषाको रूपमा स्थापित हुन पुग्यो । तसर्थ, पुरानो करारलाई ग्रीकमा अनुवाद गर्नुपर्ने अवस्थाको सृजना भयो । करिब २५० ख्रीष्टपूर्वमा पुरानो करारको बाइबललाई ग्रीक भाषामा अनुवाद गरियो, जसलाई सेप्टुजिन्ट भनेर चिनिन्छ । यो नै ग्रीक भाषामा अनुवाद गरिएको प्राचीनतम बाइबल हो । नयाँ करारका लेखकहरूले यही बाइबलबाट प्रचुर मात्रामा उधृत गरे । 

२. ख्रीष्टाब्दमा बाइबल अनुवादको इतिहास 
करिब ख्रीष्टाब्द १८० बाट नयाँ करारको ग्रीक बाइबल ल्याटिन, सिरिया, काप्टीक भाषामा अनुवाद गरिन थालियो । करिब ख्रीष्टाब्द ३८० मा जेरोमले पुरानो करारलाई हिब्रू भाषाबाट र नयाँ करारलाई ग्रीक भाषाबाट ल्याटिन भाषामा अनुवाद गरे । यस अनूदित बाइबललाई ल्याटिन भल्गेटभनेर चिनिन्छ । सुधारवादको जन्मसम्म ल्याटिन भल्गेट नै पश्चिमी मण्डलीको बाइबल बन्यो । बाइबलका अन्य प्रारम्भिक अनुवादहरूमा आर्मेनिया, जर्जिया, इथियोपिक, स्लाभिक र गोथिक आदि पर्छन् । ख्रीष्टाब्द ५०० सम्म आइपुग्दा बाइबल ५०० भन्दा बढी भाषामा अनुवाद भइसकेको थियो । ख्रीष्टाब्द ६०० बाट बाइबललाई अनुवाद गर्न दिइएन र बाइबल अनुवादको क्षेत्रमा कालो दिनको आरम्भ भयो । ल्याटिन भल्गेटलाई लोकप्रिय बनाइयो र ल्याटिन भल्गेट मात्रै मण्डलीमा प्रयोग गरिनुपर्ने नीति क्याथोलिक मण्डलीले ल्यायो । इतिहासको यस कालो समयमा रोमन क्याथोलिक मण्डली मात्रै मान्यता प्राप्त गरेको मण्डली थियो । ल्याटिनभन्दा अन्य भाषामा बाइबल उपलब्ध हुनुहुँदैन भनी क्याथोलिक मण्डलीले बतायो । गैरल्याटिन भाषामा बाइबल हुनेहरू मृत्युदण्डको सिकार हुन्थे । त्यस समयमा पादरीहरू मात्र ल्याटिन बुझ्थे । पादरीहरूले आफ्नै तरिकाले बाइबलका वचनहरूलाई अर्थ खोली सर्वसाधारणलाई ठग्न सकियोस् भन्ने हेतुले बाइबल अनुवादमा रोक लगाएको कुरा बुझ्न सकिन्छ । यसरी मण्डली पछिल्ला १००० वर्षसम्म अन्धकारमा प्रवेश गर्‍यो । मण्डली इतिहासमा यसलाई अन्धकारको युग भनेर चिनिन्छ ।

३. अङ्ग्रेजी बाइबल अनुवादको इतिहास
ख्रीष्टाब्द १३८० मा सुधारवादको बिहानको ताराभनेर चिनिने जोन विक्लिफले पहिलो पटक बाइबललाई अङ्ग्रेजी भाषामा अनुवाद गरे । तिनी अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक, विद्वान् र ईश्वरशास्त्री थिए । विक्लिफले ल्याटिन भाषाबाट अङ्ग्रेजीमा रूपान्तर गरेका थिए किनकि त्यस समयमा तिनको लागि उपलब्ध स्रोत भनेकै ल्याटिन मात्रै थियो । विक्लिफको शिक्षा र अङ्ग्रेजी भाषामा तिनको अनुवाददेखि पोप यति रिसाएका थिए कि विक्लिफको मृत्युको ४४ वर्षपछि तिनका हड्डीहरू निकाली तिनलाई चकनाचुर पारी नदीमा फ्याँकिदिने आदेश दिए पोपले ।

जोन विक्लिफका एक अनुयायीको नाउँ हो, जोन हस । मानिसहरूले आफ्नै भाषामा बाइबल धर्मशास्त्रलाई पढ्नुपर्छ भन्ने विक्लिफको अवधारणालाई जोन हसले सक्रियतापूर्वक बढवा दिए । तर, विक्लिफले तयार गरेका बाइबलका पाण्डुलिपिहरूमा आगो लगाई ख्रीष्टाब्द १४१५ मा जोन हस जिउँदै जलाइए । मर्ने बेलामा तिनका अन्तिम वचनहरू यस्ता थिए, “१०० वर्षमा परमेश्वरले एउटा यस्तो मान्छेलाई उठाउनुहुनेछ जसको सुधारको अपेक्षालाई दबाउन सकिँदैन ।झण्डै ठीक १०० वर्षपछि ख्रीष्टाब्द १५१७ मा मार्टिन लुथरले विटेनवर्ग मण्डलीको ढोकामा ९५ ओटा शोधग्रन्थ टाँस्दा हसको भविष्यवाणी पूरा भयो । जर्मनहरूका सामान्य बोलचालको भाषामा बाइबल अनुवाद गर्ने र छाप्ने पहिलो व्यक्ति पनि मार्टिन लुथर नै थिए ।

१४५० को दशकमा छापाखानाको आविष्कार भएपछि बाइबलको फैलावटमा क्रान्ति आयो । पहिलो पटक छापिएको पुस्तक पनि ल्याटिन भाषाको बाइबल नै थियो । छापाखानाको आविष्कारक जोहानन गुटेनवर्ग भने गरिबीको चपेटामा धकेलिए । तथापि, छापाखानाको आविष्कार हुनु भनेको थोरै समयमा ठूलो परिमाणमा बाइबलसाथै अन्य पुस्तकहरू निकाल्न सक्नु थियो । सुधारवादको सफलताको लागि यो आविष्कार अपरिहार्य थियो ।

सुधारवादको सँगारसम्म आइपुग्दा ल्याटिन भाषाको बाइबल यति विकृत बनाइएको थियो कि साँचो भन्नुपर्दा यसलाई परमेश्वरको वचन नै भन्न नसकिने अवस्थामा थियो । ख्रीष्टाब्द १५१६ मा जोन फ्रोबेनको सहायताद्वारा इरास्मसले द्विभाषिक नयाँ करार (एक स्तम्भमा ग्रीक र अर्को स्तम्भमा ल्याटिन) प्रकाशित गरे । यही नै ग्रीक भाषामा छापिएको पहिलो बाइबल हो ।

नयाँ करारलाई अङ्ग्रेजी भाषामा छाप्ने पहिलो व्यक्तिको रूपमा अन्धकारका राजकुमार विलियम टिण्डेललाई चिनिन्छ । ख्रीष्टाब्द १५२६ मा तिनले यसलाई छापेका थिए । टिण्डेल यति साँचा प्रतिभा थिए कि आठ ओटा भाषा आफ्नै भाषा जस्तै गरी तिनी बोल्न सक्थे । तिनलाई अङ्ग्रेजी भाषाको कालिगढको रूपमा प्राय: उल्लेख गरिन्छ ।   
   
ख्रीष्टाब्द १६११ मा हिब्रू र ग्रीक मूल भाषाबाट अङ्ग्रेजीमा किङ्ग जेम्स भर्सन छापियो । लामो समयसम्म यसले लोकप्रियता पायो । र, आजको दिनसम्म पनि यसको लोकप्रियता गुमेको छैन । आज अङ्ग्रेजी भाषामा मात्रै ५०० भन्दा बढी संस्करण विद्यमान छन् ।

४. नेपाली बाइबल अनुवादको इतिहास
नेपाली भाषामा बाइबल अनुवाद गर्ने प्रथम व्यक्ति विलियम केरी हुन् । तिनले ख्रीष्टाब्द १८२० मा भारतको बङ्गालमा नयाँ करारलाई अनुवाद गरेका थिए । ब्रिटिस एण्ड बाइबल सोसाइटीको प्रयासमा पाद्री गंगाप्रसाद प्रधानको मुख्य भूमिकामा पूरै बाइबललाई ख्रीष्टाब्द १९१४ मा नेपाली भाषामा प्रकाशित गरियो । गंगा प्रसादको नेपाली बाइबलले नेपाली भाषा बुझ्ने धेरै नेपालीहरूलाई प्रभुमा डोर्‍याउन मद्दत गर्‍यो । बि.सं. २००९ सालमा नेपाली बाइबलको संशोधनको जिम्मा भारत बाइबल सोसाइटीले लिई २०३४ सालमा उसले पूरै बाइबल प्रकाशित गर्‍यो । २०३४ (ख्रीष्टाब्द १९७७) मा नेपालमा पनि बाइबल सोसाइटीको स्थापना भयो र बाइबल अनुवाद गर्ने र संशोधन गर्ने जिम्मा उसको काँधमा आयो । त्यस समयदेखि नेपाल बाइबल सोसाइटीले संशोधनको काम गर्न थालेको छ । नेबासोका अतिरिक्त रोमन क्याथोलिकले पनि पूरै बाइबललाई ख्रीष्टाब्द १९९९ मा नेपालीमा प्रकाशन गर्‍यो । एल-शद्दाइको नयाँ नियम” (ख्रीष्टाब्द १९९३), इन्टरनेशनल बाइबल सोसाइटीको नयाँ नेपाल बाइबल संस्करण” (१९९८) र पृथ्वी बाइबल अनुवाद संघको प्रेम, आनन्द, शान्ति” (१९९९) नामक नेपाली भाषामा अनूदित बाइबलहरू पनि प्रकाशित भइसकेका छन् ।4

परमेश्वरले आफ्नो काम आज पनि सक्रियतापूर्वक गरिरहनुभएको छ । अनुवाद उहाँको काम गर्ने एउटा तरिका हो । आज संसारमा लगभग ७ हजार भाषा छन् । तर, यो खुसीको कुरो हो कि संसारका झण्डै ९८ प्रतिशत मानिसहरूले बाइबललाई पूरा वा आंशिक रूपमा आफ्नै भाषामा पढ्न पाएका छन् । केही वर्षभित्रै हरेक मानिसले बाइबललाई आफ्नै भाषामा पढ्न पाउनेछन् भन्ने कुरामा कुनै शङ्का छैन । मानिसहरूले आफ्नै भाषामा पवित्र धर्मशास्त्र बाइबललाई पढ्न पाउनुपर्छ भन्ने जोन विक्लिफको इच्छा परमेश्वरले पूरा गर्नै लाग्नुभएको छ ।

सन्दर्भ सामग्रीहरू:

  1. हेमाङ्गराज अधिकारी र बद्रीविशाल भट्टराई, प्रयोगात्मक नेपाली शब्दकोश
  2. यूनाइटेड बाइबल सोसाइटी (२००८), विकीपिडीयामा Bible translations by language नामक शीर्षकबाट उधृत ।
  3. विकीपिडीयामा Bible translations नामक शीर्षकबाट उधृत ।
  4. नेपाली बाइबल अनुवादको इतिहास उपशीर्षक अन्तर्गत रहेका सबै जानकारीहरू नेपाली बाइबल शब्दकोश (काठमाडौं: सामदान प्रकाशन, २०००) बाट लिइएका हुन् ।

(नोट: यो आलेख कमल अधिकारीद्वारा लिखित प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू नामक पुस्तकबाट साभार गरिएको हो ।)



Leave Your Comments Here.


Friday, December 2, 2016

येशू कन्याबाट जन्मनुभएको थियो भन्नाका लागि ४ ओटा साक्षी


सीएनएनद्वारा प्रसारण हुने ल्यारी किङ्ग लाइभ नामक कार्यक्रम सीएनएनको सबैभन्दा लामो समयसम्म चलेको र सबैभन्दा बेसी हेरिएको कार्यक्रम हो । ख्रीष्टाब्द १९८५-२०१० सम्म चलेको यस कार्यक्रमलाई हरेक रात १० लाखभन्दा बढी दर्शकले हेर्ने गर्थे । यस कार्यक्रमका सञ्चालक ल्यारी किङ्गलाई एक पटक सोधियो, “सारा इतिहासबाट कुनै एक जना व्यक्तिलाई अन्र्तवार्ताको लागि तपाईंले रोज्न पाउनुभयो भने सबैभन्दा बढी तपाईं कसको चाह गर्नुहुन्छ ?” तिनले उत्तर दिए, “येशू ख्रीष्ट ।प्रश्नकर्ताले पुन: प्रश्न गर्‍यो, “तपाईं कुनचाहिँ प्रश्न सोध्न चाहनुहुन्छ ?” किङ्गले उत्तर दिए, “उहाँ वास्तवमै कन्याबाट जन्मनुभएको थियो वा थिएन भनी सोध्न चाहन्छु । मेरो लागि यस प्रश्नको उत्तरले इतिहासलाई परिभाषित गर्छ ।निस्सन्देह, इतिहासका अत्यधिक महत्त्वपूर्ण र जटिल प्रश्नहरूमध्ये येशूको कन्याबाटको जन्म पनि एक हो । उहाँबारे हाम्रो दृष्टिकोणले हाम्रो जिउने शैलीमा मात्र बद्लाउ ल्याउँदैन, तर भावी गन्तव्यको पनि निधो गर्छ । 

बाइबलीय विवरणअनुसार पवित्र आत्माको अलौकिक हस्तक्षेपद्वारा येशू कन्या मरियमको गर्भममा आश्चर्यमय ढङ्गमा गर्भधारण हुनुभयो र मरियम कन्या छँदा नै उनले येशूलाई जन्माइन् ।

अठारौँ शताब्दीअगि केही गौण पन्थहरूद्वारा बाहेक यस शिक्षालाई गम्भीर रूपमा चुनौती दिइएको थिएन । तरै पनि हिजोआज केही विद्वान्हरूले बाइबल धर्मशास्त्रको यस स्पष्ट शिक्षालाई आदि मण्डलीले विकास गरेको किँवदन्तीको रूपमा हेर्न थालेका छन् । तर तिनीहरूको इन्कारको आधार पर्याप्त ऐतिहासिक साक्षी नभई आश्चर्यकर्महरू असम्भव छन् भन्ने पूर्वाग्रहमा आश्रित छ । के एउटा तार्किक दिमागले येशू वास्तवमै कन्याबाट जन्मनुभयो भनी विश्वास गर्न सक्छ ? यस पङ्क्तिकारको दाबी छ कि हामीले यसमाथि विश्वास गर्दा हामी मध्यकालीन धर्मान्ध हुँदैनौँ । येशू कन्याबाट जन्मनुभयो भन्ने बाइबलको दाबीलाई ऐतिहासिक आधारमा प्रस्ट पार्न खोज्नु नै यस आलेखको मुख्य आशय हो ।

१. आदि मण्डली पिताहरूका साक्षी
ख्रीष्टाब्द ११० मा एन्टिओखियाका बिशप इग्नेसियसले लेखे, “हाम्रा परमेश्वर येशू ... पवित्र आत्माद्वारा ... मरियमको कोखमा गर्भधारण हुनुभयो ।स्मरण रहोस्, इग्नेसियस येशूका चेला प्रेरित यूहन्नाका विद्यार्थी थिए । इग्नेसियसले यो जानकारी आºना गुरुबाट पाएका थिए । अर्का लेखक अरिस्तिदेसले ख्रीष्टाब्द १२५ मा कन्याबाटको जन्मको बारेमा यसरी लेखेका छन्, “उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो । ... शरीरअनुसार उहाँ हिब्रू कन्या मरियमबाट जन्मनुभयो ।

२. आदि यहूदी साक्षी
कन्याबाटको जन्मको सम्बन्धमा नकारात्मक तर्कहरू पनि छन् । यस्तो अवधारणा मूलत: यहूदीहरूले रचेका हुन् । यस तर्कलाई कुनै पनि हालतमा नकारात्मक रूपमा नबुझ्न यस सिकारु पाठक (खास गरी ख्रीष्टियान पाठक) लाई विनम्र अनुरोध गर्दछ । यो तर्कलाई यहाँ उल्लेख गर्नुको उद्देश्य यति मात्र हो कि मण्डलीको प्रारम्भिक दिनहरूमा नै येशूको जन्मको प्रकृतिबारे बाहिरी विवादको उदय भैसकेको थियो र त्यस्तो विवादको आरम्भ हुनुको कारण मण्डलीले उहाँको आश्चर्यपूर्ण जन्मको बारेमा सिकाउँदै आएको थियो भनी बुझाउन खोज्नु हो । 

पान्थेरा नाउँ गरेको सिपाहीसँग मरियम व्यभिचारमा फसेकी थिइन् र परिणाम स्वरूप येशूको जन्म भएको थियो भनी येशूको जन्मलाई लौकिक आँखाले बुझ्ने प्रयास गरेका थिए, यहूदीहरूले । येशूलाई तिनीहरूले व्यभिचारमा जन्मेको छोरोको रूपमा चित्रण गर्न थाले । यहूदीहरूका रचनाहरूमा यस शिक्षालाई सिकाइएको छ । तर संसारमा यस्तो असाधारण प्रभाव पार्नुहुने व्यक्ति यसरी जन्मनुभएको थियो भनी कल्पना गर्नु तर्कसङ्गत हुन्छ र ? कुनचाहिँ जन्म उहाँको जीवनी, चरित्र, प्रभावसँग मेल खान्छअवैध वा अलौकिक ? ख्रीष्टाब्द ७० अगि नै ख्रीष्टको जन्मबारे भएको तथाकथित अवैध कथाले उहाँको आश्चर्यपूर्ण जन्मलाई टेवा दिन्छ । येशूको मृत्युदेखि ४० वर्ष पनि बित्न नपाउँदै आदि मण्डलीले उहाँको अलौकिक जन्मलाई सिकाउँदै आएको थियो भनी यस नकारात्मक तर्कले प्रमाणित गर्छ । बिसौँ शताब्दीका विख्यात बाइबल विद्वान् रेमोन्ड ई. ब्राउनले बताएका छन् कि पान्थेराको कथा येशूको जन्मको विषयमा भएको काल्पनिक व्याख्या हो जसमा थोरै मात्र ऐतिहासिक साक्षी छन् । 

३. कुरआनको साक्षी
येशू (अरबीमा ईसा) मरियमका पुत्र हुनुहुन्थ्यो र उहाँ कुनै पनि मानवीय पिताको संलग्नताविना नै जन्मनुभयो भनी मुस्लिमहरू विश्वास गर्छन् । इस्लामी धर्मशास्त्र कुरआनमा येशूलाई पटक-पटक मरियमका पुत्र भनिएको छ । साधारणतया छोरोको नाउँ बुबासँग मात्र जोडिन्थ्यो, आमासँग होइन । तर किन येशूलाई मरियमका पुत्र भनियो त ? उत्तर प्रस्ट छ कि उहाँको कुनै मानवीय बुबा हुनुहुन्थेन । इस्लामिक टिप्पणीकार लेख्छन्, “इस्लाम धर्ममा येशूलाई कन्या मरियमको पुत्रको रूपमा हेरिन्छ जो परमेश्वरको सृजनात्मक वचनद्वारा जन्मनुभयो ।

४. परमेश्वरको शक्तिको साक्षी
येशूको कन्याबाटको जन्मको विरुद्धमा प्राय: अगाडि सारिएको तर्क होयो जीवशास्त्रीय दृष्टिकोणबाट असम्भव छ । त्यस बेला मानिसहरूको अज्ञानताको कारणले मात्र यसलाई स्वीकार गरिएको थियो भनी यसका आलोचकहरू दाबी गर्छन् । आश्चर्यकर्महरू असम्भव छन् भन्ने अवधारणा प्राय: प्रकृतिवादी दृष्टिकोणबाट आउँछ । दृढ प्रकृतिवादले अलौकिकताको कुनै पनि सङ्केतलाई पूर्णत: खारेज गर्छ । तिनीहरूको बुझाइमा केवल शून्यता र परमाणु अस्तित्वमा छन् । यदि प्रकृतिवादीहरू सही छन् भने कन्याबाटको जन्मलगायत कुनै पनि आश्चर्यकर्म असम्भव हुन्छ । प्रकृतिवादको खण्डन गर्नु यस आलेखको आशय नभएकोले यहाँ यति मात्र भन्नु पर्याप्त हुन्छ कि वैयक्तिक सृष्टिकर्ता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्नाका लागि अधिक वैज्ञानिक साक्षीहरू छन् । सारा विश्वलाई शून्यताबाट सृष्टि गर्न सक्नुहुने परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ भने उहाँको लागि एउटा कन्याको कोखमा येशूको गर्भधारण गराउनु मामुली कुरो होइन र ? चिरपरिचत बाइबल रक्षाशास्त्री विलियम लेन क्रेगले उचित निष्कर्ष निकालेका छन्, “मेरो आºनै विषयमा भन्नुपर्दा, मलाई विश्वासमा आउनको लागि कन्याबाटको जन्म एउटा मुख्य अवरोध भएको थियो । यस्तो कुरो म विश्वास गर्न सक्दिनथेँ । तर परमेश्वरले सारा विश्वको सृष्टि गर्नुभयो भन्ने तथ्यमाथि जब मैले मनन गर्न थालेँ तब एउटी स्त्रीलाई गर्भवती बनाउन उहाँको निम्ति कठिन कुरो थिएन । जब एउटा गैरख्रीष्टियानले परमेश्वर को हुनुहुन्छ भनी बुझ्दछ तब आश्चर्यकर्महरूको समस्या उसको निम्ति समस्या हुन छोड्दछ ।

यसरी यी विभिन्न साक्षीहरूलाई नियाल्दा हामी न्यायसङ्गत रूपमा भन्न सक्छौँ कि नयाँ करारका लेखकहरूले कन्याबाटको जन्मको बारेमा जुन विवरण प्रस्तुत गरे त्यो विकसित किँवदन्ती वा गैरख्रीष्टियान समुदायबाट सापट लिइएको कुनै कपोलकल्पित कथा नभएर एउटा ऐतिहासिक सत्यता थियो । येशूको मिसनको लागि मानव-जातिको इतिहासमा यस्तो प्रवेश अपरिहार्य थियो । सृष्टिवादी वैज्ञानिक हेन्री मोरिसको विवेकशील भनाइसँगै हामी यसलाई निष्कर्षमा ल्याउछौँ, “कन्याबाटको जन्मलाई बाइबलमा स्पष्टत: सिकाइएको कारणले गर्दा मात्रै यो साँचो भएको होइन, तर येशू ख्रीष्टको चरित्रसाथै मिसन अनि पतित संसारको निम्ति उद्धारबारे भएको परमेश्वरको महान् योजनासित यो तादात्म्य भएकोले पनि यो साँचो भएको हो ।




Leave Your Comments Here.


Thursday, December 1, 2016

येशू यस धरतीमा आउनुका ९ ओटा कारण


आजभन्दा दुई हजार वर्षअगाडि येशूको जन्म संयोग थिएन । उहाँ खास उद्देश्यहरू लिएर यस धरतीमा आउनुभयो । उहाँले देह धारण गर्नुका मनग्गे कारणहरू छन् । यहाँ ओटा कारणलाई सङ्क्षिप्त व्याख्यासहित प्रस्तुत गरिएका छन् । 

१. मानव-जातिको पापको लागि मर्न
येशूले स्पष्टतः भन्नुभयो, “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो” (मत्ती २०:२८) । येशू यस ग्रहमा जन्मनुका धेरै कारणहरूमध्ये निश्चय नै यो प्राथमिक हो । धेरै वर्षअगि आदमले पापलाई यस ग्रहमा भित्र्याएका थिए । फलतः प्रत्येक मानिस पापमा नै जन्मने भयो । पापी मानिसद्वारा पापी मानव-जातिको उद्धार असम्भव भएकोले एक जना सिद्ध मानिस यस धरतीमा आउनैपथ्र्यो । येशू अलौकिक रूपमा जन्मनुभयो र उहाँले सिद्ध जीवन जिउनुभयो । मानव-जातिको लागि मर्न उहाँ योग्य व्यक्ति हुनुहुन्थ्यो ।

२. पुरानो करारको व्यवस्था पुरा गर्न
डाँडाको उपदेशमा येशूले भन्नुभयो, “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ ।  म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ” (मत्ती ५:१७) । पुनरुत्थान हुनुभएपछि येशूले चेलाहरूलाई बताउनुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका कुराहरू यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरा विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ” (लूका २४:४४) । पुरानो करारले वर्षौंदेखि एक जना मसीहको अपेक्षा गरेको थियो जसको विषयमा कैयौँ भविष्यवाणीहरू गरिए । येशू नै त्यो मसीह हुनुहुन्थ्यो ।   

३. सत्यको गवाही दिन 
प्रभु येशूलाई गिरफ्तार गरी जाँचपडतालको लागि बडाहाकिम पिलातसको सामु उभ्याइयो । येशू नै राजा हुनुहुन्छ त ? भन्ने पिलातसको प्रश्नमा उहाँले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ । यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ । प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर सुन्छ” (यूहन्ना १८:३७) । 

४. शैतानका कामहरू नष्ट पार्न
नयाँ करारका पाँच ओटा पुस्तकका लेखकसाथै येशूका चेला यूहन्ना लेख्छन्, “जसले पाप गर्छ त्यो दियाबलसको हो । किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ । दियाबलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो” (१ यूहन्ना ३:८) । दियाबलस शैतानका नाउँहरूमध्ये एउटा हो । उहाँको आगमनले शैतानका कामहरू नष्ट पार्‍यो भन्नुको अर्थ त्यो पूर्णतः निष्क्रिय छ भन्नु होइन । पराजित शत्रुको रूपमा त्यसको असफल प्रयास अझै जारी छ (१ पत्रुस ५:८) ।   

५. पापीहरूलाई उद्धार गर्न
प्रेरित पावलद्वारा तिमोथीलाई लेखिएको पहिलो पत्रमा भनिएको छ, “यो वचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ” (१ तिमोथी १:१५) । पापले मानिसलाई पापी बनाएको थियो । उसले नरक साँचेको थियो तर परमेश्वरले आफ्नो अपार कृपामा उसलाई त्यस भयानक दण्डबाट उद्धार गर्न आफ्नो पुत्र येशूलाई यस संसारमा पठाउनुभयो ।

६. हाम्रो निम्ति उदाहरण बन्न
येशूका चेला पत्रुसले आफ्ना पाठकहरूलाई लेखेका छन्, “किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ । ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ” (१ पत्रुस २:२१) । सम्पूर्ण मानव इतिहासमा हाम्रो जीवन यापनको लागि येशूभन्दा उत्तम नमुना अर्को को हुन सक्छ ?   

७. विश्वसनीय प्रधान पूजाहारी बन्न
हिब्रूका लेखक येशूको बारेमा लेख्छन्, “यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाइहरूजस्तै बनाइनुपर्‍यो, र मानिसहरूका पापको प्रायश्चित्त गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पूजाहारी बन्नुभयो” (हिब्रू २:१७) । येशूले मानवीय चोलामा दु:खहरू भोग्नुभएकोले (हिब्रू ४:१४-१६) प्रधान पूजाहारीको रूपमा उहाँले हाम्रा कठिनाइहरूलाई पिताको सामु टक्र्याउनुहुन्छ । 

८. हराएकाहरूलाई खोज्न
येशूले पुड्को जखायसलाई भन्नुभयो, “किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो” (लूका १९:१०) । जखायस हराएकाहरूमध्ये एक थिए । तिनीजस्तै हराएकाहरू येशूको समयमा धेरै थिए र आज पनि धेरै छन् । 

९. मानव-जातिलाई प्रशस्तताको जीवन दिन
येशू प्रशस्तताको जीवनदाता हुनुहुन्छ जस्तो उहाँले भन्नुभयो, “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ । म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । जीवनलाई आशिष्‌पूर्ण र खुसी पार्न चाहिने हरेक तत्त्व येशूले दिनुहुन्छ । उहाँले दिनुहुने जीवन अर्थपूर्ण छ भने उहाँविनाको जीवन अन्धकारमय हुन्छ । 



Leave Your Comments Here.