आजभन्दा दुई हजार वर्षअगाडि येशूको जन्म संयोग थिएन । उहाँ खास उद्देश्यहरू
लिएर यस धरतीमा आउनुभयो । उहाँले देह धारण गर्नुका मनग्गे कारणहरू छन् । यहाँ ९ ओटा कारणलाई सङ्क्षिप्त व्याख्यासहित प्रस्तुत गरिएका छन् ।
१. मानव-जातिको पापको लागि मर्न
येशूले स्पष्टतः भन्नुभयो, “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको
छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आयो” (मत्ती २०:२८) । येशू यस ग्रहमा जन्मनुका धेरै कारणहरूमध्ये
निश्चय नै यो प्राथमिक हो । धेरै वर्षअगि आदमले पापलाई यस ग्रहमा भित्र्याएका थिए
। फलतः प्रत्येक मानिस पापमा नै जन्मने भयो । पापी मानिसद्वारा
पापी मानव-जातिको उद्धार असम्भव
भएकोले एक जना सिद्ध मानिस यस धरतीमा आउनैपथ्र्यो । येशू अलौकिक रूपमा जन्मनुभयो र
उहाँले सिद्ध जीवन जिउनुभयो । मानव-जातिको लागि मर्न
उहाँ योग्य व्यक्ति हुनुहुन्थ्यो ।
२. पुरानो करारको व्यवस्था पुरा गर्न
डाँडाको उपदेशमा येशूले भन्नुभयो, “व्यवस्था अथवा अगमवक्ताहरूलाई रद्द गर्न म आएको भन्ने नसम्झ । म ती रद्द गर्न होइन, तर पूरा गर्न आएँ” (मत्ती ५:१७) । पुनरुत्थान हुनुभएपछि येशूले चेलाहरूलाई बताउनुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका कुराहरू यी नै
हुन्, अर्थात् मोशाको व्यवस्था,
अगमवक्ता र भजनका पुस्तकमा मेरा विषयमा लेखिएका
सबै कुरा पूरा हुनैपर्छ” (लूका २४:४४) ।
पुरानो करारले वर्षौंदेखि एक जना मसीहको अपेक्षा गरेको थियो जसको विषयमा कैयौँ
भविष्यवाणीहरू गरिए । येशू नै त्यो मसीह हुनुहुन्थ्यो ।
३. सत्यको गवाही दिन
प्रभु येशूलाई गिरफ्तार गरी जाँचपडतालको लागि बडाहाकिम पिलातसको सामु उभ्याइयो
। येशू नै राजा हुनुहुन्छ त ? भन्ने पिलातसको
प्रश्नमा उहाँले जवाफ दिनुभयो, “म राजा हुँ भनी
तपाईं नै भन्नुहुन्छ । यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ ।
प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर
सुन्छ” (यूहन्ना १८:३७) ।
४. शैतानका कामहरू नष्ट पार्न
नयाँ करारका पाँच ओटा पुस्तकका लेखकसाथै येशूका चेला यूहन्ना लेख्छन्,
“जसले पाप गर्छ त्यो दियाबलसको हो । किनकि
दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ । दियाबलसका कामहरू नष्ट पार्नलाई नै
परमेश्वरका पुत्र प्रकट हुनुभएको हो” (१ यूहन्ना ३:८) । दियाबलस शैतानका नाउँहरूमध्ये एउटा हो । उहाँको आगमनले
शैतानका कामहरू नष्ट पार्यो भन्नुको अर्थ त्यो पूर्णतः निष्क्रिय छ
भन्नु होइन । पराजित शत्रुको रूपमा त्यसको असफल प्रयास अझै जारी छ (१ पत्रुस ५:८)
।
५. पापीहरूलाई उद्धार गर्न
प्रेरित पावलद्वारा तिमोथीलाई लेखिएको पहिलो पत्रमा भनिएको छ, “यो वचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट
संसारमा आउनुभयो, र पापीहरूमा म
सबैभन्दा मुख्य हुँ” (१ तिमोथी १:१५) ।
पापले मानिसलाई पापी बनाएको थियो । उसले नरक साँचेको थियो तर परमेश्वरले आफ्नो
अपार कृपामा उसलाई त्यस भयानक दण्डबाट उद्धार गर्न आफ्नो पुत्र येशूलाई यस संसारमा
पठाउनुभयो ।
६. हाम्रो निम्ति उदाहरण बन्न
येशूका चेला पत्रुसले आफ्ना पाठकहरूलाई लेखेका छन्, “किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ । ख्रीष्टले पनि
तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका
लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै
पाइलामा हिँड्नुपर्छ” (१ पत्रुस २:२१) ।
सम्पूर्ण मानव इतिहासमा हाम्रो जीवन यापनको लागि येशूभन्दा उत्तम नमुना अर्को को
हुन सक्छ ?
७. विश्वसनीय प्रधान पूजाहारी बन्न
हिब्रूका लेखक येशूको बारेमा लेख्छन्, “यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाइहरूजस्तै बनाइनुपर्यो,
र मानिसहरूका पापको प्रायश्चित्त गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पूजाहारी बन्नुभयो”
(हिब्रू २:१७) । येशूले मानवीय चोलामा दु:खहरू
भोग्नुभएकोले (हिब्रू ४:१४-१६) प्रधान
पूजाहारीको रूपमा उहाँले हाम्रा कठिनाइहरूलाई पिताको सामु टक्र्याउनुहुन्छ
।
८. हराएकाहरूलाई खोज्न
येशूले पुड्को जखायसलाई भन्नुभयो, “किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो” (लूका १९:१०) । जखायस हराएकाहरूमध्ये एक थिए ।
तिनीजस्तै हराएकाहरू येशूको समयमा धेरै थिए र आज पनि धेरै छन् ।
९. मानव-जातिलाई प्रशस्तताको जीवन दिन
येशू प्रशस्तताको जीवनदाता हुनुहुन्छ जस्तो उहाँले भन्नुभयो, “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ । म त तिनीहरूले जीवन पाऊन्,
र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले
आएँ” (यूहन्ना १०:१०) । जीवनलाई
आशिष्पूर्ण र खुसी पार्न चाहिने हरेक तत्त्व येशूले दिनुहुन्छ । उहाँले दिनुहुने
जीवन अर्थपूर्ण छ भने उहाँविनाको जीवन अन्धकारमय हुन्छ ।