menu bar

Saturday, November 26, 2016

येशू ख्रीष्टको विषयमा तपाईंले जान्नुपर्ने ९ ओटा सत्यता


१. येशू ख्रीष्ट ख्रीष्टियमतका संस्थापक हुनुहुन्छ । ख्रीष्टियमत संसारको सबैभन्दा ठुलो धर्म (वा मार्ग) हो । हाल झण्डै साँढे दुई अरब मानिस यसका अनुयायी छन् । 

२. येशूले मानवीय चोला धारण गर्नुभन्दा पहिले पनि उहाँ अस्तित्वमा हुनुहुन्थ्यो । उहाँ सदाकालदेखि रहिआउनुभएको छ । वास्तवमा उहाँको कुनै आदि छैन, न त अन्त्य नै ।

३. येशू आजभन्दा लगभग दुई हजार वर्षअगि एसिया महादेशको प्राचीन प्यालेस्टाइनको बेथलेहेम नामक गाउँमा जन्मनुभयो । उहाँ जन्मनुभएको समयमा रोमको उपनिवेशको रूपमा रहेको प्यालेस्टाइनमाथि हेरोद महान्‌ले शासन गरिरहेका थिए । उहाँ अलौकिक नियमबाट जन्मनुभएको थियो ।

४. उहाँले आफ्नै शक्तिले विभिन्न आश्चर्यकर्महरू गर्नुभयोः लङ्गडोलाई हिँड्न सक्षम तुल्याउनुभयो; बैरोलाई सुन्ने तुल्याउनुभयो; दृष्टिविहीनलाई दृष्टि प्रदान गर्नुभयो; आँधीलाई शान्त पार्नुभयो; पाँच ओटा रोटी र दुई ओटा माछाले पाँच हजारलाई खुवाउनुभयो ।

५. उहाँमा दुई ओटा स्वभाव थियोमानवीय र ईश्वरीय । उहाँको मानवीय स्वभावमा उहाँ थाक्नुभयो; रिसाउनुभयो; भोकाउनुभयो; रुनुभयो अनि मर्नुभयो । उहाँको ईश्वरीय स्वभावमा उहाँले मानिसको गोप्य कुरो थाहा पाउनुभयो र आश्चर्यकर्महरू गर्नुभयो । तर हरेक मानवीय प्राणीमा एउटै मात्र स्वभाव हुन्छ जुन हो मानवीय ।

६. उहाँ दुष्ट पुस्ताको बिचमा बाँच्नुभए तापनि उहाँले सिद्ध जीवन जिउनुभयो । उहाँ पटक-पटक परीक्षामा पर्नुभए तापनि उहाँले कुनै पाप गर्नुभएन ।  
  
७. मानव-जातिको पापको लागि येशू क्रुसमा मर्नुभयो । उहाँको मृत्युमा आश्चर्यपूर्ण घटनाहरू भएः अन्धकार छायो; मन्दिरको पर्दा च्यातियो; भूकम्प गयो आदि । उहाँ मर्नुभएकै दिन अर्थात् शुक्रबार उहाँलाई चिहानमा दफन गरियो । 

८. उहाँको मृत्यु भएको तेस्रो दिन अर्थात् आइतबारको दिन उहाँ मृतकहरूबाट पुनरुत्थान हुनुभयो । ४० दिनको अवधिमा यस पृथ्वीमा उहाँ विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो अनि महिमित शरीरमा जैतुन पर्वतबाट स्वर्गारोहण हुनुभयो ।

९. उहाँ न्यायको लागि फेरि यस पृथ्वीमा आउँदै हुनुहुन्छ । उहाँको दोस्रो आगमनको वास्तविक समय अज्ञात छ । उहाँ धार्मिक न्यायाधीश हुनुभएकोले उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा पछ्याउनेहरूलाई उहाँले आफ्नो अनन्त वासस्थानमा लैजानुहुनेछ भने अरू त्यसबाट वञ्चित हुनेछन् ।  

Leave Your Comments Here.


Wednesday, November 23, 2016

सुपरिचित वैज्ञानिकले येशूलाई “हाम्रा उद्धारकर्ता येशू ख्रीष्ट” भने


     
ख्रीष्टाब्द १५७१ मा जर्मनीमा जन्मेका जोहानन केप्लर गणितज्ञसाथै खगोलविद् थिए । सत्रौँ शताब्दीको वैज्ञानिक क्रान्तिका मुख्य पात्र केप्लर ग्रहको चालसम्बन्धी नियमहरूका लागि प्रसिद्ध छन् । ग्रहको चालसम्बन्धी तिनका तिन ओटा प्रसिद्ध नियमलाई विज्ञानमा प्रायशः अगिल्ला प्राकृतिक नियमहरूभनिन्छ । तिनका कृतिहरूले न्युटनको विश्यव्यापी गुरुत्वाकर्षणको नियमको लागि आधार तयार पारेका थिए । चन्द्रमाको शक्तिको कारणले गर्दा समुद्रमा ज्वारभाटा आउँछ भनी बताउने तिनी प्रथम वैज्ञानिक हुन् । अन्य थुप्रै खोजहरूका प्रतिपादक केप्लर विश्व प्रसिद्ध वैज्ञानिक हुनुको एउटा कारण होतिनका खोजहरू क्रान्तिकारी थिए । क्रान्तिकारी यस अर्थमा कि प्राचीन वैज्ञानिक अरस्तुको पृथ्वी-केन्द्रित सिद्धान्तलाई तिनले बेठिक साबित गरिदिएका थिए ।   

केप्लर एक भक्त ख्रीष्टियान थिए । पास्टर हुनको लागि तिनले तिन वर्षको अध्ययन गरे तापनि पछि तिनको रुचि खगोल विज्ञानतर्फ बढेको थियो । जीवनमा मनग्गे सङ्घर्णको अनुभूति गरेका केप्लरको कृति विश्वको रहस्यको निष्कर्षमा तिनले सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन् ।

तिनले एक पटक यसो भनी प्रार्थना चढाए, “कोपरनिकस [केप्लर अगिका वैज्ञानिक] ले जे साँचो थियो भनी भनेका थिए, म त्यसमा सफल हुन सकूँ भनी मैले परमेश्वरलाई निरन्तर रूपमा प्रार्थना चढाएको छु ।आफ्नो एउटा पुस्तकमा तिनले लेखेका छन्, “प्रकृतिको पुस्तकको सम्बन्धमा हामी खगोलविद्हरू सर्वोच्च परमेश्वरका पूजाहारीहरू भएकाले हाम्रा आफ्नै समझको महिमाको लागि नभई परमेश्वरको महिमाको लागि चिन्तनशील हुनु हाम्रो लागि फाइदाजनक नै हुन्छ ।केप्लरको मृत्युअगि एक जना पास्टरले तिनले कसमाथि विश्वास राखेका थिए भनी प्रश्न गर्दा तिनले जवाफ दिए, “केवल हाम्रा उद्धारकर्ता येशू ख्रीष्टको काममा ।”      

Leave Your Comments Here.


Tuesday, November 22, 2016

आफ्ना पिताको हत्यारालाई क्षमा दिए मर्कुसले


मर्कुस डोईको जन्म अफ्रिकाको पश्चिमी तटमा अवस्थित लाइबेरिया नामक मुलुकमा भएको थियो । लाइबेरियाका एक्काइसौँ राष्ट्रपति समुएल डोई (ख्रीष्टाब्द १९५१-१९९०) सित मर्कुसका पिताको रगतको कुनै नाता नभए तापनि तिनका पिताले राष्ट्रपतिको निम्ति विशेष सुरक्षा दिने काम गर्थे । साबिक राष्ट्रपतिको हत्या गरी सैनिक कुमार्फत सत्तामा आएका थिए समुएल डोई । तर तिनको शासनकालको अन्त्यतिर आरम्भ भएको गृहयुद्धको कारणले गर्दा लाइबेरियामा रगतको खोलो मात्र बगेन, तर स्वतन्त्रताको पक्षमा लड्नेहरूले समुएल डोईलाई पक्रेर मृत्युदण्ड पनि दिए । 

सानै उमेरदेखि मर्कुस डोईको जीवनमा दुःखको थालनी भएको थियो । १० वर्षको उमेरमा तिनले आफ्नी आमा गुमाएका थिए । तिनका पिता राष्ट्रपतिकै कुलका भएकाले पिता खतरामा थिए । विद्रोही सिपाहीहरूको पञ्जामा पर्नुअगि पिताको सल्लाहलाई मानी मर्कुस आफ्ना दाजु रुजरभेल्टकहाँ गए । विद्रोहीहरू यति निष्ठुर थिए, कि तिनीहरूले शङ्काकै भरमा निर्दोष मानिसहरूको हत्या गरिदिन्थे । दिनमा एक छाक मात्र खाएर मर्कुस लुकेर हिँड्नु परेको थियो । मासु र सफा पानी दुर्लभ थिए । आशा मधुरो थियो । स्कुल नगएको ६ महिना भइसकेको थियो । 

आफ्ना दाजुसँगै मर्कुस शरणर्थीहरू बोक्ने पानी जहाजमार्फत घाना प्रस्थान गरे । दिनहरू सामान्य बन्दै गर्दा तिनले आफ्ना पिताको हत्या गरिएको खबर सुने । तिनी अनाथ बने । बदलाको भावनाले ओतप्रोत बनेका तिनको जीवनको उद्देश्य बन्योः हत्याराको खोजी गरी तिनलाई मार्नु । 

पछि दाजुसँगै मर्कुस अमेरिका पुगे । तिनी अमेरिकी सेनामा भर्ना हुन खोजे तापनि अयोग्य ठहरिए । परिस्थिति जटिल हुँदै गर्दा अर्को समस्या आइपर्‍यो तिनको जीवनमा३८ वर्ष पुगेका तिनका दाजुलाई ह्दयघात भयो । तिनी कोमामा गए । मर्कुसका दाजु तिनले चिनेका परिवारका एक मात्र जीवित सदस्य थिए । यस्तो दुःखको भूमरीमा जीवन गुजार्नु पर्दा तिनी घन्टौँसम्म रुन्थे । 

परमेश्वरपट्टि फर्केर तिनले प्रश्न गरे, “किन ?” तिनले आफूले भोग्नुपरेका सबै दुःखकष्टको निम्ति परमेश्वरसित प्रश्न गरे । तिनले आमा गुमाए; बुबा गुमाए; युद्ध भोगे; परिवारबाट बिछोडिए आदि । अन्त्यमा प्रिय दाजु पनि गुम्ने अवस्थामा थियो । 

मर्कुस ख्रीष्टियान भए तापनि प्रार्थनामाथि तिनको विश्वास थिएन वा कमै विश्वास थियो । तर यस पटक तिनले ह्दयको गहिराइबाट इमान्दारीपूर्वक दाजुको स्वास्थ्यलाभको निम्ति प्रार्थना गरे । चार दिनपश्चात् दाजु निको हुने भयो भन्ने खबर पाएपछि तिनको विश्वासको यात्राको आरम्भ भयो । तिनी बिस्तारै विश्वासमा बढ्न थाले ।

बदला र निराशाले बन्जर बनेको तिनको ह्दयको भूमि बिस्तारै उर्बरायुक्त बन्दै गयो । विश्वास र आशाका पुष्पहरू फक्रन थाले । बदलाको गहिराइलाई क्षमाको पानीले भर्दै गयो । तिनले आफ्ना पिताको हत्यारालाई भेट्ने निधो गरे । तिनी यसो भन्न चाहन्थे, “म तिमीलाई क्षमा दिन चाहन्छु ।

लाइबेरिया छाडेको बिस वर्षपश्चात् ख्रीष्टाब्द २०१० मा ३१ वर्षको उमेरमा मर्कुस आफ्नो जन्मभूमि फर्के । तर तिनले आफ्ना पिताको हत्यारालाई भेट्न पाएनन् किनकि युद्धमा तिनको मृत्यु भइसकेको रहेछ । तरै पनि मर्कुसले तिनलाई क्षमा दिए ।  

      

   


      

   


Leave Your Comments Here.