१. येशू ख्रीष्ट ख्रीष्टियमतका संस्थापक हुनुहुन्छ । ख्रीष्टियमत संसारको
सबैभन्दा ठुलो धर्म (वा मार्ग) हो । हाल झण्डै साँढे दुई अरब मानिस यसका
अनुयायी छन् ।
२. येशूले मानवीय चोला धारण गर्नुभन्दा पहिले पनि उहाँ अस्तित्वमा हुनुहुन्थ्यो । उहाँ सदाकालदेखि रहिआउनुभएको छ
। वास्तवमा उहाँको कुनै आदि छैन, न त अन्त्य नै ।
३. येशू आजभन्दा लगभग दुई हजार वर्षअगि एसिया महादेशको प्राचीन प्यालेस्टाइनको
बेथलेहेम नामक गाउँमा जन्मनुभयो । उहाँ जन्मनुभएको समयमा रोमको उपनिवेशको रूपमा रहेको
प्यालेस्टाइनमाथि हेरोद महान्ले शासन गरिरहेका थिए । उहाँ अलौकिक नियमबाट जन्मनुभएको थियो ।
४. उहाँले आफ्नै शक्तिले विभिन्न आश्चर्यकर्महरू गर्नुभयोः
लङ्गडोलाई हिँड्न सक्षम तुल्याउनुभयो; बैरोलाई सुन्ने
तुल्याउनुभयो; दृष्टिविहीनलाई दृष्टि प्रदान गर्नुभयो; आँधीलाई शान्त पार्नुभयो; पाँच ओटा रोटी र दुई
ओटा माछाले पाँच हजारलाई खुवाउनुभयो ।
५. उहाँमा दुई ओटा स्वभाव थियो— मानवीय र ईश्वरीय । उहाँको मानवीय स्वभावमा उहाँ थाक्नुभयो; रिसाउनुभयो; भोकाउनुभयो;
रुनुभयो अनि मर्नुभयो । उहाँको ईश्वरीय
स्वभावमा उहाँले मानिसको गोप्य कुरो थाहा पाउनुभयो र आश्चर्यकर्महरू गर्नुभयो ।
तर हरेक मानवीय प्राणीमा एउटै मात्र स्वभाव हुन्छ जुन हो मानवीय ।
६. उहाँ दुष्ट पुस्ताको
बिचमा बाँच्नुभए तापनि उहाँले
सिद्ध जीवन जिउनुभयो । उहाँ पटक-पटक परीक्षामा
पर्नुभए तापनि उहाँले कुनै पाप गर्नुभएन ।
७. मानव-जातिको पापको
लागि येशू क्रुसमा मर्नुभयो । उहाँको मृत्युमा आश्चर्यपूर्ण
घटनाहरू भएः अन्धकार छायो; मन्दिरको पर्दा
च्यातियो; भूकम्प गयो आदि । उहाँ मर्नुभएकै दिन अर्थात् शुक्रबार उहाँलाई
चिहानमा दफन गरियो ।
८. उहाँको मृत्यु भएको तेस्रो दिन अर्थात् आइतबारको दिन उहाँ मृतकहरूबाट पुनरुत्थान
हुनुभयो । ४० दिनको अवधिमा यस पृथ्वीमा उहाँ विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो
अनि महिमित शरीरमा जैतुन पर्वतबाट स्वर्गारोहण हुनुभयो ।
९. उहाँ न्यायको लागि
फेरि यस पृथ्वीमा आउँदै हुनुहुन्छ । उहाँको दोस्रो आगमनको वास्तविक समय अज्ञात छ
। उहाँ धार्मिक
न्यायाधीश हुनुभएकोले उहाँलाई प्रभु र मुक्तिदाताको रूपमा पछ्याउनेहरूलाई उहाँले आफ्नो अनन्त वासस्थानमा लैजानुहुनेछ भने अरू त्यसबाट वञ्चित हुनेछन् ।