menu bar

Saturday, December 17, 2016

उहाँको स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ (भाग ६)



येशू अद्वितीय हुनुहुन्छ ।

जसरी येशू अलौकिक नियमद्वारा पृथ्वीमा आउनुभयो, त्यसै गरी उहाँ अलौकिक नियमद्वारा यस पृथ्वीबाट बिदा हुनुभयो । पुनरुत्थानपश्चात् ४० दिन यस धरतीमा बिताउनुभएपछि येशू स्वर्ग प्रस्थान गर्नुभयो जसलाई स्वर्गारोहण भनिन्छ । बाइबलमा अभिलिखित येशूको जीवनीलाई केलाउँदा उहाँको स्वर्गारोहणमा पनि येशू अद्वितीय हुनुहुन्छ । विगत पाँच दिनमा हामीले हेरिसकेका छौँः   

(१) पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ 
(२) गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ
(३)  उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ
(४) उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ 
(५) उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ 

आज हामी उहाँको जीवनको छैटौँ अद्वितीय पक्षलाई छोटकरीमा हेर्न गइरहेका छौँ ।  

६. उहाँको स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ
संसारमा येशूको प्रवेश जसरी आश्चार्यमय थियो, त्यसै गरी संसारबाट उहाँको प्रस्थान पनि आश्चर्यमय छ । पुनरुत्थानपश्चात् येशूले चेलाहरूलाई आज्ञा दिनुभएपछि, “तिनीहरूले हेर्दाहेर्दै उहाँ उँभो उचालिनुभयो, र बादलमा उहाँ तिनीहरूका दृष्टिबाट लोप हुनुभयो । जब तिनीहरूले उहाँ जाँदै गर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक सेता पोशाक लाएका दुई जना मानिस तिनीहरूका नजीक खडा भए” (प्रेरित १:९-१०) । केहीले भनेजस्तै यो कुनै दृष्टान्त होइन, यो स्वर्गतर्फ उहाँको शारीरिक स्वर्गारोहण हो जहाँबाट उहाँ यस धरतीमा शासन गर्नको लागि आउनुहुनेछ, “... यही येशू, जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ” (प्रेरित १:११) । ख्रीष्टियान विश्वासको सारले ख्रीष्टको आश्चार्यमय शारीरिक स्वर्गारोहणलाई स्पष्टत: जोड दिएको छ ।



Leave Your Comments Here.


Thursday, December 15, 2016

उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ (भाग ५)



येशू अद्वितीय हुनुहुन्छ ।

आज हामी यो विषयको पाँचौँ दिनमा प्रवेश गर्दै छौँ । हामीले हेर्दै आइरहेका छौँ कि येशूको जीवनीलाई केलाउँदा उहाँ विभिन्न क्षेत्रमा अन्य धार्मिक, दार्शनिक, सामाजिकसाथै राजनीतिक अगुवाहरूभन्दा फरक हुनुहुन्छ । हिजोसम्म हामीले हेर्‍यौँ:

(१) पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ 
(२)  गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ
(३)   उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ
(४) उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ 

आज हामी उहाँको जीवनको निकै महत्त्वपूर्ण पक्षबारे अध्ययन गर्नेछौँ: उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ ।

एक जना परिचित लेखकको जीवनमा घटेको प्रेरक प्रसङ्गलाई पृष्ठभूमिको रूपमा उल्लेख गरी हामी अगाडि बढ्नेछौँ ।

फ्रयाङ्क मोरिसले येशूको जीवनीका आखिरी दिनहरूको बारेमा आफ्नै व्यक्तिगतसाथै ऐतिहासिक अनुसन्धान गर्ने जमर्को गरे । बिसौँ शताब्दीको पूर्वाद्र्धमा यी ब्रिटिस लेखकले येशूको पुनरुत्थानसम्बन्धी स्रोतहरूलाई विश्लेषण गरी तिनी जिससद लास्ट फेज (येशूआखरी चरण) नामक शीर्षकमा एउटा सङ्क्षिप्त दस्तावेज लेख्न कस्सिए । लेख्नुको उद्देश्य थियोयेशूको पुनरुत्थानलाई काल्पनिक कथाको रूपमा पुष्टि गर्नु । मरेको मान्छे बिउँतेर आउन सक्छ भन्ने अन्धविश्वासलाई यस कृतिले सधैँका लागि निर्मूलन पार्छ भन्ने तिनको विश्वास थियो । तिनले आफूलाई चाहिने सामग्रीहरू बटुले अनि लेख्न थाले । तर तिनले जे कुरो प्रमाणित गर्न खोजिरहेका थिए, स्रोतहरूले ठिक विपरीत दिशातिर लैजाँदै थिए तिनलाई । अन्तत: येशू ख्रीष्ट वास्तवमै पुनरुत्थान हुनुभएको थियो भन्ने तथ्यमा तिनी विश्वस्त हुन पुगे । परिणामस्वरूप तिनले येशूलाई मुक्तिदाताको रूपमा अङ्गाले । ती जम्मा भएका स्रोतहरूलाई प्रयोग गरी येशू ख्रीष्टको पुनरुत्थानको पक्षमा तिनले तार्किक रूपमा एउटा गतिलो पुस्तक लेखे जसको नाउँ होहु मुभ्ड द स्टोन ? (ढुङ्गा कसले हटायो ?) । लेखकको आफ्नै दाबीअनुसार यो लेख्न इन्कार गरिएको पुस्तक थियो । ख्रीष्टाब्द १९३० मा पहिलो पटक प्रकाशित र ख्रीष्टाब्द २००६ सम्ममा आइपग्दा दस पटक पुन: मुद्रित यस पुस्तकलाई पढेर धेरै मानिसहरू ख्रीष्टियान भएका छन् । 
 
५. उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ ।
येशूको पुनरुत्थान पृथ्वीमा भएको येशूको मिसनको शिखर आश्चर्यकर्म थियो । अन्य धार्मिक तथा दार्शनिक अगुवाहरू आए र गए अनि उदाए र पतन भए, तर येशू ख्रीष्टले जस्तै आफ्नो सेवा-कार्यलाई निरन्तरता दिन कोही पनि पृथ्वीको धुलोबाट फर्केर आएन । पुरानो करारमा मात्र यसको भविष्यवाणी गरिएको होइन (भजनसंग्रह १६:१०), तर आफ्नो सेवा-कार्यको आरम्भदेखि नै येशूले पनि यसको भविष्यवाणी गर्नुभयो, “येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु ।’ ... तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो” (यूहन्ना २:१९,२१) ।

चार ओटा सुसमाचारलाई सरसरती पढ्ने मान्छेलाई पनि छर्लङ्ग हुन्छ कि येशू मृतकहरूबाट पुनरुत्थान हुनुहुने थियो भन्ने सत्यतालाई येशूका चारै जना जीवनीकारले महत्त्वका साथ अभिलिखित गरेका छन् । आफ्नो पुनरुत्थानको विषयमा येशू आफैले बारम्बार भविष्यवाणी गर्नुभएको थियो (मत्ती १२:३८-४०; मर्कूस ८: ३१; लूका ९:२२-२७; यूहन्ना २:१८-२२) । येशूको ईश्वरत्वको प्रमाणको रूपमा आदि मण्डलीका प्रचारकहरूले पुनरुत्थानलाई पटक-पटक उल्लेख गरेका छन् (प्रेरित २:३२; १३:३०) । निम्न लिखित चार ओटा यथार्थताले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको रूपमा पुष्टि गर्छन्:
  •  येशूलाई जुन चिहानमा राखिएको थियो, त्यो हप्ताको पहिलो दिन रित्तो थियो ।
  • पुनरुत्थान हुनुभएपछि येशू विभिन्न क्षणमा विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो ।
  • येशूको पुनरुत्थानपश्चात् चेलाहरू यसरी परिवर्तन भए कि ती डरपोक भनिने चेलाहरू सिंहझैँ आँटिला भए ।
  • यहूदी पृष्ठभूमिबाट आएका चेलाहरू जसले शताब्दीऔँदेखि सातौँ दिनलाई विश्राम दिनको रूपमा पुज्दै आएका थिए, तिनीहरूले त्यस धार्मिक अभ्यासलाई रातारात परिवर्तन गरी तिनीहरू हप्ताको पहिलो दिनमा आराधनाको निम्ति जम्मा हुन थाले ।


क्रमशः

Leave Your Comments Here.


Wednesday, December 14, 2016

उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ (भाग ४)



येशू अद्वितीय हुनुहुन्छ ।

हुन त हामी ख्रीष्टमसको सिजनमा छौँ जुन उहाँको मृत्युसित नभई जन्मसित जोडिएको बडा दिन हो । तर हामीले येशू अद्वितीय हुनुहुन्छ भन्ने विषयमा हेर्दै आएकाले र उहाँको मृत्यु पनि सारा मानव इतिहासमा अद्वितीय भएकोले यसलाई छुटाउनु मुनासिब हुँदैन । विगत तिन दिनमा हामीले क्रमश: हेरिसकेका छौँ:

(१) पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ 
(२) गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ
(३) उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ

आज हामी चौथो बुँदामा प्रवेश गर्दै छौँ: उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ ।  

४. उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ 
उहाँको मृत्यु अद्वितीय छ । उहाँलाई क्रुसमा चढाइएकोले उहाँको मृत्यु अद्वितीय भएको होइन, तर प्यालेस्टाइनमा क्रूसारोहण अज्ञात हुँदा भजनसंग्रह २ मा धेरै पहिले नै उहाँको मृत्युको बारेमा भविष्यवाणी गरिएकोले यो अद्वितीय भएको हो । उहाँको पापरहित र पवित्र चरित्रको प्रदर्शन गर्दै उहाँले जीवन त्याग गर्नुभएकोले पनि यो अद्वितीय छ ।

उहाँको मृत्युको समयमा घटेका आश्चार्यमय घटनाहरूले पनि यसलाई अद्वितीय बनाउँछ । उहाँको मृत्युको घडीमा अन्धकार छायो; भूकम्प गयो; मन्दिरको पर्दा च्यातियो र चिहानहरू उघारिए । मध्यान्हदेखि दिउँसो तिन बजेसम्म अन्धकार छायो, “बाह् बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो” (मर्कूस १५:३३) । 

क्रूसारोहणको समयमा येशूले भोग्नुभएको अति पीडादायी यातना आश्चार्यमय थियो । उहाँलाई गिल्ला गर्नेहरू र उहाँलाई मृत्युदण्ड दिनेहरूप्रति भएको येशूको धारणा आश्चार्यमय छ, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) । येशू जुन तरिकाले मर्नुभयो त्यो आश्चार्यमय थियो जस्तो उहाँले भन्नुभयो, “कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु” (यूहन्ना १०:१८) । उहाँको प्रस्थानको क्षणमा पनि मृत्युले उहाँमाथि विजय गर्न सकेन, बरु उहाँले स्वेच्छाले आफ्नो आत्मा त्याग गर्नुभयो, “उहाँले भन्नुभयो, ‘अब सिद्धियो’, र उहाँले शिर निहुराएर आफ्नो आत्मा त्यागिदिनुभयो” (यूहन्ना १९:३०) ।

क्रुसमा टाँगिनुभएका ख्रीष्ट र वरिपरिका घटनाहरूलाई देखेपछि सैयौँ मान्छेलाई क्रुसमा टाँगी मृत्युदण्ड दिँदै आएका रोमी कप्तानले सही निष्कर्ष निकालेका थिए, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्” (मत्ती २७:५४) ।

क्रमशः

Leave Your Comments Here.