येशू अद्वितीय हुनुहुन्छ ।
आज हामी यो विषयको पाँचौँ दिनमा प्रवेश गर्दै छौँ । हामीले हेर्दै आइरहेका छौँ
कि येशूको जीवनीलाई केलाउँदा उहाँ विभिन्न क्षेत्रमा अन्य धार्मिक, दार्शनिक, सामाजिकसाथै राजनीतिक अगुवाहरूभन्दा फरक हुनुहुन्छ ।
हिजोसम्म हामीले हेर्यौँ:
(१) पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय
हुनुहुन्छ
(२) गर्भधारणमा येशू अद्वितीय हुनुहुन्छ
(३) उहाँको जीवनमा येशू अद्वितीय हुनुहुन्छ
(४) उहाँको मृत्युमा येशू अद्वितीय हुनुहुन्छ
आज हामी उहाँको जीवनको निकै महत्त्वपूर्ण पक्षबारे अध्ययन गर्नेछौँ: उहाँको
पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ ।
एक जना परिचित लेखकको जीवनमा घटेको प्रेरक प्रसङ्गलाई पृष्ठभूमिको रूपमा
उल्लेख गरी हामी अगाडि बढ्नेछौँ ।
फ्रयाङ्क मोरिसले येशूको जीवनीका आखिरी दिनहरूको बारेमा आफ्नै व्यक्तिगतसाथै
ऐतिहासिक अनुसन्धान गर्ने जमर्को गरे । बिसौँ शताब्दीको पूर्वाद्र्धमा यी ब्रिटिस
लेखकले येशूको पुनरुत्थानसम्बन्धी स्रोतहरूलाई विश्लेषण गरी तिनी जिसस—
द लास्ट फेज (येशू— आखरी चरण) नामक शीर्षकमा एउटा सङ्क्षिप्त दस्तावेज लेख्न
कस्सिए । लेख्नुको उद्देश्य थियो— येशूको
पुनरुत्थानलाई काल्पनिक कथाको रूपमा पुष्टि गर्नु । मरेको मान्छे बिउँतेर आउन सक्छ
भन्ने अन्धविश्वासलाई यस कृतिले सधैँका लागि निर्मूलन पार्छ भन्ने तिनको विश्वास
थियो । तिनले आफूलाई चाहिने सामग्रीहरू बटुले अनि लेख्न थाले । तर तिनले जे कुरो
प्रमाणित गर्न खोजिरहेका थिए, स्रोतहरूले ठिक
विपरीत दिशातिर लैजाँदै थिए तिनलाई । अन्तत: येशू ख्रीष्ट वास्तवमै पुनरुत्थान
हुनुभएको थियो भन्ने तथ्यमा तिनी विश्वस्त हुन पुगे । परिणामस्वरूप तिनले येशूलाई
मुक्तिदाताको रूपमा अङ्गाले । ती जम्मा भएका स्रोतहरूलाई प्रयोग गरी येशू
ख्रीष्टको पुनरुत्थानको पक्षमा तिनले तार्किक रूपमा एउटा गतिलो पुस्तक लेखे जसको
नाउँ हो— हु मुभ्ड द स्टोन
? (ढुङ्गा कसले हटायो ?)
। लेखकको आफ्नै दाबीअनुसार यो लेख्न इन्कार
गरिएको पुस्तक थियो । ख्रीष्टाब्द १९३० मा पहिलो पटक प्रकाशित र ख्रीष्टाब्द २००६
सम्ममा आइपग्दा दस पटक पुन: मुद्रित यस पुस्तकलाई पढेर धेरै मानिसहरू ख्रीष्टियान
भएका छन् ।
५. उहाँको पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ ।
येशूको पुनरुत्थान पृथ्वीमा भएको येशूको मिसनको शिखर आश्चर्यकर्म थियो । अन्य
धार्मिक तथा दार्शनिक अगुवाहरू आए र गए अनि उदाए र पतन भए, तर येशू ख्रीष्टले जस्तै आफ्नो सेवा-कार्यलाई निरन्तरता दिन कोही पनि पृथ्वीको
धुलोबाट फर्केर आएन । पुरानो करारमा मात्र यसको भविष्यवाणी गरिएको होइन (भजनसंग्रह
१६:१०), तर आफ्नो सेवा-कार्यको
आरम्भदेखि नै येशूले पनि यसको भविष्यवाणी गर्नुभयो, “येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु ।’ ... तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो,
त्यो उहाँको शरीर थियो” (यूहन्ना २:१९,२१) ।
चार ओटा सुसमाचारलाई सरसरती पढ्ने मान्छेलाई पनि छर्लङ्ग हुन्छ कि येशू
मृतकहरूबाट पुनरुत्थान हुनुहुने थियो भन्ने सत्यतालाई येशूका चारै जना जीवनीकारले
महत्त्वका साथ अभिलिखित गरेका छन् । आफ्नो पुनरुत्थानको विषयमा येशू आफैले
बारम्बार भविष्यवाणी गर्नुभएको थियो (मत्ती १२:३८-४०; मर्कूस ८: ३१;
लूका ९:२२-२७; यूहन्ना २:१८-२२) । येशूको ईश्वरत्वको प्रमाणको रूपमा आदि
मण्डलीका प्रचारकहरूले पुनरुत्थानलाई पटक-पटक उल्लेख गरेका छन् (प्रेरित २:३२; १३:३०) । निम्न लिखित चार ओटा यथार्थताले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक
घटनाको रूपमा पुष्टि गर्छन्:
- येशूलाई जुन चिहानमा राखिएको थियो, त्यो हप्ताको पहिलो दिन रित्तो थियो ।
- पुनरुत्थान हुनुभएपछि येशू विभिन्न क्षणमा विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो ।
- येशूको पुनरुत्थानपश्चात् चेलाहरू यसरी परिवर्तन भए कि ती डरपोक भनिने चेलाहरू सिंहझैँ आँटिला भए ।
- यहूदी पृष्ठभूमिबाट आएका चेलाहरू जसले शताब्दीऔँदेखि सातौँ दिनलाई विश्राम दिनको रूपमा पुज्दै आएका थिए, तिनीहरूले त्यस धार्मिक अभ्यासलाई रातारात परिवर्तन गरी तिनीहरू हप्ताको पहिलो दिनमा आराधनाको निम्ति जम्मा हुन थाले ।
क्रमशः