नासरतका येशूद्वारा स्थापित मार्गलाई ख्रीष्टियमत भनेर चिनिन्छ । पहिलो
शताब्दीमा एसियामा जन्मनुभएका येशू कुनै राजनीतिक अगुवा वा विशिष्ट व्यक्तित्व
हुनुहुन्थेन । मानव चोलामा उहाँले सामान्य जीवन जिउनुभयो । तरै पनि उहाँद्वारा
स्थापित अभियानले केही शताब्दीभित्र पुरै रोमलाई ढाकिदियो, र यो आज हाम्रो भूमिसम्म फैलिएर आएको छ । किन मानिसहरू यस
विश्वासतर्फ आकर्षित भएका होलान् ? यहाँ ७ ओटा कारण
पेस गरिएका छन् ।
१. यसको संस्थापक येशू विश्वसनीय हुनुहुन्छ ।
येशूले मानव चोला धारण गर्नुका थुप्रै कारणहरू थिए— भविष्यवाणीहरू पुरा गर्न, हाम्रा पापको निम्ति मर्न र उहाँलाई पछ्याउनेहरूलाई
पिताकहाँ लैजान । उहाँ पानीमाथि हिँड्नुभएको, उहाँले आँधीलाई शान्त पार्नुभएको, लङ्गडोलाई हिँड्न सक्षम तुल्याउनुभएको, थोरै खानाले पाँच हजारलाई खुवाउनुभएको, पापरहित जीवन जिउनुभएको, दर्दनाक मृत्यु वरण गर्नुभएको र मृत्युमाथि विजय हासिल
गर्नुभएको थियो भनी पहिलो शताब्दीमा उहाँलाई पछ्याउनेहरूले हामीलाई बताएका छन् ।
उहाँले आफ्ना घनिष्ठ मित्रहरूलाई कतै तिनीहरूले पनि येशूलाई छाडेर जान्थे कि भनेर
सोध्नुहुँदा पत्रुस नामक चेलाले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं
? तपाईंसित अनन्त जीवनका
वचन छन् र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ” (यूहन्ना ६:६८–६९) ।
२. यसको धर्मशास्त्र भरोसायोग्य छ ।
ख्रीष्टियमतको धर्मशास्त्रको नाउँ हो, बाइबल । चालिसभन्दा बेसी मानवीय लेखकले करिब १,६०० वर्ष लगाएर लेखिएको यस पुस्तकमा नै ख्रीष्टियान विश्वास
निर्भर छ । यसले एउटै कथावस्तु (मानव–जातिको लागि परमेश्वरको छुटकाराको योजना) लाई व्यक्त गर्दछ, जुन सृष्टिबाट आरम्भ भएर अनन्तताको
प्रवेशद्वारमा गएर टुङ्गिन्छ । यसले वर्णन गरेका इतिहास, भूगोल र संस्कृतिलाई पुरातत्त्वविद्याका आधुनिक खोजहरूले
पटक–पटक पुष्टि गरेका छन् ।
इतिहासभरि नै यसको पाण्डुलिपिलाई कैयौँ पटक प्रतिलिपि गरिएको भए तापनि यसको सच्चाइ
गुमेको रहेनछ भनी बिसौँ शताब्दीमा पत्ता लगाइएका मृत सागरका मुट्ठाहरूले प्रमाणित
गरेका छन् ।
३. यसको आधारभूत दाबी ऐतिहासिक रूपमा साँचो छ ।
सुरुका ख्रीष्टियानहरू कुनै राजनीतिक वा धार्मिक मतभेदबाट अभिप्रेरित थिएनन् ।
तिनीहरूका प्राथमिक विषयहरू नैतिक वा सामाजिक पनि थिएनन् । तिनीहरू चिरपरिचित
ईश्वरशास्त्री वा सामाजिक दार्शनिकहरू पनि थिएनन् । तिनीहरू प्रत्यक्षदर्शीहरू
थिए । एउटा निर्दोष मान्छे मर्नुभएको र तिन दिनपश्चात् फेरि जीवित भई
मानिसहरूका बिचमा हिँड्नुभएको ती आदि ख्रीष्टियानहरूले आफ्नै आँखाले देखेका थिए,
र त्यही अद्भूत खबर संसारलाई बताउन तिनीहरूले
आफ्ना जीवन नै खतरामा हाले । तिनीहरूको तर्क मूर्त थियो । येशू रोमी बडाहाकिम
पन्तियस पिलातसको समयमा मारिनुभयो । उहाँको मृत शरीरलाई अरू कसैको चिहानमा राखी
त्यस चिहानलाई छाप लगाइयो । चिहानको सुरक्षाको निम्ति पहरेदारहरू खटाइएका थिए ।
तरै पनि तिन दिनपश्चात् चिहान रित्तो देखियो । उहाँलाई जीवित देख्नेहरूले आफ्नो
जीवनै जोखिममा हालेर उक्त सन्देशको घोषणा गरे ।
४. यसमा जीवनलाई रूपान्तरण गर्ने शक्ति छ ।
येशूलाई गिरफ्तार गरिँदा उहाँलाई छाडेर जाने उहाँका चेलाहरू मात्र केही
हप्तापश्चात् नाटकीय रूपमा परिवर्तन भएनन्, तर उहाँका शत्रुहरू पनि बद्लिए । ख्रीष्टियानहरूमाथि उग्र
सतावट गर्ने एक जना शाऊल (पछि पावल) नाउँका मानिस थिए, जो पुनरुत्थान हुनुभएका येशूसँग जम्काभेट गरेपछि उहाँकै
बारेमा बताउने एक प्रमुख चेला बने (गलाती १:११–२४) । येशूद्वारा ऐतिहासिक अनपढहरू मात्र रूपान्तरित भएका
छैनन्, तर आधुनिक विद्वान्हरू
पनि ।
५. यसले मानवीय स्वभावलाई सही तवरले विश्लेषण गर्दछ ।
समाजको वास्तविक समस्या भनेको ह्दयको समस्या हो भनी बाइबलले बताउँछ । जानकारी
र प्रविधिको यस युगमा चारित्रिक असफलताको कारणले परिवार, सरकार, सङ्घ–संस्था, धर्म, शिक्षासाथै
कलाहरूमा कलङ्क लागेको छ । जातिय पूर्वाग्रह, दुव्र्यसन, दुव्र्यवहार,
सम्बन्ध–विच्छेदजस्ता समस्याहरू अक्सर सुनिन्छन् । हाम्रा समस्याहरू
अज्ञानता, उचित भोजन र सरकारमा छन्
भनी प्राय: मानिसहरू विश्वास गर्न चाहन्छन् । तर येशूले पहिलो शताब्दीका
स्रोताहरूलाई भन्नुभएको वचन आज पनि उत्तिकै सान्दर्भिक छ, “किनकि ह्दयबाट नै खराब विचार, हत्या, परस्त्रीगमन,
व्यभिचार, चोरी, झूटो गवाही र
निन्दा बाहिर निस्कन्छन् । यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्” (मत्ती १५:१९– २०) ।
६. यसले समाजमा असाधारण प्रभाव पारेको छ ।
एक जना नासरतका सिकर्मीले संसारलाई परिवर्तन गरिदिनुभयो । पात्रो र मितिहरू
उहाँको जन्मका मौन गवाहहरू हुन् । घरको छत, हार, कुण्डल, क्रुसको चिन्ह आदिजस्ता मानव निर्मित वस्तुहरू
उहाँको मृत्युका दृश्यवान् साक्षीहरू हुन् । सामाजिक नीतिशास्त्र, वैज्ञानिक विधिसाथै कल कारखानासम्बन्धी नीति
नियमको लागि पाश्चत्य दृष्टिकोणले जुन आधार तय गर्यो, त्यसको जग आधारभूत ख्रीष्टियान मूल्य मान्यतामा गडेको थियो
। पूर्वसाथै पश्चिममा भएका सामाजिक राहतका सङ्घ–संस्थाहरू हिन्दु धर्म, बुद्ध धर्म, नास्तिकवादसाथै
सेकुलर अज्ञेयवादमा मौलाएका होइनन्, तर प्रत्यक्ष वा परोक्ष रूपमा बाइबलका मूल्य मान्यताहरूमा । समाज सुधारको
निम्ति ख्रीष्टियान शिक्षाले जुन भूमिका खेलेको छ, त्यो अतुलनीय छ ।
७. यसमा उद्धार पाइन्छ ।
वैकल्पिक धार्मिक दृष्टिकोणका पनि आ–आफ्नै मुक्तिदाताहरू छन् जो चिहानमा नै सीमित रहे । मृत्युमाथि विजय हासिल
गर्नुहुनेमाथि भरोसा गर्नेहरूलाई अनन्त जीवन दिने प्रतिज्ञा अन्य कुनै धार्मिक
प्रणालीले गर्दैन । ख्रीष्टले प्रस्ताव गर्नुभएको उद्धार हाम्रो काममा आश्रित छैन,
तर उहाँले हाम्रो निम्ति जे गर्नुभयो त्यसको
स्वीकारमा । नैतिक वा धार्मिक प्रयासको साटो यस उद्धारको निम्ति केवल हामी पापी
छौँ भन्ने स्वीकारको खाँचो छ (एफिसी २:८–१०) ।