menu bar

Tuesday, March 3, 2015

फेला पर्‍यो क्रूसमा टाँग्न प्रयोग गरिएको काँटी



“जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँ [येशू] लाई क्रूसमा टाँगे” (लूका २३:३३) । यूहन्ना लेख्छन्, “तब सिपाहीहरू आए र उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्यसपछि अर्कोको” (१९:३२)  ।

येशूको क्रूसारोहणको सम्बन्धमा सुसमाचारिय विवरणहरूमा कम से कम दुई ओटा त्रुटि छन् भनी बाइबलका आलोचकहरूको दाबी थियो: (१) क्रूसमा टाँगिएको अपराधीको हात र खुट्टामा काँटी ठोकिँदैनथ्यो बरु डोरीले बाँध्ने गरिन्थ्यो । (२) क्रूसारोहणबाट मरेको व्यक्तिको सम्मानजनक अन्तेष्टि गरिँदैनथ्यो । यही बुझाइको आधारमा येशूलाई क्रूसमा झुण्डयाउन काँटीको प्रयोग गरिएको र उहाँलाई सम्मानसाथ चिहानमा राखिएको नयाँ करारको विवरणलाई काल्पनिक कथाको दर्जामा राखिएको थियो ।

तर ख्रीष्टाब्द १९६८ को जुन महिनामा विश्वलाई चकित पार्ने एउटा पुरातात्त्विक खोज प्रकाशमा आयो । पुरातत्त्वविद् भि. जाफेरिसले यरूशलेमको पश्चिममा अवस्थित केही चिहानहरू फेला पारे जसमा क्रूसारोहणबाट मरेको योहानान नाउँ गरेको व्यक्तिका केही हड्डीहरू पनि पाइए । उसको हात खुट्टा दुवैमा काँटी ठोकिएको थियो । यसका अतिरिक्त उसका खुट्टाहरू भाँचिएको जस्ता देखिन्थे । जाफेरिसले फेला पारेका समाधिस्थलले यो पनि प्रमाणित भएको छ कि केही खास अवसरहरूमा क्रूसारोहणबाट मृत्यु वरण गरेका व्यक्तिहरूलाई पनि सम्मानजनक अन्तेष्टि प्रदान गरिन्थ्यो । यस खोजले असन्दिग्ध रूपमा सुसमाचारिय विवरणहरूलाई पुष्टि गरेको छ ।

एक जना लेखकले भनेका छन्, “साधारणतया, रोमीहरूले क्रूसमा टाँगेको व्यक्तिलाई शारीरिक थकाइको कारणले श्वासप्रश्वास रोकिएर बिस्तारै मरोस् भन्ने हेतुले त्यसै छाडिदिन्थे । तर यहूदी परम्पराअनुसार मृत्युदण्डको दिनमा नै लाशलाई गाड्नुपथ्र्यो । त्यसकारण, प्यालेस्टाइनमा क्रूसमा टाँगिएको व्यक्तिको छिट्टै मृत्यु भई उसको लाशलाई रात पर्नुअगि नै गाड्न सकियोस् भनेर जल्लादले उसका खुट्टाहरू भाँच्थ्यो । दुई डाँकुहरूको सम्बन्धमा सुसमाचारहरूमा वर्णित यो अभ्यास ...  हाल पुरातत्त्वविद्याद्वारा पुष्टि भएको छ ।”



Leave Your Comments Here.