बेथलेहेमको ताराको विषयमा मत्ती २:१-१२ मा अभिलिखित गरिएको छ । बेथलेहेमको तारालाई ख्रीष्टमसको तारा पनि
भनिन्छ जसले ज्योतिषीहरू (“बुद्धिमान्
मानिसहरू” भनेर अनुवाद गर्नु बढी
मुनासिब हुन्छ कि ?) लाई येशू अर्थात्
मसीहको जन्मबारे अवगत गरायो । मत्तीको सुसमाचारअनुसार ती ज्योतिषीहरूले पूर्वमा
एउटा तारा देखे जसले तिनीहरूलाई यरूशलेम आउन प्रेरित गर्यो । तिनीहरूले यरूशलेममा
यहूदियाका राजा हेरोदसित भेटेपछि ख्रीष्टको जन्म स्थानबारे सोधपुछ गरे । मीकाको भविष्यवाणीमुताबिक मसीहको जन्म बेथलेहेममा हुने भएकोले हेरोदले
तिनीहरूलाई त्यहीँ जान निर्देशन दिए । तिनीहरूले पूर्वमा देखेको ताराले तिनीहरूलाई
बालक येशू बस्नुभएको घरसम्म अगुवाइ गर्यो । बालकलाई दण्डवत् गरी ज्योतिषीहरूले
आफूसँग ल्याएका भेटीहरू चढाए अनि राजा हेरोदकहाँ फर्केर नजानू भन्ने ईश्वरीय
चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर गए ।
बेथलेहेमको ताराको पहिचानको विषयमा बाइबल विद्वान्हरूले विभिन्न
अवधारणाहरू अगाडि सारेका छन् । कसैले त्यो बृहस्पति थियो भनेको छ त, कसैले शनि त, कसैले मंगल त, कसैले सुपरनोभा
(अत्यधिक चम्किलो तारा), त कसैले पुछ्रेतारा । तर निम्नलिखित चार ओटा
कारणले यो कुनै प्राकृतिक आकाशीय पिण्ड थिएन भनी पुष्टि गर्छन्:
- ज्योतिषीहरूले मात्र यस तारालाई देखे भनी खण्डले अङ्कित गर्दछ (मत्ती २:१) । आकाशीय पिण्डहरूलाई कसैले देख्ने कसैले नदेख्ने हुँदैन ।
- यो तारा पहिले पूर्वमा देखा परेको छ (पद २) । त्यसपछि फेरि यरूशलेममा देखा परी यसले ज्योतिषीहरूलाई बालक भएको ठाउँसम्म अगुवाइ गरी यो त्यहाँ अडिएको छ (पद ९) । आकाशीय पिण्डहरू सधैँ गतिवान् हुन्छन्, तिनीहरू कहिल्यै स्थिर हुँदैनन् ।
- खण्डको वर्णनअनुसार त्यो तारा बालक येशू हुनुभएको घरको केही दूरी मात्र माथि देखिएको प्रस्ट छ (पद ९), जब कि आकाशीय पिण्डहरू पृथ्वीको सतहभन्दा लाखौँ/करोडौँ किलोमिटर पर छन् ।
- ताराले ज्योतिषीहरूलाई बेथलेहेमबाट यरूशलेम लगेको छ (पद ९) । बेथलेहेम यरूशलेमदेखि लगभग पाँच माइल दक्षिणमा पर्छ । तर पृथ्वीको परिक्रमणको कारणले गर्दा आकाशीय पिण्डहरू उत्तरबाट दक्षिणतर्फ नभई पूर्वबाट पश्चिमतर्फ घुम्छन् ।
यी कारणहरूले गर्दा यस अद्भूत दृश्यलाई वैज्ञानिक ढङ्गमा व्याख्या गर्न
सकिँदैन । यदि बेथलेहेमको तारा प्राकृतिक तारा वा अन्य कुनै आकाशीय पिण्ड थिएन भने
के थियो त ?
आफ्ना मानिसहरूलाई अगुवाइ गर्न परमेश्वरले बेला बेलामा विशेष स्वर्गीय
ज्योतिको प्रयोग गर्नुभएको छ । पवित्र वासस्थानको निर्माण भएपछि त्यसलाई
परमप्रभुको महिमाले ढाकेको थियो (प्रस्थान ४०:३४-३८) । दिनमा बादलको खाँबो र रातमा आगोको ज्वाला बनेर
परमेश्वरले इस्राएलीहरूलाई उजाड-स्थानमा ४०
वर्षसम्म अगुवाइ गर्नुभएको थियो (प्रस्थान ४०:३८) । सोलोमनको मन्दिर बादलले भरिएको
थियो (१ राजा ८:१०) । दमस्कस नजिकै पावलको वरिपरि ज्योति चम्केको थियो (प्रेरित
९:३) । यस्ता अद्भूत दृश्यहरूलाई परमेश्वरको उपस्थितिको महिमा भनिन्छ ।
यस्तो विशेष ज्योति ईश्वरीय वैभवको दृश्यवान् प्रदर्शनी हो । परमेश्वरको
उपस्थितिको महिमा केही व्यक्तिहरूकहाँ मात्र पनि देखा पर्न सक्छ; यो गायब भएर पुन: देखा पर्न पनि सक्छ र यसले
मानिसहरूलाई विशेष ठाउँसम्म पनि अगुवाइ गर्न सक्छ ।
तब यी सबै तथ्यहरूलाई ध्यानमा राख्दा हामी उचित तवरले निष्कर्ष निकाल्न सक्छौँ
कि ज्योतिषीहरूले पूर्वमा देखेको ज्योति कुनै प्राकृतिक आकाशीय पिण्ड नभएर “परमेश्वरको उपस्थितिको महिमा” थियो । तिनीहरूको बुझाइमा त्यस अद्भूत दृश्यलाई
व्याख्या गर्ने उत्कृष्ट शब्द तारा भएकोले तिनीहरूले यसलाई “तारा” भनी उल्लेख गरे
यद्यपि खासमा यो “परमेश्वरको
उपस्थितिको महिमा” थियो । त्यो
दृश्यवान् वस्तु कुनै प्राकृतिक आकाशीय पिण्ड नभएर परमेश्वरको आश्चर्यकर्म थियो
किनकि ख्रीष्टमस आफै नै परमेश्वरको एउटा महानतम आश्चर्यकर्म हो ।