menu bar

Saturday, September 19, 2015

के येशू पिता परमेश्वरद्वारा सृजित पहिलो प्राणी हुनुहुन्छ (कलस्सी १:१५) ?



करिब ख्रीष्टाब्द ६१ मा रोमको झ्यालखानाबाट प्रेरित पावलद्वारा कलस्सेका विश्वासीहरूलाई लिखित पत्रमा तिनी भन्छन्, “उहाँ [येशू] अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ ।” येशू पिता परमेश्वरद्वारा सृजनुभएको पहिलो प्राणी हुनुहुन्छ भनी जेहोवा विट्नेस (अर्थात् यहोवेका साक्षी) नाउँ गरेको झुटो शिक्षाले यस पदलाई गलत तवरले अर्थ खोल्छ । तिनीहरूको गलत अर्थ खोलाइले ऐतिहासिक ख्रीष्टियान शिक्षाको मुटुमा प्रहार गरेको छ ।

यस पदमा उल्लिखित शब्द ज्येष्ठ अङ्ग्रेजी फस्टबर्न (Firstborn) को अनुवाद हो जसलाई ग्रिक भाषामा प्रोटोटोकोस भनिन्छ । नयाँ करारको दुई ठाउँमा यो शब्द ख्रीष्टलाई नभई अरूलाई जनाउन उल्लेख गरिएको छ (हिब्रू ११:२८ र १२:२३, पछिल्लोमा “पहिला जन्मेकाहरू” भनिएको छ) । कम से कम ६ पटक यो उपाधि ख्रीष्ट येशूलाई प्रदान गरिएको छ (लूका २:७ [जेठो]; रोमी ८:२९; कलस्सी १:१५; १:१८; हिब्रू १:६ [प्रथम जन्मेको] र प्रकाश १:५ [प्रथम जीवित हुनुभएको]) ।

यी ६ ओटा खण्डहरूलाई होसियारीपूर्वक जाँच्दा हामी ज्येष्ठ शब्दलाई तिन ओटा बेग्लाबेग्लै अर्थमा प्रयोग भएको पाउँछौँ ।
(१) येशू सारा सृष्टिभन्दा अगि हुनुहुन्छ (रोमी ८:२९; कलस्सी १:१५) ।
(२) येशू मरियमको जेठो छोरो हुनुहुन्छ ( लूका २:७; हिब्रू १:६) । 
(३) मृतकहरूबाट पुनरुत्थान हुनेमा येशू पहिलो हुनुहुन्छ (कलस्सी १:१८; प्रकाश १:५) ।   

विभिन्न खण्डहरूमा ज्येष्ठ शब्दको अर्थलाई हेरिसकेपछि फेरि कलस्सी १:१५ मा फर्कौं, “उहाँ ... सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ ।” येशू प्रथम सृजित प्राणी नभएर उहाँ नै सृष्टिकर्ता हुनुहुन्छ भनी यहाँ कम से कम तिन ओटा तर्कहरू पेस गर्न सकिन्छन्:
(१)  यो खण्डसाथै पुरै पुस्तकको आशय नै सबै थोकभन्दा येशू सर्वश्रेष्ठ हुनुहुन्छ भनी पुष्टि गर्न खोज्नु हो ।
(२)  यस खण्डमा उल्लिखित “उहाँ [येशू] मा नै सबै थोक सृष्टि भएका थिए” (पद १६) र “उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ” (पद १७) भन्नेजस्ता वाक्यहरूले सृष्टिमाथि उहाँको श्रेष्ठतालाई छर्लङ्ग पार्छन् ।
(३)  उहाँले नै सबै थोकको सृष्टि गर्नुभएको हो भने यहाँ प्रयुक्त शब्द “ज्येष्ठ” सृष्टिको अंश हुन सक्दैन किनकि आफूले आफैलाई सृष्टि गर्न सक्दैन ।

उहाँलाई “ज्येष्ठ” भन्नुको कारण उहाँको अद्वितीय ओहोदाको कारणले सृष्टिमाथि उहाँको वरिष्ठता छ भन्नु हो । येशू सृष्टिकर्ता हुनुहुन्छ भनेर यही खण्डले प्रस्टसित बताउँछ । तसर्थ, उहाँ प्रथम सृजित प्राणी नभई सृष्टिकर्ता हुनुहुन्छ जो अनन्त हुनुहुन्छ ।     

Leave Your Comments Here.