menu bar

Wednesday, November 30, 2016

बालक येशूलाई भेट्न आउने ज्योतिषीहरू को थिए ?


यो सालको ख्रीष्टमस नजिकिँदै छ । हिजो यस सिकारुले आफ्नो यस ब्लगमा ख्रीष्टमसको तारा (जसलाई बेथलेहेमको तारा पनि भनिन्छ) को पहिचानको सम्बन्धमा एउटा लेख पोस्ट गरेको थियो । ख्रीष्टमसको मौसममा ताराको विषयमा मात्र नभएर बालक येशूलाई भेट गर्न आउने ज्योतिषीहरूको पनि चर्चा हुने गर्दछ । यो रचना ती ज्योतिषीहरूको पहिचान, तिनीहरूको स्थान र प्राचीन प्यालेस्टाइनमा तिनीहरूको आगमनको समयसित सम्बन्धित छ ।  

बाइबलीय विवरणले के भन्छ ?
ज्योतिषीहरू बालक येशूलाई भेट्न आए भन्ने तथ्यलाई केवल मत्तीको सुसमाचारले बताउँछ (मत्ती २:११२) । मत्तीको सुसमाचारअनुसार येशूको जन्मपश्चात् पूर्वका केही ज्योतिषीहरू यरूशलेम आए । बालकको जन्म बेथलेहममा भएको छ भन्ने जानेर तिनीहरू त्यतै लागे । उहाँको आराधना गरी तिनीहरूले आफूसित ल्याएका सुन, धूप र मूर्रका भेटी चढाए (पद ११) ।  

तिनीहरू को थिए ?
नेपाली पवित्र बाइबलमा उल्लिखित शब्द ज्योतिषीहरू” (पद १) अङ्ग्रेजी wise men (ग्रिकमा मागोई) को अनुवाद हो जसको अर्थ हुन्छ, “बुद्धिमान् मानिसहरू ।तिनीहरूको पहिचानको सम्बन्धमा मध्यकालमा विभिन्न किँवदन्तीहरूको उदय भएका छन् । तिनीहरू राजाहरू थिए; तिनीहरूको सङ्ख्या तिन थियो र तिनीहरूका नाउँ कास्पर, बल्थासर र मेल्कोर थिए भनी परम्पराले बताउँछ । तर मत्ती २ अध्यायले तिनीहरूको सङ्ख्या, नाउँ र यात्राको निम्ति तिनीहरूले प्रयोग गरेको साधनको विषयमा केही बताएको छैन । तिनीहरू बुद्धिमान् मानिसहरू थिए जसले विशेष चिन्हहरूको अर्थ खोल्ने गर्थे । तिनीहरू हात हेरेर भविष्य बताउने सडकका ज्योतिषीहरू थिएनन् । तिनीहरू कुलीन घरानाका, शिक्षित, धनी र प्रभावशाली व्यक्तिहरू थिए । तिनीहरू दार्शनिकहरू थिए जसले शासकहरूलाई सर सल्लाह दिन्थे । निश्चय नै, बालक येशूलाई भेट्न आउने यी मानिसहरू मूर्तिपूजकहरू थिएनन् बरु तिनीहरू इज्जतदार मानिसहरू थिए ।
 
तिनीहरू कहाँबाट आए ?
पद २ ले भन्छ, “हेरोद राजाको समयमा यहूदीयाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे ।बाइबलले तिनीहरू पूर्वबाट आएका थिए भनेर मात्र बताउँछ । सम्भवत: तिनीहरू फारस (आधुनिक इरान) बाट आएका थिए । यसको अर्थ हुन्छ कि तिनीहरूले मुक्तिदातालाई हेर्न झण्डै ८०० माइलको यात्रा गरे । तिनीहरूले दानिएलको पुस्तकको बारेमा जानेको हुनुपर्छ जहाँ मसीहको जन्मको समयबारे भविष्यवाणी गरिएको छ (दानिएल ९:२४२७) । वा, यो पनि सम्भव छ, कि तिनीहरू बालामको भविष्यवाणीबारे सचेत थिए जो फारस नजिकै पर्ने युफ्रेटिस नदीनेर अवस्थित पतोरका बासिन्दा थिए जसले प्रस्ट रूपमा ताराको उदयबारे भविष्यवाणी गरेका थिए, “याकूबबाट एउटा तारा आउनेछ” (गन्ती २४:१७) ।  

तिनीहरू कहिले आइपुगे ?
येशू जन्मनुभएको साँझमा नै ज्योतिषीहरूले बालक येशूलाई डुँडमा भेटे भन्ने परम्परागत बुझाइमा खोट छ । ज्योतिषीहरूले बालकलाई डुँडमा भेटेका छैनन्, तर घरमा (पद ११) । येशूलाई बालक भनिएको छ (ग्रिकमा पाइदिओन, पदहरू ९ र ११), भर्खरै जन्मेको शिशु (ग्रिकमा ब्रेफोस, लूका २:१२) होइन । [नोट: नेपाली भाषामा उपलब्ध पवित्र बाइबलमा लूका २:१२ मा पनि बालक नै भनी अनुवाद गरिएको छ । तर ग्रिकमा बालकको लागि मत्ती र लूकामा प्रयोग गरिएका शब्दहरू बेग्लाबेग्लै छन् ।] ज्योतिषीहरूले छकाएको ठानी हेरोद राजा रिसले चुर भए र तिनले बेथलेहेम र त्यस इलाका भित्रका दुई वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए” (मत्ती २:१६) । ज्योतिषीहरू आइपुग्दा के येशू भर्खरै जन्मनुभएको शिशु हुनुहुन्थेन भनी हेरोदको यस कदमबाट अनुमान लगाउन सकिँदैन र ? तब हामी भन्न सक्छौँ कि येशूको जन्म हुँदा त्यो तारा देखिएको हुनुपर्छ र ८०० माइलको यात्रा गरी यरूशलेमसम्म आइपुग्न तिनीहरूलाई महिनौँ (सायद वर्ष) लागेको हुनुपर्छ ।

बाइबलको वचनप्रति गम्भीर हुने विद्यार्थीले यसो भनी निष्कर्ष निकाल्नु मुनासिब हुन्छ: येशूको जन्म हुँदा पूर्वका केही बुद्धिमान् मानिसहरूले आकाशमा अनौठो ज्योति देखे; महिनौँ लगाएर सयौँ माइलको यात्रा गरी तिनीहरू बालक येशूको दर्शन गर्न आए र तिनीहरूले आफूसित ल्याएका भेटीहरू संसारका मुक्तिदातालाई चढाए ।   




Leave Your Comments Here.


Tuesday, November 29, 2016

बेथलेहेमको तारा वास्तवमा के थियो (मत्ती २:१-१२) ?


बेथलेहेमको ताराको विषयमा मत्ती २:१-१२ मा अभिलिखित गरिएको छ । बेथलेहेमको तारालाई ख्रीष्टमसको तारा पनि भनिन्छ जसले ज्योतिषीहरू (बुद्धिमान् मानिसहरूभनेर अनुवाद गर्नु बढी मुनासिब हुन्छ कि ?) लाई येशू अर्थात् मसीहको जन्मबारे अवगत गरायो । मत्तीको सुसमाचारअनुसार ती ज्योतिषीहरूले पूर्वमा एउटा तारा देखे जसले तिनीहरूलाई यरूशलेम आउन प्रेरित गर्‍यो । तिनीहरूले यरूशलेममा यहूदियाका राजा हेरोदसित भेटेपछि ख्रीष्टको जन्म स्थानबारे सोधपुछ गरे । मीकाको भविष्यवाणीमुताबिक मसीहको जन्म बेथलेहेममा हुने भएकोले हेरोदले तिनीहरूलाई त्यहीँ जान निर्देशन दिए । तिनीहरूले पूर्वमा देखेको ताराले तिनीहरूलाई बालक येशू बस्नुभएको घरसम्म अगुवाइ गर्‍यो । बालकलाई दण्डवत् गरी ज्योतिषीहरूले आफूसँग ल्याएका भेटीहरू चढाए अनि राजा हेरोदकहाँ फर्केर नजानू भन्ने ईश्वरीय चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर गए ।   

बेथलेहेमको ताराको पहिचानको विषयमा बाइबल विद्वान्‌हरूले विभिन्न अवधारणाहरू अगाडि सारेका छन् । कसैले त्यो बृहस्पति थियो भनेको छ त, कसैले शनि त, कसैले मंगल त, कसैले सुपरनोभा (अत्यधिक चम्किलो तारा), त कसैले पुछ्रेतारा । तर निम्नलिखित चार ओटा कारणले यो कुनै प्राकृतिक आकाशीय पिण्ड थिएन भनी पुष्टि गर्छन्:
  • ज्योतिषीहरूले मात्र यस तारालाई देखे भनी खण्डले अङ्कित गर्दछ (मत्ती २:१) । आकाशीय पिण्डहरूलाई कसैले देख्ने कसैले नदेख्ने हुँदैन ।
  • यो तारा पहिले पूर्वमा देखा परेको छ (पद २) । त्यसपछि फेरि यरूशलेममा देखा परी यसले ज्योतिषीहरूलाई बालक भएको ठाउँसम्म अगुवाइ गरी यो त्यहाँ अडिएको छ (पद ९) । आकाशीय पिण्डहरू सधैँ गतिवान् हुन्छन्, तिनीहरू कहिल्यै स्थिर हुँदैनन् ।
  • खण्डको वर्णनअनुसार त्यो तारा बालक येशू हुनुभएको घरको केही दूरी मात्र माथि देखिएको प्रस्ट छ (पद ९), जब कि आकाशीय पिण्डहरू पृथ्वीको सतहभन्दा लाखौँ/करोडौँ किलोमिटर पर छन् ।
  •  ताराले ज्योतिषीहरूलाई बेथलेहेमबाट यरूशलेम लगेको छ (पद ९) । बेथलेहेम यरूशलेमदेखि लगभग पाँच माइल दक्षिणमा पर्छ । तर पृथ्वीको परिक्रमणको कारणले गर्दा आकाशीय पिण्डहरू उत्तरबाट दक्षिणतर्फ नभई पूर्वबाट पश्चिमतर्फ घुम्छन् । 

यी कारणहरूले गर्दा यस अद्भूत दृश्यलाई वैज्ञानिक ढङ्गमा व्याख्या गर्न सकिँदैन । यदि बेथलेहेमको तारा प्राकृतिक तारा वा अन्य कुनै आकाशीय पिण्ड थिएन भने के थियो त ?

आफ्ना मानिसहरूलाई अगुवाइ गर्न परमेश्वरले बेला बेलामा विशेष स्वर्गीय ज्योतिको प्रयोग गर्नुभएको छ । पवित्र वासस्थानको निर्माण भएपछि त्यसलाई परमप्रभुको महिमाले ढाकेको थियो (प्रस्थान ४०:३४-३८) । दिनमा बादलको खाँबो र रातमा आगोको ज्वाला बनेर परमेश्वरले इस्राएलीहरूलाई उजाड-स्थानमा ४० वर्षसम्म अगुवाइ गर्नुभएको थियो (प्रस्थान ४०:३८) । सोलोमनको मन्दिर बादलले भरिएको थियो (१ राजा ८:१०) । दमस्कस नजिकै पावलको वरिपरि ज्योति चम्केको थियो (प्रेरित ९:३) । यस्ता अद्भूत दृश्यहरूलाई परमेश्वरको उपस्थितिको महिमा भनिन्छ । यस्तो विशेष ज्योति ईश्वरीय वैभवको दृश्यवान् प्रदर्शनी हो । परमेश्वरको उपस्थितिको महिमा केही व्यक्तिहरूकहाँ मात्र पनि देखा पर्न सक्छ; यो गायब भएर पुन: देखा पर्न पनि सक्छ र यसले मानिसहरूलाई विशेष ठाउँसम्म पनि अगुवाइ गर्न सक्छ । 

तब यी सबै तथ्यहरूलाई ध्यानमा राख्दा हामी उचित तवरले निष्कर्ष निकाल्न सक्छौँ कि ज्योतिषीहरूले पूर्वमा देखेको ज्योति कुनै प्राकृतिक आकाशीय पिण्ड नभएर परमेश्वरको उपस्थितिको महिमाथियो । तिनीहरूको बुझाइमा त्यस अद्भूत दृश्यलाई व्याख्या गर्ने उत्कृष्ट शब्द तारा भएकोले तिनीहरूले यसलाई ताराभनी उल्लेख गरे यद्यपि खासमा यो परमेश्वरको उपस्थितिको महिमाथियो । त्यो दृश्यवान् वस्तु कुनै प्राकृतिक आकाशीय पिण्ड नभएर परमेश्वरको आश्चर्यकर्म थियो किनकि ख्रीष्टमस आफै नै परमेश्वरको एउटा महानतम आश्चर्यकर्म हो ।                

Leave Your Comments Here.


Monday, November 28, 2016

येशूको जन्ममा पुरा भएका ९ ओटा भविष्यवाणी


ख्रीष्टमस येशूको जन्मको सम्झनामा मनाइने वार्षिक पर्व हो जुन डिसेम्बर २५ अर्थात् पौष १० गते मनाइन्छ । संसारका ख्रीष्टियानसाथै गैरख्रीष्टियान दुवै थरीका अरबौँ मानिसद्वारा मनाइने महानतम पर्व हो ख्रीष्टमस ।

ख्रीष्टियान धर्मशास्त्र बाइबल येशूको जन्मको वास्तविक मितिबारे मौन रहे तापनि कम से कम दुई ओटा सुसमाचारले येशूको जन्मको विषयमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् । आजभन्दा लगभग दुई हजार वर्षअगि येशू यस धरतीमा जन्मनुभएको थियो । उहाँको जन्म संयोग थिएन । उहाँको जन्ममा पुरानो करारमा अभिलिखित मसीहसम्बन्धी मनग्गे भविष्यवाणीहरू पुरा भएका छन् । यहाँ हामी उहाँको जन्ममा पुरा भएका ९ ओटा भविष्यवाणीलाई सरसरती हेर्नेछौँ ।  
    
१. उहाँ कन्याबाट जन्मनुहुने थियो ।
इम्मानुएल (अर्थ: परमेश्वर हामीहरूसित) नाउँ गरेको व्यक्ति आउनुहुने थियो भनी येशूको जन्मभन्दा ७०० वर्षअगि यशैया अगमवक्ताले भविष्यवाणी गरे, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ” (७:१४) । मसीहसम्बन्धी यो असाधारण भविष्यवाणी येशू पवित्र आत्माद्वारा गर्भधारण हुनुभई कन्या मरियमबाट जन्मनुहुँदा पुरा भयो भनी मत्तीले उल्लेख गरेका छन् (१:२२-२३) ।

मरियमको योसेफसित मगनी भएको थियो । बिहेअगि नै मरियमले पवित्र आत्माको शक्तिद्वारा गर्भधारण गरिन् । स्वर्गदूतमार्फत योसेफले यो कुरो थाहा पाएपछि तिनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे । तर बालक येशूको जन्म नहुञ्जेलसम्म तिनीहरूको बिचमा सहवास भएन । यसरी कन्यबाट मसीहको जन्म हुने थियो भन्ने शताब्दीऔँ पहिलेको भविष्यवाणी येशू कन्या मरियमबाट जन्मनुहुँदा पुरा भयो । 

२. उहाँ अब्राहामको सन्तान हुनुहुने थियो ।
लगभग १,८०० ख्रीष्टपूर्वतिर परमेश्वरले अब्राहामसित प्रतिज्ञा गर्नुभयो, “तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्” (उत्पत्ति २२:१८) । नयाँ करारअनुसार येशू अब्राहामकै सन्तान हुनुहुन्छ, “प्रतिज्ञाहरू अब्राहाम र उनको सन्तानलाई दिइएका थिए । धर्मशास्त्रले सन्तानहरूलाईभन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ । तर धर्मशास्त्रले तिम्रो सन्तानलाईभन्छ, यसले एक जना मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ” (गलाती ३:१६) ।

बाइबल धर्मशास्त्रमा अब्राहामका चार किसिमका सन्तानको बारेमा चर्चा गरिएको छ ।
(१) प्राकृतिक सन्तान: अब्राहामबाट जन्मेका सबै सन्तानहरू (उत्पत्ति १२:१-,७) । 
(२) प्राकृतिक-आत्मिक सन्तान: अब्राहामबाट जन्मेका तर केवल विश्वास गर्नेहरू (रोमी ९:६,; गलाती ६:१६) ।
(३) आत्मिक सन्तान: अब्राहामबाट नजन्मेका तर विश्वास गर्नेहरू (गलाती ३:६-,२९) । 
(४) आखिरी सन्तान: येशू ख्रीष्ट आखिरी सन्तान हुनुहुन्छ (गलाती ३:१६) ।
येशू ख्रीष्ट जो अब्राहामका आखिरी सन्तान हुनुहुन्छ उहाँद्वारा नै पृथ्वीका सबै जातिहरूले आशिष् पाउँछन् । क्षमा, शान्ति, मिलापसाथै अनन्त जीवनजस्ता आत्मिक आशिष्हरू येशूद्वारा नै आउँछन् ।

३. उहाँ इसहाकका पुत्र हुनुहुने थियो ।
अब्राहामका दुई छोरा थिएइसहाक र इश्माएल । इसहाकबाट मसीहको आगमन हुने थियो भनी परमेश्वरले प्रतिज्ञा गर्नुभयो, “इसहाकबाट नै तेरो वंशको नाउँ रहनेछ” (उत्पत्ति २१:१२) । येशू इसहाकद्वारा नै आउनुभयो (लूका ३:२३, ३४) ।

४. उहाँ याकूबको छोरो हुनुहुने थियो ।
इसहाकका दुई छोरा थिएएसाव र याकूब । तर एसावबाट नभई याकूबबाट मसीहको आगमन हुने थियो भनी पुरानो करारले अपेक्षा गर्‍यो, “याकूबबाट एउटा तारा आउनेछ, र इस्राएलबाट एउटा राजदण्ड उदय हुनेछ” (गन्ती २४:१७) । येशू याकूबको वंशमा नै जन्मनुभयो (लूका ३:२३, ३४) ।

५. उहाँ यहूदाको कुलबाट आउनुहुने थियो ।
यहूदा याकूबका १२ जना छोरामध्ये चौथा थिए । बाँकी ११ जनालाई छाडी मसीहले यहूदाको कुलमा जन्म लिनुहुने थियो, “यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्” (उत्पत्ति ४९:१०) । नयाँ करारको वंशावलीअनुसार येशू यहूदाकै कुलमा जन्मनुभयो (लूका ३:२३, ३३-३४) । यसरी १,७०० वर्षअगि याकूबले मर्ने बेलामा गरेको भविष्यवाणी येशूको जन्ममा पुरा भयो । 

६. उहाँ यिशैको घरानामा जन्मनुहुने थियो ।
यिशै इस्राएलका महानतम राजा दाऊदका पिता थिए । यशैया ११:१ मा लेखिएको छ, “यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ ... ।त्यो टुसा अरू कोही नभएर येशू हुनुहुन्थ्यो (लूका ३:२३, ३२) ।

७. उहाँ दाऊदको वंशमा जन्मनुहुने थियो ।
दाऊद पुरानो करारका एक महत्त्वपूर्ण पात्रसाथै संयुक्त इस्राएल राज्यका द्वितीय राजा थिए जसले इस्राएलमाथि ४० वर्षसम्म राज्य गरे । मसीहको जन्म तिनकै वंशमा हुने थियो भनी भविष्यवाणी गरियो, “हेर, यस्ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्नेछु, एकजना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन्” (यर्मिया २३:५)  । येशू दाऊदकै सन्तान भएर जन्मनुभयो र नयाँ करारमा उहाँलाई बारम्बार दाऊदका पुत्र” (मत्ती १:१; २१:९; २२:४२-४५) भनिएको छ । 
 
८. उहाँ बेथलेहेममा जन्मनुहुने थियो ।
येशूको जन्मभन्दा झण्डै ७०० वर्ष अगाडि मीका नाम गरेका अगमवक्ताले मसीहको जन्म स्थलको ठोकुवा गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ” (५:२) । येशूको जन्म वरिपरिका परिवेशहरूलाई नियाल्दा यहूदाको बेथलेहेममा नै येशूको जन्म भएको यथार्थता (मत्ती २:१) ले एउटा सन्देहवादीलाई छक्क पार्नुपर्छ ।

९. उहाँलाई भेटी चढाइने थियो । 
भजनसंग्रह ७२:१० मा लेखिएको छ, “तर्शीश र टाढाका सामुद्रिक किनारका राजाहरूले उनीकहाँ कर ल्याउनेछन्, शेबा र सेबाका राजाहरूले उनलाई भेटी चढाउनेछन् ।पूर्वबाट आएका ज्योतिषीहरू अर्थात् बुद्धिमान् मानिसहरूले बालक येशूलाई भेटी चढाउँदा यो भविष्यवाणी पुरा भएको थियो, “अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्डवत् गरे । तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए” (मत्ती २:११) ।

यो खण्ड ऐतिहासिक रूपमा संयुक्त इस्राएल राज्यका तृतिय राजा सोलोमनको लागि लागु भए तापनि यो मसीहको लागि पनि लागुहुने थियो जुन विषयमा भजनसंग्रह ७२:१२-१५ मा वर्णन गरिएको छ । 
 
यी त येशूको जन्ममा पुरा भएका केवल ९ ओटा भविष्यवाणी हुन् । उहाँको पुरै जीवन अवधिभर ३०० ओटाभन्दा बेसी सन्दर्भ र भविष्यवाणी पुरा भएका छन् भनी बाइबल विद्वान्हरूले गणना गरेका छन् । संसारको प्राचीनसाथै आधुनिक अन्य कुनै पनि धार्मिक, राजनीतिकसाथै सामाजिक अगुवाहरूको विषयमा तिनीहरूको जन्मभन्दा सैयौँ वर्षअगि भविष्यवाणी गरिएको र समय आएपछि तिनीहरूको जीवनमा एक-एक गरेर ती पुरा भएको अभिलेख छैन । यस अर्थमा येशू अद्वितीय हुनुहुन्छ । उहाँको उद्भव यस पृथ्वीको सीमानाभन्दा पर छ भनेर पनि पुरा भएका यी भविष्यवाणीहरूले पुष्टि गर्छन् ।       


  

Leave Your Comments Here.


Sunday, November 27, 2016

येशूको जन्मवरिपरि भएका ९ ओटा घटना


चार ओटा सुसमाचारमध्ये मत्ती र लूकाले येशूको जन्मको बारेमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् (मत्ती १:१८-२:२३; लूका १:२६-५६; २:१-४०) । यी विवरणहरूलाई नियाली मुक्तिदाता येशूको जन्मको वरिपरि भएका ९ ओटा घटनालाई हामी सङ्क्षिप्त रूपमा ध्यान दिनेछौँ। यहाँ ती घटनाहरूलाई क्रमैसँग राखिएका छन् ।

१. योसेफ र मरियमको मगनी भयो (मत्ती १:१८-१९; लूका १:२६-२७) ।  
योसेफ याकूबका पुत्र थिए । तिनी धार्मिक मानिस थिए र दाऊदको वंशका थिए । तिनी गालीलको नासरतका बासिन्दा थिए । मरियम यहूदाको कुल र दाऊदको घरानाका थिइन् । लूका ३ अध्यायमा उनको वंशावली अभिलिखित छ । मरियम र योसेफ दुवै नै यहूदी जातिका भएकाले तिनीहरूको मगनीलाई यहूदी संस्कृतिअनुसार नै बुझिनुपर्छ । विवाहको व्यवस्था मिलाउने काम बुबाआमाले नै गर्थे । मगनीपश्चात् समाजले उक्त जोडीलाई पति र पत्नीको रूपमा हेर्थ्यो यद्यपि तिनीहरू सँगसँगै बस्न भने पाउँदैनथ्ये । मगनी र विवाहको बिचमा एक वर्षको परीक्षणकाल हुन्थ्यो जुन बेला यदि केटी गर्भवती भएको थाहा हुन आयो भने विवाहलाई रद्द गर्न सकिन्थ्यो । तर विवाहलाई आँच नपुर्‍याउने त्यस्तो कुनै तत्त्व नदेखिएको खण्डमा विवाह सम्पन्न भई नव जोडी सँगसँगै बस्न सुरु गर्थे । यहूदीहरूको चलनअनुसार मगनी यति कडा संस्कार थियो कि त्यसको विघटनको लागि सम्बन्धविच्छेदको औपचारिक घोषणाको खाँचो पर्थ्यो । 

२. स्वर्गदूत मरियमकहाँ देखा परे (लूका १:२६-३८) ।
योसेफसँग मगनी भएकी कन्या मरियम नासरतमा रहँदा गब्रिएल नाउँ गरेका स्वर्गदूत उनीकहाँ देखा परे । मरियम कन्या छँदै गर्भवती भएर लामो समयदेखि प्रतिक्षा गरिएको मसीहलाई उनले जन्माउने थिइन् भनी स्वर्गदूतले बताउँदा उनी छक्क परिन्, "यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ" "उनको गर्भधारण अलौकिक हुने थियो भनी स्वर्गदूतले मरियमलाई प्रस्ट पारे, "पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ । यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ ।"

३. स्वर्गदूत योसेफकहाँ देखा परे (मत्ती १:२०-२५) ।
योसेफले मरियमसित मगनी गरे, तर तिनीहरूको विवाहअगि नै मरियम गर्भवती भएको थाहा हुन आयो । मरियम अविश्वासयोग्य भएको ठानी योसेफले उनलाई गुप्तमै त्याग्ने मनसाय बनाए । योसेफले चाहेको भए उनलाई न्यायको लागि सार्वजनिक स्थानमा उभ्यान सक्थे जसले मरियमको ज्यानै जान पनि सक्थ्यो (व्यवस्था २२:२३-२४) । तर योसेफ धार्मिक मानिस भएकाले र मरियमलाई साँचो रूपमा प्रेम गरेकाले तिनले त्यो बाटोलाई रोजेनन् । मरियम कसरी गर्भवती भइन् भनेर योसेफलाई पनि अवगत गराउनुपर्थ्यो भनी परमेश्वर जान्नुहुन्थ्यो । तसर्थ, वास्तविकतालाई प्रकट गराउन सपनामा एउटा स्वर्गदूत योसेफकहाँ देखा परे र तिनले मरियम पवित्र आत्माद्वारा गर्भवती भएको तथ्य जाहेर गराए योसेफलाई । कन्याबाट येशूको जन्म हुँदा सैयौँ वर्ष पुरानो यशैयाको भविष्यवाणी पनि पुरा हुने थियो भनी बताए स्वर्गदूतले ।

४. जनगणनाको लागि हुकुम जारी गरियो (लूका २:१-६) । 
कैसर अगस्टस जसले यस जनगणनाको आदेश दिएका थिए, तिनी २७ ख्रीष्टपूर्वदेखि ख्रीष्टाब्द १४ सम्म रोमको सम्राट् भएका थिए । योसेफ र मरियम गालीलको नासरतमा बस्दै गर्दा यो जनगणनाको लागि हुकुम जारी भयो । योसेफ दाऊदको वंशका भएका हुनाले नाउँ लेखाउन तिनी मरियमलाई साथमा लिई दाऊदको सहर अर्थात् बेथलेहेम गए । नासरतदेखि बेथलेहेम झण्डै ६५ माइल टाढा थियो ।

५. बेथलेहेममा बालकको जन्म भयो (लूका २:७) ।    
नाउँ दर्ता गराउन आउने आगन्तुकहरूले बेथलेहेम खचाखच भएकोले योसेफ र मरियमले पौवामा कुनै ठाउँ पाएनन् । परम्पराअनुसार योसेफ र मरियम पौवा नजिकैको गुफामा बसे जहाँ मरियमले बालकलाई जन्म दिइन् अनि डुँडमा राखिन् । येशू बेथलेहेममा जन्मनुहुँदा मीका अगमवक्ताले बोलेको ७०० वर्षअगिको भविष्यवाणी पुरा भयो (मीका ५:२) । 

६. गोठालाहरू बालकलाई भेट्न आए (लूका २:८-२०) ।
स्वर्गदूतले मसीहको जन्मको कथा पहिलो पटक गोठालाहरूलाई बताए जो बेथलेहेमको इलाकामा बगालको हेरचाह गर्दै थिए । खुसीको सन्देश सुनेर तिनीहरू हतार-हतार बालक भएको ठाउँमा आए । तिनीहरूले देखेको कुरो अरूहरूलाई पनि बताए र सुन्नेहरू आश्चर्यमा परे ।

७. बालकको खतना गरी "येशू" नाउँ राखियो (लूका २:२१) ।
यहूदी चलनअनुसार आठौँ दिनमा बालकको खतना गरियो, सम्भवतः बेथलेहेममा नै । अब्राहामको समयदेखि नै सबै यहूदी पुरुषहरूले पालना गर्नुपर्ने शारीरिक चिन्ह थियो, खतना । स्वर्गदूतले भनेअनुसार योसेफ र मरियमले बालकको नाउँ येशू राखे । संसारका मुक्तिदाताको लागि यो नाउँ उपयुक्त थियो ।

८. येशूलाई मन्दिरमा अर्पण गरियो (लूका २:२२-४०) ।
यहूदी परम्पराअनुसार ४० दिनपछि बालकलाई मन्दिरमा अर्पण गरिन्थ्यो । योसेफ र मरियमले यी दिनहरू सम्भवतः बेथलेहेममा नै बिताए । दुईवटा उद्देश्य लिएर तिनीहरू यरूशलेमस्थित मन्दिरमा गएबालकलाई परमप्रभुको सामु अर्पण गर्न र मरियमको निम्ति शुद्देइँको बलिदान चढाउन । बालक येशूलाई मन्दिरमा अर्पण गर्दा परमेश्वरका भक्तजन शिमियोन र अगमवादिनी हन्ना दुवैले उहाँलाई मसीहको रूपमा पहिचान गरे ।   

९. येशूलाई भेट्न पूर्वबाट ज्योतिषीहरू आए (मत्ती २:१-१२) ।
योसेफको परिवार बेथलेहेमबाट फर्केपछि पूर्वबाट केही ज्योतिषीहरू (गगनबारे जानेका ज्ञाताहरू) येशूलाई भेट्न आए । तिनीहरूको सङ्ख्या, वास्तविक पहिचान र आगमनको समयबारे किटेर भन्न गार्‍हो छ । तिनीहरूले आकाशमा मुक्तिदाताको जन्मलाई अङ्कित गर्ने तारा देखे अनि तिनीहरू धेरै लामो यात्रा गरेर मसीहलाई भेट्न आए । तिनीहरूले बालक येशूलाई आफूले ल्याएका महत्त्वपूर्ण उपहारहरू दिए ।

        

Leave Your Comments Here.