अन्तर्राष्ट्रिय ख्रीष्टियान जगत्मा परिचित नाउँ हो, रिक वारेन । पास्टरसाथै लेखक वारेनद्वारा स्थापित सेडलब्याक
चर्च अमेरिकाकै आठौँ ठुलो मण्डली हो । उद्देश्य-प्रेरित जीवन नामक वारेनको कृति ३ करोडभन्दा बेसी बिक्री भइसकेको छ ।
वारेन दम्पत्तिले आफ्नो आयको १०% मात्र आफूसित राखी ९०% परमेश्वरको
राज्य बिस्तारको लागि दिने गर्छन् ।
परमेश्वरको राज्य बिस्तारको क्रममा उहाँद्वारा अद्भूत रूपमा चलाइएका
स्रष्टाहरूको जीवनमा कहिले काहीँ अकल्पनीय क्षति आइपर्छ । यस्तै भयो, वारेनको जीवनमा ६ अप्रिल २०१३ मा ।
वारेनका तिन जना सन्तानमध्ये मत्ती नाम गरेको कान्छो छोरोले आत्महत्या गरे
उक्त दिनमा । मत्ती वर्षौंसम्म मानसिक रोगले ग्रस्त थिए । अवैधानिक रूपमा
अनलाइनमार्फत किनिएको बन्दुकले २७ वर्षका मत्तीले आफ्नो ज्यान लिएका
थिए ।
यस्तो भयावह दर्दको घडीमा पनि वारेनले परमेश्वरलाई प्रश्न गरेनन् । तिनले भने,
“परमेश्वरमाथि भएको मेरो विश्वासप्रति मैले
कहिल्यै प्रश्न गरेको छैनँ । मैले परमेश्वरको योजनामाथि प्रश्न तेर्साएँ । यसमा
ठुलो भिन्नता छ । परमेश्वर असल परमेश्वर हुनुहुन्छ भनी म जान्दछु । ... तर संसारमा
हुने हरेक कुरो परमेश्वरको इच्छा होइन । संसारमा हुने हरेक कुरोलाई उहाँले अनुमति
दिनुहुन्छ; उहाँले स्वीकृति
दिनुहुन्छ किनकि उहाँको अनुमतिविना यो हुनै सक्दैन । तर हामी एउटा
यस्तो संसारमा बस्छौँ जहाँ स्वतन्त्र इच्छाहरू छन् । त्यसैले, मैले गलत गर्ने छनौट गरेँ भने त्यसको लागि म
परमेश्वरलाई दोष्याउन सक्दिनँ । तसर्थ, मेरा छोराको मृत्युको लागि परमेश्वरलाई दोष दिन मिल्दैन । मेरा छोराले आफ्नो
जीवन लिए । यो तिनको छनौट थियो ।”
आफ्ना छोरालाई गुमाएको लगभग एक वर्षपश्चात् वारेनले भने, “‘तपाईं कसरी सम्हालिनुभएको छ ? तपाईंको दर्दमा तपाईं कसरी अगाडि बढ्नुभएको छ ?’
भनी मलाई अक्सर सोधिएको छ । मैले अक्सर जवाफ
दिएको छु, ‘उत्तर हो, इस्टर ।”
वारेनले जारी राखे, “तपाईं
देख्नुहुन्छ कि प्रभु येशू ख्रीष्टका मृत्यु, गडाइ र पुनरुत्थान तिन दिन भित्रमा भएका
घटनाहरू थिए । शुक्रबार दुःखकष्ट, दर्द र वेदनाको
दिन थियो । शनिबार आशङ्का, भ्रम र दुर्दशाको
दिन थियो । तर इस्टरको आइतबार आशा, आनन्द र विजयको
दिन थियो । यो नै जीवनको सत्यता होः तपाईंको जीवनभरि तपाईंले बारम्बार यी दिनको
सामना गर्नुहुनेछ । तपाईंले त्यसो गर्नुहुँदा मैले जस्तै तपाईंले तिनवटा आधारभूत
प्रश्न सोध्नुहुनेछ । पहिलो प्रश्न हो— मेरो दर्दका दिनहरूमा मैले के गर्ने ? दोस्रो हो— आशङ्का र भ्रमका
दिनहरूलाई मैले कसरी बिताउने ? तेस्रो हो—
आनन्द र विजयका दिनहरूमा म कसरी पुग्ने ?
उत्तर हो, इस्टर । उत्तर हो, ... इस्टर ।”