येशू अद्वितीय हुनुहुन्छ ।
दस दिने यात्राको आज हामी अन्तिम दिनमा आइपुगेका छौँ । येशूको जीवनका विभिन्न
पक्षहरूलाई हामीले केलायौँ र हामी यही निष्कर्षमा आइपुगेका छौँ कि उहाँको जीवनका
विभिन्न पक्षहरूमा येशू अरू सबै मानिसभन्दा अतुलनीय हुनुहुन्छ । हामीले त्यस्ता
नौवटा पक्षलाई हेरिसक्यौँ:
(१)
पुरा भएका
भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ
(२)
गर्भधारणमा येशू
अद्वितीय हुनुहुन्छ
(३)
उहाँको जीवनमा
येशू अद्वितीय हुनुहुन्छ
(४)
उहाँको मृत्युमा
येशू अद्वितीय हुनुहुन्छ
(५)
उहाँको
पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ
(६)
उहाँको
स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ
(७)
उहाँको शिक्षामा
येशू अद्वितीय हुनुहुन्छ
(८)
उहाँको
व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ
(९)
उहाँको प्रभावमा
येशू अद्वितीय हुनुहुन्छ
आज हामी दसौँ पक्षलाई ध्यान गइरहेका छौँ: उहाँको पापहीनतामा येशू अद्वितीय
हुनुहुन्छ ।
१०. उहाँको पापहीनतामा येशू अद्वितीय हुनुहुन्छ
येशूले आफ्नो जीवन दुष्ट र भ्रष्ट पुस्ताको बिचमा बिताउनुभयो । तथापि मानव
चोलामा उहाँले जुन अनुकरणीय जीवन जिउनुभयो त्यो उच्चतम प्रशंसाको लायक छ । उहाँले
कसैलाई चोट पुर्याउनुभएन; उहाँले कसैबाट
कुनै फाइदा लिनुभएन; उहाँले कहिल्यै
अनुचित वचन बोल्नुभएन; उहाँले कहिल्यै
गलत काम गर्नुभएन । यस मानव धरतीमा येशू मात्रै एक यस्तो अनुपम व्यक्तित्व
हुनुहुन्छ जसले पापरहित जीवन जिउनुभयो । यो कुनै कथन मात्रै होइन तर गवाहीहरूमा
आधारित उचित निष्कर्ष हो । उहाँका मित्रहरूले मात्र उहाँले सिद्ध जीवन जिउनुभयो
भनेर गवाही दिएका छैनन्, तर उहाँका शत्रुहरूले पनि उहाँमा कुनै खोट
देखाउन सकेनन् । उहाँले मात्र यसको दाबी गर्नुभएन, तर उहाँको जाँच
पडताल गर्ने अधिकारीहरू पनि उही निचोडमा पुगे ।
येशूका केही शत्रुहरूले उहाँको विरुद्धमा झुटा दोषहरू अगाडि
ल्याए । तर उहाँको जाँचको समयमा पिलातसले दिएको निर्णय इतिहासकै निर्णय भएको छ,
“म यी मानिसमा केही दोष भेट्टाउँदिनँ” (लूका २३:४) । क्रुस नजिक भएका कप्तानले यसो
भन्दै सहमति जनाए, “निश्चय नै यिनी
धार्मिक मानिस थिए” (लूका २३:४७) ।
येशूसँग क्रुसमा टाँगिएको एक अपराधीले भन्यो, “यी मानिसले त केही अनुचित काम गरेका छैनन्” (लूका २३:४१) । येशू सबै कुरामा परीक्षित हुनु
भए तापनि “पापरहित हुनुहुन्थ्यो”
भनी हिब्रूका लेखकले गवाही दिए (४:१५) । आफूलाई
दोष लागउनेहरूलाई येशू आफैले एक पटक चुनौती दिनुभयो, “तिमीहरूमध्ये कसले मलाई पापको दोष लाउन सक्छ ?” (यूहन्ना ८:४६), कसैले उहाँमा कुनै दोष भेट्टाएन । यथार्थत: येशू पापरिहत
हुनुहुन्छ र कुनै मानिस पापरहित नभएकोले यस क्षेत्रमा उहाँ अद्वितीय हुनुहुन्छ ।
निष्कर्षमा, येशू संसारको
निम्ति परमेश्वरको अवर्णनीय र अथाह उपहार हुनुहुन्छ । उहाँको आश्चर्यमय
गर्भधारणदेखि उहाँको अलौकिक स्वर्गारोहणसम्म; उहाँको निष्पाप चरित्रदेखि उहाँको अतुलनीय शिक्षासम्म येशू
अन्य सबै धार्मिकसाथै नैतिक अगुवाहरूभन्दा माथि हुनुहुन्छ । उहाँको जन्मदेखि
मृत्युसम्मको पाटो-पाटोमा उहाँ
अद्वितीय हुनुहुन्छ ।