येशू अद्वितीय हुनुहुन्छ ।
यो शृङ्खलाको आज हामी नवौँ दिनमा छौँ । आज हामी उहाँको प्रभावको विषयमा हेर्न
गइरहेका छौँ । उहाँको प्रभाव विश्वव्यापी छ । हालसम्म हामीले उहाँको जीवनका ८ ओटा
अद्वितीय पक्षबारे चर्चा गरिसकेका छौँ:
(१)
पुरा भएका
भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ
(२)
गर्भधारणमा येशू
अद्वितीय हुनुहुन्छ
(३)
उहाँको जीवनमा
येशू अद्वितीय हुनुहुन्छ
(४)
उहाँको मृत्युमा
येशू अद्वितीय हुनुहुन्छ
(५)
उहाँको
पुनरुत्थानमा येशू अद्वितीय हुनुहुन्छ
(६)
उहाँको
स्वर्गारोहणमा येशू अद्वितीय हुनुहुन्छ
(७)
उहाँको शिक्षामा
येशू अद्वितीय हुनुहुन्छ
(८)
उहाँको
व्यक्तित्वमा येशू अद्वितीय हुनुहुन्छ
येशूको प्रभावमा परी जीवन परिवर्तन भएका एक जना व्यक्तिको बारेमा हेरी हामी
अगाडि बढ्छौँ ।
तिनको नाउँ हो, कोडी हफ । १२
वर्षको उमेरदेखि तिनले गाँजा तान्न थाले । १३ वर्षमा तिनले सडकमा पत्रिका बेच्न
थाले, खाना र ड्रग्सको लागि
पैसा जुटाउन । तिनी विनाशको मार्गतर्फ लम्कँदै थिए । तिनी चोर थिए ।
तिनले ड्रग्सको कारोबार गर्थे । तिनी बारम्बार जेलमा पनि परेका थिए ।
हफसित पैसा थिएन; तिनको जाने ठाउँ
थिएन; तिनलाई ड्रग्सको लत
लागेको थियो; के गर्ने तिनलाई
थाहा थिएन । यस्तो बेवारिसे जिन्दगी बिताइरहेको बेलामा कसैले तिनलाई चर्चको
बारेमा बतायो ।
हफ उक्त मण्डलीमा गए र त्यहाँ कुनै एक जना स्त्रीले तिनलाई भनिन्, “सर, तपाईंलाई मायाको खाँचो छ ।” हफले आफैलाई
प्रेम गर्न छाडिसकेका थिए । त्यसैले, तिनले लापार्वाही जीवन बिताउँदै आएका थिए ।
तिन महिनासम्म तिनी नुहाएका थिएनन् । तिनको शरीरबाट दुर्गन्ध आइरहेको थियो ।
मायाको कुरो सुन्दा हफ छक्क पर्नु अस्वाभाविक थिएन । तिनले त्यहाँ मानिसको प्रेमको
अनुभूति मात्र गरेनन्, तर ईश्वरीय प्रेमको बारेमा पनि सुन्ने मौका
पाए । तिनले येशूको प्रेमको बारेमा सुने ।
बिस्तारै-बिस्तारै
येशूप्रति हफको मोह बढ्दै गयो । तिनलाई धेरै कुरा त थाहा थिएन । तरै पनि तिनी
जान्दथे कि येशू तिनको निम्ति मर्नुभएको थियो; तिनी पापी थिए र क्षमा उपलब्ध छ । परमेश्वरको सन्तान बन्नको
लागि यति ज्ञान अपर्याप्त थिएन । तिनले दस वा पन्ध्र मिनेट प्रार्थनामा बिताएपछि “आमेन” भने । जीवनमा तिनले कहिल्यै अनुभूति नगरेको शान्तिको महसुस गरे । तिनी तत्काल
नयाँ मान्छे बने । तिन हप्तापश्चात् तिनले बप्तिस्मा लिए । हाल तिनी लस भेगासस्थित
होप चर्चमा अभिषिक्त पास्टरको रूपमा सेवा गर्दै छन् ।
येशूले मानिसहरूको जीवन परिवर्तन गर्नुहुन्छ भन्ने ज्वलन्त उदाहरण हो, कोडी हफ । तिनीजस्ता लाखौँ मानिस येशूको चरणमा
आएपछि बद्लेका छन् । येशूले आफ्नो भौतिक उपस्थितिमा मात्र प्रभाव पार्नुभएन,
तर उहाँको भौतिक अनुपस्थितिमा पनि उहाँ
प्रभावशाली हुनुहुन्छ । आज हामीले
हेर्ने नवौँ पक्ष होः उहाँको प्रभावमा
येशू अद्वितीय हुनुहुन्छ ।
९. उहाँको प्रभावमा येशू अद्वितीय हुनुहुन्छ
उहाँको आगमनबाट आज दुई हजार वर्ष बितिसकेको भए तापनि पुनरुत्थान हुनुभएका
प्रभु येशू ख्रीष्ट मानव-जातिको मुख्य
व्यक्तित्व हुनुहुन्छ । उहाँको जन्मले अङ्ग्रेजी पात्रोलाई इतिहासको दुई भागमा
विभाजन मात्र गरेको छैन, तर विश्वका
विकसित, अविकसित, विकासोन्मुख देशहरू जहाँ-जहाँ ख्रीष्टियान समुदाय छन्, त्यहाँ-त्यहाँ प्रत्येक
हप्ताको एक दिन उहाँको सम्झनाको निम्ति पनि छुट्ट्याइन्छ । संसारभरि नै प्रत्येक वर्ष उहाँको जन्म र
पुनरुत्थानको उत्सव मनाइन्छ । उहाँको मृत्युको सम्झनामा विश्वव्यापी रूपमा गुड
फ्राइडे मनाइन्छ । इतिहासमा अन्य कुनै व्यक्तिको जीवनी वा घटनाले भन्दा उहाँको
जीवनीले गीत, पुस्तक, कविता र चित्रहरूको विषयवस्तुको लागि बढी
सामाग्रीहरू उपलब्ध गराएको छ । हाम्रो लागि जीवन अर्पण गर्नुहुने येशूको सम्झनामा
हजारौँ क्याम्पस, अस्पताल, अनाथालयसाथै अन्य संघ-संस्थाहरू स्थापित गरिएका छन् । यो प्रस्ट छ कि येशू
ख्रीष्टको व्यक्तित्वले मानव-जातिमाथि यस्तो
अद्भूत प्रभाव पारेको छ कि दुई हजार वर्षपछि पनि त्यो प्रभावमा कमी आएको छैन ।
हरेक दिन कैयौँ मानिसहरूले ख्रीष्टमा आमूल परिवर्तनको अनुभव गर्छन् । पैसा र
हातहतियारबिना नै येशूले करोडौँ मानिसलाई जित्नुभयो । विज्ञान र विद्याबिना नै
उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्रीहरू र विद्वान्हरूभन्दा बढी
उज्यालो छर्नुभयो । स्कुलको वाकपटुताबिना नै उहाँले जीवनबारे यस्ता वचनहरू
बोल्नुभयो जुन न त पहिले बोलिएका थिए, न त पछि । यति मात्र होइन कि अनगिन्ती आत्माको उद्धार एउटै व्यक्ति
ख्रीष्टद्वारा नै गरिएको छ । मोशा, बुद्ध, कन्फ्युसियस, लाओत्सु, सुकरात, अलेक्ज्यान्डर, सिसेरो, जुलियस कैसर,
मुहम्मद, नेपोलियन बोनापार्ट, कार्ल माक्ससाथै हिन्दू धर्मका गुरुहरू अनि अन्य सबै चर्चित
अगुवाहरूभन्दा येशू प्रभावमा महानतर हुनुहुन्छ ।