menu bar

Tuesday, July 9, 2019

येशू "संसारको प्रायश्चित्त बन्नुभयो"— महात्मा गान्धी

वर्तमान भारतमा ख्रिस्टाब्द १८६९ मा जन्मेका महात्मा गान्धी ब्रिटिस-शासित भारतमा भारतीय स्वाधीन अभियानका प्रमुख अगुवा थिए । आफ्नो नेतृत्वमा तिनले भारतलाई ब्रिटिस साम्राज्यबाट स्वतन्त्र गराउन पहल गरेका थिए । तिनले लागु गरेको हिंसारहित आन्दोलन शक्तिशाली साबित हुन पुग्यो ।

महात्मा गान्धी प्रभु येशू ख्रीष्ट र उहाँको शिक्षा खास गरी डाँडाको उपदेश (मत्ती ५-७) बाट निकै प्रभावित थिए । गान्धीले भने, "मैले बुझेअनुसार येशूको सन्देश डाँडाको उपदेशमा समावेश छ ।" तिनको बुझाइमा येशू महान् शिक्षक हुनुहुन्थ्यो । तिनले व्यक्त गरेका छन्, “येशू पूर्णतः निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो ।”

भारतमा हुँदा अमेरिकी ईश्वरशास्त्री ई. स्टान्ली जोन्स गान्धीका घनिष्ठ मित्र बने । तिनले गान्धी र नेहरू परिवारसित धेरै समय बिताए । गान्धीको हत्यापश्चात् जोन्सले गान्धीको जीवनी लेखे । यो पुस्तकले डा. मार्टिन लुथर किङ्गलाई हिंसारहित आन्दोलनको लागि प्रेरित गरेको थियो । भनिन्छ, भारतमा साम्यवाद फैलनबाट रोक्न जोन्सले ठुलै भूमिका खेलेका थिए ।

 कुनै समय ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने गम्भीर सोच बनाएका गान्धीको लागि ख्रीष्टियानहरूको गतिविधि तगारो बनेको थियो । गान्धीले संसारलाई दिएको एउटा सन्देश थियो- अरूको लागि दुःख भोग्नुपर्छ । तिनको लागि यो सन्देशको स्रोत येशू ख्रीष्ट हुनुहुन्थ्यो । "येशू हाम्रो शान्ति हुनुहुन्छ" लिखित ख्रीष्टको श्यामश्वेत तस्बिरलाई तिनले आफ्नो सानो झुपडीमा झुन्ड्याइराख्थे । क्रुसमा टाँगिनुभएका ख्रीष्टको एउटा तस्बिर छ जसमा ख्रीष्टले कपडाको एउटा मात्र टुक्रा बेर्नुहुन्छ । भारतका गाउँहरूमा लाखौँ गरिब मानिसहरूले यस्तै कपडाको टुक्रा बेर्थे । येशूको यो तस्बिरले गान्धीको हृदयलाई औधी प्रभाव पारेको थियो ।


Leave Your Comments Here.