भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए ।
त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रीष्टियानहरूसित
तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको एउटा पर्चा दिए ।
त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर
टुक्राटुक्रा पारी झ्यालबाट बाहिर फालिदियो ।
यो नै यस कथाको अन्त्यजस्तो देखियो । तर परमेश्वरको योजना अर्कै थियो । एक जना मान्छे
उत्सुकतापूर्वक त्यही दिन त्यो बाटो भएर सत्यताको खोजीमा भौतारिँदै थियो । बाटोमा
पडिरहेको कागजको टुक्रालाई उसले हातमा लियो अनि उसको आफ्नै भाषामा लेखिएका यी वचनहरू उसले पढयो, “जीवनको रोटी ।”
यसको अर्थ के थियो भनी उसलाई थाहा थिएन । तर उसले आफ्ना मित्रहरूसँग सोधपुछ गर्यो र एक जना साथीले
उसलाई भन्यो, “म तिमीलाई भन्न
सक्छु । यो ख्रीष्टियान किताबको वचन हो । तिमीले त्यसलाई पढ्नुहुँदैन नत्रभने तिमी
अशुद्ध हुनेछौ ।” केही क्षण विचार
गरिसकेपछि उसले भन्यो, “यो सुन्दर
वाक्यांश समावेश भएको त्यो पुस्तकलाई म पढ्न चाहन्छु ।” अनि उसले एउटा
नयाँ करार किन्यो । त्यो वाक्यांश कहाँ थियो भनी उसलाई देखाइयो । यी प्रभु येशूका
सुन्दर वचनहरू हुन्, “म जीवनको रोटी
हुँ ।” जब उसले त्यस सुसमाचारलाई
अध्ययन गर्न थाल्यो तब सत्यताको ज्योति उसको ह्दयभित्र प्रवेश गर्यो । उसले येशू
ख्रीष्टलाई स्वीकार गर्यो अनि ऊ सुसमाचारको प्रचारक बन्यो ।
सुसमाचारको त्यो टुक्रा उसको निम्ति वास्तवमै जीवनको रोटी बन्यो जसले उसको
गहनतम खाँचोलाई तृप्त पार्यो ।
(नोट: यो अंश लेखक कमल अधिकारीको प्रेरक
प्रसङ्गहरू नामक कृतिबाट साभार गरिएको हो ।)