मुक्तिदता प्रभु येशू बेथलेहेममा जन्मनुभएकोले यो ठाउँ सारा दुनियाँमा
मुक्तिदाताको जन्म स्थानको रूपमा प्रसिद्ध छ । बेथलेहेमको अर्थ हुन्छ, “रोटीको घर ।” यरूशलेमदेखि करिब १० किलोमिटर दक्षिण-पश्चिममा पर्ने यो सहरलाई पहिले एप्रात (उत्पत्ति ४८:७) वा
एप्राता (मीका ५:२) भनिन्थ्यो । बाइबल धर्मशास्त्रमा पहिलो पटक उत्पत्ति ३५:१६ मा
यसको उल्लेख भएको छ, “तिनीहरू फेरि
बेथेलबाट हिँडेर एप्रात पुग्न अझ केही बाँकी छँदै राहेललाई सुत्केरी बेथा लाग्यो,
र तिनलाई ज्यादै पीडा भयो ।”
इस्राएलका महानतम राजा दाऊद यही सहरमा जन्मेका थिए । अन्त्यमा बेथलेहेमलाई
दाऊदको सहर भनेर चिनियो । येशूको जन्मसम्म आइपुग्दा यो एउटा नगण्य गाउँमा परिणत
भइसकेको थियो ।
बेथलेहेममा नै मसीह जन्मनुहुने थियो भनी पुरानो करारका मीका अगमवक्ताले
भविष्यवाणी गरे, “तर ए बेथलेहेम
एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो
भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको शुरू पुरानो समयदेखि, अर्थात् प्राचीन समयदेखि नै छ” (मीका ५:२) । तिनले ख्रीष्टपूर्व आठौँ शताब्दीमा भविष्यवाणी
गरे अर्थात् ख्रीष्ट येशूको जन्मभन्दा करिब सात सय वर्षअगि ।
मीकाको भविष्यवाणीले मसीहलाई नै सङ्केत गरेको थियो भनी व्यवस्थाका पण्डितहरूले
स्पष्ट रूपमा बुझे (मत्ती २:३-६) । नयाँ करारका
पुस्तकहरू मत्ती, लूका र यूहन्नाले
बेथलेहेमलाई नै येशू ख्रीष्टको जन्मस्थानको रूपमा उल्लेख गर्छन् (मत्ती २:१-१२; लूका २:४-२० र यूहन्ना ७:४२)
। मत्ती २:१-६ अनुसार मसीहको
जन्म बेथलेहेममा हुनु भनेको मीकाको भविष्यवाणी पुरा हुनु हो । इतिहासकार लूका
अभिलिखित गर्छन्, “योसेफ पनि
गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, ... तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक
जन्माउने बेला आयो । तिनले आफ्नो जेठो छोरो जन्माइन् ...” (लूका २:४–७) ।
विकिपिडियाअनुसार वर्तमान समयमा बेथलेहेमको जनसङ्ख्या लगभग २५,००० रहेको छ । समुद्री सतहदेखि झण्डै २,५५० फिट उचाइमा रहेको यस सहरमा मूलत:
ख्रीष्टियानहरू र मुसलमानहरूको बसोबास रहेको छ । यही पर्यटकीय सहर बेथलेहेममा चर्च
अफ नेटिभिटी खडा छ जुन सम्भवतः अस्तित्वमा रहेको संसारकै सबैभन्दा पुरानो मण्डली
हो । करिब ख्रीष्टाब्द ३३० मा कन्स्टेन्टाइन महान्द्वारा निर्मित यही मण्डलीको
क्षेत्रमा नै संसारका मुक्तिदाता प्रभु येश ख्रीष्ट जन्मनुभएको थियो भन्ने
परम्परागत विश्वास रहिआएको छ ।