menu bar

Sunday, December 11, 2016

पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ (भाग १)



येशू अद्वितीय हुनुहुन्छ । यो शीर्षकलाई हामी १० ओटा उपशीर्षकमा विभाजन गरेर हेर्नेछौँ । यस ब्लगमा १० दिनसम्म हरेक दिन एउटा उपशीर्षक प्रकाशित गरिनेछ । यसको अर्थ हुन्छ कि यो आलेख १० दिनसम्म लम्बिनेछ । तपाईं १० दिनसम्म मसितै हुनुहुनेछ । आज हामी ती १० ओटा उपशीर्षकमध्ये पहिलोलाई हेर्न गइरहेका छौँ: पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ ।

सर्वप्रथम, अद्वितीय शब्दलाई जान्नु बुद्धिमानी हुन्छ । नेपाली बृहत् शब्दकोश (२०६७) अनुसार अद्वितीयको अर्थ हुन्छ: “(१) तुलना गर्न वा भिडाउन सुहाउने अर्को व्यक्ति नभएको; बेजोड; अतुलनीय । (२) उम्दा; उत्तम; श्रेष्ठ । (३) अभूतपूर्व ।उचाइको दृष्टिकोणबाट सगरमाथा संसारमै अद्वितीय छ भन्दा सगरमाथाजत्तिकै उच्च शिखर कुनै पनि छैन भन्ने अर्थ लाग्छ । येशू अद्वितीय हुनुहुन्छ भन्दा यसको अर्थ हुन्छ कि उहाँको जीवनमा यस्ता केही पक्षहरू छन् जसमा उहाँ सबै मानिसहरूभन्दा अतुलनीय हुनुहुन्छ ।

मानव चोला धारण गरी येशू ख्रीष्ट यस धरतीमा नआउनुभएको भए ख्रीष्टमस हुँदैनथ्यो । ख्रीष्टमस र येशू ख्रीष्ट अन्योन्याश्रित छन् । ख्रीष्टविनाको ख्रीष्टमस पानीविनाको माछाजस्तै हो । त्यसैले, आउनुहोस्, यो सालको ख्रीष्टमसको अवसरमा अरू सबै मानिसभन्दा उहाँ कुन-कुन क्षेत्रहरूमा श्रेष्ठतर हुनुहुन्छ भनी जानी उहाँप्रतिको श्रद्धाको मात्रालाई बढाऔँ । 

नयाँ करारका चारवटा सुसमाचार येशूको बारेमा लेखिएका सबैभन्दा भरपर्दा र प्रारम्भिक जीवनीहरू हुन् । यी दस्तावेजहरूबाट हामी सिक्छौँ कि ख्रीष्टको जीवनका अनगिन्ती पक्षहरू पूर्णतः अद्वितीय छन् । आज हामी एउटा पक्षलाई हेर्छौं 

१. पुरा भएका भविष्यवाणीहरूमा येशू अद्वितीय हुनुहुन्छ 
पुरा भएका भविष्यवाणीहरूको सत्यता ख्रीष्टियमतको एउटा अद्वितीय तत्त्व हो । आफ्नो गर्भधारणदेखि स्वर्गारोहणसम्म येशूले आश्चार्यले भरिपूर्ण र अलौकिक जीवन जिउनुभयो । ख्रीष्टको जन्मभन्दा शताब्दीऔँ अगि बाइबलको पुरानो करार अस्तित्वमा थियो भन्ने सत्यतामा कठोरभन्दा कठोर आलोचक पनि सहमत हुन्छ ।

संसारमा मसीहको प्रवेश कहिले (दानिएल ९:२६), कहाँ (मीका ५:२) र कसरी (यशैया ७:१४) हुने थियो भनी पुरानो करारमा भविष्यवाणी गरिएको थियो । स्त्रीबाट (उत्पत्ति ३:१५) आदमको छोरो शेतको वंश हुँदै (उत्पत्ति ४:२६) नोआको छोरो शेम (उत्पत्ति ९:२६-२७), र अब्राहाम (उत्पत्ति १२:३) को वंशबाट मसीहको जन्म हुने थियो भनी भविष्यवाणी गरियो । पुरानो करारका भविष्यवाणीहरूअनुसार उहाँ यहूदाको कुल (उत्पत्ति ४९:१०) र दाऊदका पुत्र (२ शमूएल ७:१२ उप्रान्त) को रूपमा आउनुहुने थियो । उहाँ हाम्रा पापको निम्ति मर्नुहुने थियो (यशैया ५३) र मृतकहरूबाट पुनरुत्थान हुनुहुने थियो (भजनसंग्रह १६:१०) भनी पुरानो करारमा भविष्यवाणी गरियो ।

मसीह जन्मनुभन्दा पहिले पुरानो करारमा उहाँको पहिलो आगमनबारे कतिवटा भविष्यवाणी गरिएको थियो ? एक जना लेखकको गणनाअनुसार १९१ ओटा । मसीहको बारेमा भएका प्रस्ट भविष्यवाणीहरू र सङ्केतहरूलाई जोड्ने हो भने पुरानो करारमा ३०० वटाभन्दा बेसी सन्दर्भ पाइन्छन् । येशूको पहिलो आगमनभन्दा सैयौँ वर्षअगि नै यी सबै भविष्यवाणीहरू गरिएका थिए र यी सबै अलौकिक भविष्यवाणीहरू येशू ख्रीष्टको जीवनमा एकपछि अर्को गर्दै पुरा भए । गौतम बुद्ध, मुहम्मद, कन्फ्युसियस, कार्लमाक्स वा अन्य धार्मिकसाथै दार्शनिक अगुवाहरूको जन्मभन्दा सैयौँ वर्षअगि तिनीहरूको बारेमा कुनै विशुद्ध भविष्यवाणी गरिएको जानकारी हामीसँग छैन । यस अर्थमा येशू अद्वितीय हुनुहुन्छ । पुनरुत्थानपश्चात् येशू आफैले भन्नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ” (लूका २४:४४) । मानव धरतीमा येशू मात्रै एक यस्तो अनुपम व्यक्तित्व हुनुहुन्छ जसको जीवन, मृत्यु र पुनरुत्थानको विषयमा उहाँको जन्मभन्दा सैयौँ वर्षअगि सयौँ भविष्यवाणी गरिए र समय आएपछि ती एक-एक गरेर अचुक रूपमा पुरा भए ।

क्रमश: ...      

Leave Your Comments Here.