आजभन्दा
२५ वर्षअगि अर्थात्
ख्रीष्टाब्द १९९० मा
पहिलो शताब्दीको एउटा
महत्त्वपूर्ण पुरातात्त्विक खोज पत्ता
लागेको छ ।
संसारको एउटा प्राचीनतम
सहर यरूशलेमको दक्षिणमा
पर्ने पिस फोरेस्ट
नामक जङ्गलमा एउटा
अस्थिबाकस फेला पारियो
जसलाई कैयाफा अस्थिबाकस
नाउँ दिइएको छ
। चुन–ढुङ्गाले
बनेको उक्त अस्थिबाकसमा
आरमेइक भाषामा प्रस्ट रूपमा
“कैयाफाका पुत्र योसेफ” भनेर
लेखिएको छ ।
बाइबलका विद्वान्हरूको भनाइअनुसार तिनी नै
नयाँ करारमा उल्लिखित
प्रधान पूजाहारी कैयाफा हुन्
।
उत्खननकर्ता
जिभी ग्रिनहटद्वारा पत्ता
लगाइएको उक्त बाकसलाई
हाल यरूशलेमस्थित इजराएल सङ्ग्राहलयमा राखिएको
छ । यसको
उचाइ ३७ सेन्टिमिटर
र लमाइ ७५
सेन्टिमिटर रहेको छ । अति नै
सजावट गरिएको यो
अस्थिबाकसभित्र झण्डै ६० वर्ष
उमेरको मान्छेका हड्डीहरू फेला
पारिएको छ ।
इस्राएलमा
संयोगवश: फेला पारिएका
थुप्रै पुरातात्त्विक खोजहरूमध्ये कैयाफा अस्थिबाकस
पनि एउटा हो
। मृतकको दफन
गरेको एक वर्षपश्चात्
देह सडेर नष्ट
भएपछि मृतकका आफन्तहरूले
मृतकका हड्डीहरू यस्तो अस्थिबाकसमा
जम्मा गरेर राख्ने
गर्थे ।
नयाँ
करारको विवरणअनुसार येशू ख्रीष्टको
क्रूसारोहणको समयमा संलग्न भएकाहरूमध्ये
कैयाफा एक महत्त्वपूर्ण
अधिकारी थिए ।
मत्ती, लूका र
यूहन्नाको सुसमाचारहरूमुताबिक तिनी औपचारिक
प्रधान पूजाहारी थिए जसले
येशूको गिरफ्तारी र जाँच
पडतालहरूमा भाग लिए
। तिनी प्रधान
पूजाहारी भएकाले शक्तिको हिसाबले
दोस्रो तहमा थिए
। पहिलो तहमा
बडा हाकिम हुन्थ्यो
। यहूदी प्रधान
पूजाहारीसित मृत्युदण्ड दिने अधिकार
नभएकोले कैयाफाले रोमी बडा
हाकिम पन्तियस पिलातससित
मिलेर येशूलाई मृत्युदण्डको
आज्ञा सुनाए भनी
बाइबलले बताउँछ । कैयाफाको
बारेमा बाइबलका यी खण्डहरूमा
पढ्न पाइन्छ (मत्ती
२६:३,५७;
लूका ३:२;
यूहन्ना ११:४९;
१८:१३–१४,२४,२८;
प्रेरित ४:६)
।
इतिहासअनुसार
ख्रीष्टाब्द १८ मा
कैयाफा प्रधान पूजाहारी पदमा
नियुक्त गरिएका थिए र
तिनी ख्रीष्टाब्द ३६
सम्म उक्त पदमा
रहे । येशू
ख्रीष्ट क्रूसमा टाँगिनुहुँदा तिनी
नै औपचारिक प्रधान
पूजाहारी थिए ।
नयाँ
करारको अध्ययनमा यो एउटा
उल्लेखनीय पुरातात्त्विक खोज हो
जसले नयाँ करारको
ऐतिहासिक विश्वसनीयतामा एउटा मजबुत
साक्षीलाई उदाङ्गो पारेको छ
।