सीएनएनद्वारा
प्रसारण हुने ल्यारी किङ्ग
लाइभ
नामक कार्यक्रम सीएनएनको
सबैभन्दा लामो समयसम्म
चलेको र सबैभन्दा
बेसी हेरिएको कार्यक्रम
हो । ख्रीष्टाब्द
१९८५–२०१० सम्म
चलेको यस कार्यक्रमलाई
हरेक रात १०
लाखभन्दा बढी दर्शकले
हेर्ने गर्थे । यस
कार्यक्रमका सञ्चालक ल्यारी किङ्गलाई
एक पटक सोधियो,
“सारा इतिहासबाट कुनै
एक जना व्यक्तिलाई
अन्र्तवार्ताको लागि तपाईंले
रोज्न पाउनुभयो भने
सबैभन्दा बढी तपाईं
कसको चाह गर्नुहुन्छ
?” तिनले उत्तर दिए, “येशू
ख्रीष्ट ।” प्रश्नकर्ताले
पुन: प्रश्न गर्यो,
“तपाईं कुनचाहिँ प्रश्न सोध्न
चाहनुहुन्छ ?” किङ्गले उत्तर दिए,
“उहाँ वास्तवमै कन्याबाट
जन्मनुभएको थियो वा
थिएन भनी सोध्न
चाहन्छु । मेरो
लागि यस प्रश्नको
उत्तरले इतिहासलाई परिभाषित गर्छ
।” निस्सन्देह इतिहासका
अत्यधिक महत्त्वपूर्ण र जटिल
प्रश्नहरूमध्ये येशूको कन्याबाटको जन्म
पनि एक हो
। उहाँबारे हाम्रो
दृष्टिकोणले हाम्रो जिउने शैलीमा
मात्र बदलाउ ल्याउँदैन
तर भावी गन्तव्यको
पनि निधो गर्छ
।
बाइबलिय
विवरणअनुसार पवित्र आत्माको अलौकिक
हस्तक्षेपद्वारा येशू कन्या
मरियमको गर्भमा आश्चर्यमय ढङ्गमा
गर्भधारण हुनुभयो र मरियम
कन्या छँदा नै
उनले येशूलाई जन्माइन्
।
अठारौँ
शताब्दीअगि केही गौण
पन्थहरूद्वारा बाहेक यस शिक्षालाई
गम्भीर रूपमा चुनौती दिइएको
थिएन । तरै पनि
हिजोआज केही विद्वान्हरूले
बाइबल धर्मशास्त्रको यस
स्पष्ट शिक्षालाई आदि मण्डलीले
विकास गरेको किँवदन्तीको
रूपमा हेर्न थालेका
छन् । तर
तिनीहरूको इन्कारको आधार पर्याप्त
ऐतिहासिक साक्षी नभई आश्चर्यकर्महरू
असम्भव छन् भन्ने
तिनीहरूको पूर्वाग्रहमा आश्रित छ । के एउटा
तार्किक दिमागले येशू वास्तवमै
कन्याबाट जन्मनुभयो भनी विश्वास
गर्न सक्छ ? यस
पङ्क्तिकारको दाबी छ
कि हामीले यसमाथि
विश्वास गर्दा हामी मध्यकालीन
धर्मान्ध हुँदैनौँ । येशू
कन्याबाट जन्मनुभयो भन्ने बाइबलको
दाबीलाई ऐतिहासिक आधारमा प्रस्ट
पार्न खोज्नु नै
यस आलेखको मुख्य
आशय हो ।
१. आदि
मण्डली
पिताहरूका
साक्षी
ख्रीष्टाब्द
११० मा एन्टिओखियाका
बिशप इग्नेसियसले लेखे,
“हाम्रा परमेश्वर येशू ... पवित्र
आत्माद्वारा ... मरियमको कोखमा गर्भधारण
हुनुभयो ।” स्मरण
रहोस्, इग्नेसियस येशूका चेला
प्रेरित यूहन्नाका विद्यार्थी थिए
। इग्नेसियसले यो
जानकारी आफ्ना गुरुबाट पाएका
थिए । अर्का
लेखक अरिस्तिदेसले ख्रीष्टाब्द
१२५ मा कन्याबाटको
जन्मको बारेमा यसरी लेखेका
छन्, “उहाँ आफै
सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ
जो पवित्र आत्माद्वारा
देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि
हिब्रू कन्याबाट जन्मेर देह
धारण गर्नुभयो ।
... शरीरअनुसार उहाँ हिब्रू
कन्या मरियमबाट जन्मनुभयो
।”
२. आदि
यहूदी
साक्षी
कन्याबाटको
जन्मको सम्बन्धमा नकारात्मक तर्कहरू
पनि छन् ।
यस्तो अवधारणा मूलत:
यहूदीहरूले रचेका हुन् ।
यस तर्कलाई कुनै
पनि हालतमा नकारात्मक
रूपमा नबुझ्न यस
सिकारु पाठक (खास गरी
ख्रीष्टियान पाठक) लाई विनम्र
अनुरोध गर्दछ । यो
तर्कलाई यहाँ उल्लेख
गर्नुको उद्देश्य यति मात्र
हो कि मण्डलीको
प्रारम्भिक दिनहरूमा नै येशूको
जन्मको प्रकृतिबारे बाहिरी विवादको
उदय भैसकेको थियो
र त्यस्तो विवादको
आरम्भ हुनुको कारण
मण्डलीले उहाँको आश्चर्यपूर्ण जन्मको
बारेमा सिकाउँदै आएको थियो
भनी बुझाउन खोज्नु
हो ।
पानथेरा
नाउँ गरेको सिपाहीसँग
मरियम व्यभिचारमा फसेकी
थिइन् र परिणाम
स्वरूप येशूको जन्म भएको
थियो भनी येशूको
जन्मलाई लौकिक आँखाले बुझ्ने
प्रयास गरेका थिए यहूदीहरूले
। येशूलाई तिनीहरूले
व्यभिचारमा जन्मेको छोरोको रूपमा
चित्रण गर्न थाले
। तर संसारमा
यस्तो असाधारण प्रभाव
पार्नुहुने व्यक्ति यसरी जन्मनुभएको
थियो भनी कल्पना
गर्नु तर्कसङ्गत हुन्छ
र ? कुनचाहिँ जन्म
उहाँको जीवनी, चरित्र, प्रभावसँग
मेल खान्छ— अवैध
वा अलौकिक ? ख्रीष्टाब्द
७० अगि नै
ख्रीष्टको जन्मबारे भएको तथाकथित
अवैध कथाले उहाँको
आश्चर्यपूर्ण जन्मलाई टेवा दिन्छ
। येशूको मृत्युदेखि
४० वर्ष पनि
बित्न नपाउँदै आदि
मण्डलीले उहाँको अलौकिक जन्मलाई
सिकाउँदै आएको थियो
भनी यस नकारात्मक
तर्कले प्रमाणित गर्छ ।
बिसौँ शताब्दीका विख्यात
बाइबल विद्वान् रेमोन्ड
ई. ब्राउनले बताएका
छन् कि पानथेराको
कथा येशूको जन्मको
विषयमा भएको काल्पनिक
व्याख्या हो जसमा
थोरै मात्र ऐतिहासिक
साक्षी छन् ।
३. कुरआनको
साक्षी
येशू
(अरबीमा ईसा) मरियमका
पुत्र हुनुहुन्थ्यो र
उहाँ कुनै पनि
मानवीय पिताको संलग्नताविना नै
जन्मनुभयो भनी मुस्लिमहरू
विश्वास गर्छन् । इस्लामी
धर्मशास्त्र कुरआनमा येशूलाई पटक–पटक मरियमका
पुत्र भनिएको छ
। साधारणतया छोरोको
नाउँ बुबासँग मात्र
जोडिन्थ्यो, आमासँग होइन ।
तर किन येशूलाई
मरियमका पुत्र भनियो त
? उत्तर प्रस्ट छ कि
उहाँको कुनै मानवीय
बुबा हुनुहुन्थेन ।
इस्लामिक टिप्पणीकार लेख्छन्, “इस्लाम
धर्ममा येशूलाई कन्या मरियमको
पुत्रको रूपमा हेरिन्छ जो
परमेश्वरको सृजनात्मक वचनद्वारा जन्मनुभयो
।”
४. परमेश्वरको
शक्तिको
साक्षी
येशूको
कन्याबाटको जन्मको विरुद्धमा प्राय:
अगाडि सारिएको तर्क
हो— यो जीवशास्त्रीय
दृष्टिकोणबाट असम्भव छ । त्यसबेला मानिसहरूको अज्ञानताको
कारणले मात्र यसलाई स्वीकार
गरिएको थियो भनी
यसका आलोचकहरू दाबी
गर्छन् । आश्चर्यकर्महरू
असम्भव छन् भन्ने
अवधारणा प्राय: प्रकृतिवादी दृष्टिकोणबाट
आउँछ । दृढ
प्रकृतिवादले अलौकिकताको कुनै पनि
सङ्केतलाई पूर्णत: खारेज गर्छ
। तिनीहरूको बुझाइमा
केवल शून्यता र
परमाणु अस्तित्वमा छन् ।
यदि प्रकृतिवादीहरू सही
छन् भने कन्याबाटको
जन्मलगायत कुनै पनि
आश्चर्यकर्म असम्भव हुन्छ ।
प्रकृतिवादको खण्डन गर्नु यस
आलेखको आशय नभएकोले
यहाँ यति मात्र
भन्नु पर्याप्त हुन्छ
कि वैयक्तिक सृष्टिकर्ता
परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्नाका
लागि अधिक वैज्ञानिक
साक्षीहरू छन् ।
सारा विश्वलाई शून्यताबाट
सृष्टि गर्न सक्नुहुने
परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ
भने उहाँको लागि
एउटा कन्याको कोखमा
येशूको गर्भधारण गराउनु मामुली
कुरो होइन र
? चिरपरिचत बाइबल रक्षाशास्त्री विलियम
लेन क्रेगले उचित
निष्कर्ष निकालेका छन्, “मेरो
आफ्नै विषयमा भन्नुपर्दा,
मलाई विश्वासमा आउनको
लागि कन्याबाटको जन्म
एउटा मुख्य अवरोध
भएको थियो ।
यस्तो कुरो म
विश्वास गर्न सक्दिनथेँ
। तर परमेश्वरले
सारा विश्वको सृष्टि
गर्नुभयो भन्ने तथ्यमाथि जब
मैले मनन गर्न
थालेँ तब एउटी
स्त्रीलाई गर्भवती बनाउन उहाँको
निम्ति कठिन कुरो
थिएन । जब
एउटा गैरख्रीष्टियानले परमेश्वर
को हुनुहुन्छ भनी
बुझ्दछ तब आश्चर्यकर्महरूको
समस्या उसको निम्ति
समस्या हुन छोड्दछ
।”
५. आधुनिक
विद्वान्हरूको
साक्षी
उपलब्ध
साक्षीको आधारमा मानव इतिहासमा
येशूको असाधारण प्रवेशबारे यस
विषयका अधिकारीहरूले के भन्छन्
भनी हेर्नु महत्त्वपूर्ण
हुन्छ । ईश्वरशास्त्री
मिलार्ड जे. एरिक्सन
लेख्छन्, “बाइबलको पुष्टिको बाबजुत
पनि यदि हामी
कन्याबाटको जन्मलाई स्वीकार गर्दैनौँ
भने बाइबलको अधिकारलाई
हामीले आँच आउन
दिएका हुन्छौँ ।
र, यसका अन्य
शिक्षाहरूलाई हामीले किन स्वीकार
गर्नुपर्छ भन्नाका लागि सैद्धान्तिक
रूपमा कुनै कारण
हुँदैन ।” ख्रीष्टको कन्याबाटको
जन्म
नामक पुस्तकमा जे
ग्रेसाम माचेनले लेखे, “किन
ख्रीष्टियान मण्डलीले मानवीय पिताविना
नै येशूको जन्मलाई
विश्वास गर्यो भन्नुको
कारण वास्तवमा उहाँ
त्यसरी नै जन्मनुभएको
थियो भन्ने स्वीकारको
लागि राम्रो आधार
छ ।”
यसरी
यी विभिन्न साक्षीहरूलाई
नियाल्दा हामी न्यायसङ्गत
रूपमा भन्न सक्छौँ
कि नयाँ करारका
लेखकहरूले कन्याबाटको जन्मको बारेमा
जुन विवरण प्रस्तुत
गरे त्यो विकसित
किँवदन्ती वा गैरख्रीष्टियान
समुदायबाट सापट लिइएको
कुनै कपोलकल्पित कथा
नभएर एउटा ऐतिहासिक
सत्यता थियो ।
येशूको मिसनको लागि मानव–जातिको इतिहासमा यस्तो
प्रवेश अपरिहार्य थियो ।
सृष्टिवादी वैज्ञानिक हेन्री मोरिसको
विवेकशील भनाइसँगै हामी यसलाई
निष्कर्षमा ल्याउछौँ, “कन्याबाटको जन्मलाई
बाइबलमा स्पष्टत: सिकाइएको कारणले
गर्दा मात्रै यो
साँचो भएको होइन
तर येशू ख्रीष्टको
चरित्रसाथै मिसन अनि
पतित संसारको निम्ति
उद्धारबारे भएको परमेश्वरको
महान् योजनासित यो
तादात्म्य भएकोले पनि यो साँचो
भएको हो ।”